काठमाण्डौं, धनगढी, जनकपुरमा स्वतन्त्र उम्मेदवार मुख्य दलका लागि भारी, अन्य स्थानमा कसको अग्रता कति ?


स्थानीय तह निर्वाचन २०७९ को मतगणनामा स्वतन्त्र उम्मेदवारहरु प्रमुख राजनितिक दलका लागि भारी परिरहेको प्रारम्भिक मतगणनाले देखाएको छ । काठमाण्डौं, धनगढी, जनकपुर लगायत स्थानमा स्वतन्त्र उम्मेदवारहरुले फराकिलो मतान्तरमा अग्रता कायम गरेसँगै प्रमुख राजनीतिक दलहरुको अस्तित्वमा प्रश्न चिन्ह उठेको हो ।

जेठ १ गते आइतबार बिहानको अपडेट अनुसार काठमाण्डौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) आफ्नो अग्रतामा मतान्तर बढाउँदै लगेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदमा ४ हजार ६४६ मत गणना हुँदा बालेनले ९०७ मतको अग्रता सहित २ हजार ७१ मत ल्याएका छन् । बालेनको पछि रहेका नेकपा एमालेका केशव स्थापितले १ हजार १६४ मत ल्याएका छन् । नेपाली काँग्रेसकी सिर्जना सिंहले ९४९ मतसहित तेस्रो स्थानमा छिन् ।

उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५३ मत ल्याएर प्रतिद्वन्द्वीसँग फराकिलो अन्तरको मतान्तर कायम गरेकी छिन् ।नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का रामेश्‍वर श्रेष्ठले ५३९ मत ल्याएका छन् ।

उता धनगढी उपमहानगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५० भन्दा बढी मतसहित आफ्नो अग्रता कायम राखेका छन् । २ हजार ९५३ मत गणना हुँदा हमालले १ हजार ३८६ मत पाएका छन् भने नेपाली कांग्रेसका नृपबहादुर वडले ८०७ मत मात्र पाएका छन् । नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १४३ मत पाएका छन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत प्राप्त गर्दा एमालेकी कन्दकला रानाले ३८४ मत ल्याएकी छिन् । अर्का स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४८१ मत पाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा पनि मेयरका स्वतन्त्र उम्मेदवार मनोकुमार साह सुडीले ४९० मतसहित अग्रता लिँदै गर्दा नेकपा एमालेका शिव शंकर शाहले १६४ मत मात्र ल्याएका छन् । तेस्रो स्थानमा पनि स्वतन्त्र बलराम महतोले १०७ मत ल्याएका छन् ।

धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई पछ्याएका छन् । तीन हजार ५०० मत गणना हुँदा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई १ हजार ३४० मतसहित अग्रस्थानमा छने् भने स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका छन् । नेकपा (एमाले) की मञ्जु भण्डारीले ७०६ मत मात्र प्राप्त गरेकी छिन् ।

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखकी उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता कायम गरेकी हुन् । २ हजार ९६८ मत गणना हुँदा दाहालले ९८ मतको अग्रता सहित १ हजार १०५ मत प्राप्त गरेकी छिन् । नेकपा (एमाले) का विजय सुवेदीले १ हजार ७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांगे्रसका चिरीबाबु महर्जनले ७०६ मत सहित अग्रता कायम गर्दा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाएका छन् ।

पोखरा महानगरपालिकामा १६०० मत गणना हुँदा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत सहित अग्रता कायम गरेका छन् । एमालेका कृष्ण थापाले ५८३ मत ल्याउँदा राप्रपाका शंकरप्रसाद खरालले ९८ र स्वतन्त्र उम्मेदवार गण्श पौडेलले ३६ मत पाएका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । नेकपा (एमाले) का विजयकुमार सरावगीले ६५९ मत प्राप्त भएको छ ।

मोरङको बिराटनगर महानगरपालिको मेयरमा नेपाली काँग्रेसका नागेश हजार ५९३ मतसहित अग्रस्थानमा छन् । कोइरालाले २ हजार ५८३ मत ल्याउँदा निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सागर कुमार थापाले १ हजार ९९० मत ल्याएका छन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले ४१० मतसहित अग्रता कायम गरेका छन् । नेकपा (एमाले) का पशुपति दयाल मिश्रले २३८ र राप्रपाका नन्दलाल वैश्यले २१२ मत पाएका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले २ हजार २१४ मत सहित अग्रता कायम गरेका छन् । नेकपा एमालेका बाबुराम भट्टराईले १ हजार ३१२ मत पाउँदा तेस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचनले ६१३ मत पाएका छन् ।

बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) को अग्रता कायमै छ । एक हजार मत गणना गर्दा सो दलका उम्मेदवार नरेन्द्र न्यौपानेले ४४२ मत पाएका छन् भने एमालेका खिलप्रसाद भुसालले २७३ र कांग्रेसका पूर्ण आचार्यले २३० मत प्राप्त गरेका छन् ।

यस दौरान काभ्रेको नमोबुद्ध नगरपालिकाको १ नम्बर वडाका वडाध्यक्षमा नेपाली काँग्रेसका बाघी उम्मेदवार प्रोम लामाले जित हासिल गरेका छन् । लामाले ५५६ मत ल्याएर जित हासिल गर्दा प्रतिद्धन्दी नेकपा एमालेका निरोज पाण्डेले ४४७ र नेपाली काँग्रेसका गणबज्र लामाले २०८ मत मात्र प्राप्त गरेका छन् ।

उदयपुरका जिल्लाका दुई वडामा पनि स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । लिम्चुङबुङ गाउँपालिका ३ र उदयपुरगढी गाउँपालिका २ मा स्वतन्त्र उमेदवार विजयी भएका हुन् । लिम्चुङ्गबुङ्गमा जेब्रा चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका गुरुमण्ीा कुमाईले नेपाली कांग्रेसका कुलबहादुर खत्रीलाई ५२ मतान्तरले पराजित गरेका छन् । कुमाईले ३१५ र खत्रीले २६३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उदयपुरगढी गाउँपालिकाको वडा नम्बर २ मा धारा चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका इन्द्रबहादुर राउतले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार दिपक तामाङलाई १२२ मतान्तरले पराजित गरेका छन् । राउतले ३८७ र तामाङले २६५ मत प्राप्त गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।