विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समयमा संशोधन, यस्तो छ नयाँ व्यवस्था


नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्धारा संचालित विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसीएचएल इसीसी) र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन भएको छ ।

जेठबाट शनिबार र आइतबारको सार्वजनिक बिदालाई समेत मध्यनजर गर्दै एनसीएचएलले सो प्रणाली शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने जनाएको छ । संशोधित तथा थप नयाँ सत्रहरुको व्यवस्था जेठ ३ गतेदेखि लागु हुने कम्पनीले जनाएको छ । एनसीएचएल- इसीसी प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ बजेसम्म र एक्सप्रेस सत्रमा दिउँसो ४ बजेसम्म पेश हुन आएमा चेकहरु सोही दिन नै राफसाफ गर्ने बताइएको छ । अन्तिम सेटलमेन्ट ५:१५ पछि हुने व्यवस्था गरिएको एनसीएचएलले जनाएको छ ।

हरेक २–२ घण्टा भित्र चेकको राफसाफ गर्न मिल्ने एक्सप्रेस क्लियरिङ दिउँसो ४ बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ वटा एक्सप्रेस क्लियरिङ सत्र संचालन हुने बताइएको छ । त्यस्तै २०—३० करोड रुपैयाँसम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङको सत्र पनि थप गरी दिउँसो ३ बजेसम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको एनसीएचएलले जनाएको छ । त्यसैगरी एनसीएचएल आइपीएस प्रणालीमा साँझको ५ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिन (टी+०) मा राफसाफ हुने एनसीएचएलले जनाएको छ ।

साथै बिहान ९ बजेदेखि ५ बजेसम्म प्राप्त भुक्तानी आदेशहरु हरेक २—२ घण्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु पनि थप गरिएको बताइएको छ । हरेक कार्यदिनको ५:३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी फण्डिङ्ग सम्बन्धी भुक्तानी आदेशहरु समेत सोही दिनमा फर्छ्यौट हुने एनसीएचएलले जनाएको छ । तोकिएको समयसीमा पछि प्रणालीमा पेश हुन आएका कारोबारहरु अर्को कार्य दिनमा राफसाफ हुने व्यवस्था यथावत् रहने बताइएको छ ।

जाडो महिनामा (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) आरटीजीएसको समय सीमासँग मिल्ने गरी एनसीएचएल आइपीएस समय सीमा एक घण्टा कम हुने एनसीएचएलले जनाएको छ ।

त्यसैगरी रिटेल पेमेन्ट स्वीच (आरपीएस/कनेक्ट आइपीएस) मार्फत हुने रियल टाइम भुक्तानीलाई थप टेवा पुर्‍याउन बैंकहरुबीच हुने सेटलमेन्टलाई हरेक एक घण्टामा साँझको ६ बजेसम्म (दिनमा १० पटकसम्म) गर्ने व्यवस्था गरिएको बताइएको छ। ग्राहकको खातामा भने उक्त कारोबार रियल टाईममा नै हुने व्यवस्था यथावत रहेको एनसीएचएलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।