उद्योगी व्यवसायीहरुले कहाँबाट गरे मतदान ?


स्थानीय तहको निर्वाचनमा उद्योगी व्यवसायीहरुले पनि सक्रिय रुपमा मतदान गरेका छन् । मतदानमा सहभागि हुनका लागि उद्योग कलकारखानामा विदा दिएका उद्योगी व्यवसायीहरुले सबै नागरिकलाई मतदान प्रकृयामा सहभागि हुन आग्रह गर्दै आएका थिए ।

यस क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौँको सितापाइला स्कुलबाट मतदान गरेका छन् । मतदानपछि ट्वीटरमा गोल्छाले लेखेका छन्, “मलाई मेरो संविधानले दिएको सबैभन्दा ठूलो शक्ति ।”


महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले काठमाडौँको थापाथलीको गुहेश्वरी माविबाट मतदान गरेका छन् । उनले मतदान पछि सामाजिक सञ्जालमा “भोट हालियो, आशा गरौँ हाम्रो एक एक भोटले काठमाडौँको मुहार फेरिने छ,” भन्ने अभिव्यक्ति दिएका छन् ।

उद्योगी तथा नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यसैगरि हाउस अफ राज खेतानका अध्यक्ष राजेन्द्र खेतानले ललितपुरको सानेपास्थित टीका विद्यालयबाट मतदान गरेका छन् । खेतानले पनि संवैधानिक अधिकारको भरपुर सदुपयोग गर्न आम मतदातालाई आग्रह गर्दै आएका थिए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले काठमाडौँ महानगरपालिका–१ नारायणी हिटी दरबार मतदान केन्द्रबाट मतदान गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “मैले भोट गरेँ, के तपाईंले गर्नुभयो ? यदि छैन भने कृपया आफ्नो मतदान केन्द्रमा जानुहोस् र गरिहालनुस् ।”
आइएमई समूहका प्रबन्धनिर्देशक हेमराज ढकालले काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

निर्वाचनमा सक्रिय सहभागिता जनाउनका लागि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योग प्रतिष्ठानमा बिदा नै दिएको थियो । यस्तै, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले पनि सक्रिय सहभागिता जनाउन आग्रह गरेको थियो ।

संविधान घोषणापछि दोस्रो पटक हुनलागेको निर्वाचनमा सक्रिय सहभागिता जनाउनु र सहभागीता जनाउनु सबै नागरिकको कर्तव्य रहेको भन्दै व्यावसायीक संघसंस्थाले सार्वजनिकरुपमा नै आह्वान गरेका थिए ।

प्रधानमन्त्रीदेखि उम्मेदवारसम्मका चर्चित अनुहार, शीर्ष नेताहरुले कहाँ कहाँबाट गरे मतदान ? फोटो फिचर

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।