नबिलमा एनबी बैंक गाभ्ने विषयमा सर्वोच्चले बोलाएको छलफल बुधबार हुने


नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिने प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै मंगलबारका लागि बोलाएको छलफल स्थगित भएको छ । सर्वोच्चले मंगलबारका लागि दुबै पक्षलाई छलफलमा बोलाएको भएपनि म्याद तामेलिका कारण बुधबारलाई सारेको हो ।

सर्वोच्चले यसभन्दा अघिको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णयका लागि रिटका पक्ष विपक्षलाई छलफलका लागि बोलाएको थियो । तर, म्याद तामेलिका कारण मंगलबार छलफल नभएको सर्वोच्चका प्रबक्ता बिमल पौडेलले जानकारी दिए ।

“मंगलबार हुने भनेको छलफल भएन,” उनले भने, “नबिल बैंक र एनबी बैंकको रिट सम्बन्धीको छलफल बुधबार हुने देखिन्छ ।”

सर्वोच्चले बैंशाख २५ गते गाभ्ने तथा गाभिने प्रक्रिया तत्कालका लागि रोक्नु भन्दै रिट निवेदकका पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । त्यसका साथै जेठ ३ गते मंगलबारका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

नेपाल बंगलादेश बैंकमा रहेको वंगलादेशी बैंक आइएफआइसीको सेयर व्यवसायी विनोद चौधरीले खरिद गर्ने प्रारम्भिक सम्झौता भएदेखि मुद्दा मामिला सुरु भएको हो । अहिले आएर गाभ्ने÷गाभिने प्रक्रियामा पनि मुद्दा मामिलाको झन्झट सुरु भएको छ ।

बंगलादेश बैंकमा रहेको आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर हिस्सा चौधरी समहुलाई बिक्री गर्ने अनौपचारिक सहमती जुटेपछि गत पुस २९ गते प्रति कित्ता ४३ रुपैयाँमा खरिद गर्ने सम्बन्धमा औपचारिक सम्झौता भएको थियो । सो सम्झौता हुँदै गर्दा पनि सनराइज बैंकका अध्यक्ष समेत रहेका मोतिलाल दुगड लगायतका व्यवसायीले आइएफआइसीको सेयर खरिद गर्ने सहमती पहिले नै आफुहरुसँग भएको अवस्थामा चौधरी समुहसँग फेरी सम्झौता गरेर आफुहरुलाई शेयर नदिइएको भन्दै काठमार्डो जिल्ला अदालत गएका थिए । यसमा पनि काठमाडौं जिल्ला अदालतले दुगडसंग गरेको सहमती तोडेर चौधरी समुहलाई बिक्री गर्नु पर्ने कारण सोध्दै अन्तरिम आदेश जारी गरेको थियो ।

बैशाख १९ गते पुनः सर्वोच्च पुगेको सोही समुह अन्तर्गतको दिवेश्वरी ईन्भेष्टमेण्टले नेपाल स्टक एक्स्चेन्ज लि., नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लि., नेपाल राष्ट्र बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि.का संचालक समिति, नेपाल बंगलादेश बैंक लि., नेपाल बंगलादेश बैंक लि.का संचालक समितिलाई विपक्षी बनाए रिट दयार ग¥यो ।

त्यसपछि बैंशाख २२ गते नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनीले समेत नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि., सिडिएस एण्ड क्लियरिङ लि., नेपाल राष्ट्र बैंक, नेपाल बंगलादेश बैंक लि., नेपाल बंगलादेश बैंक लि. का संचालक समिति, नबिल बैंक लि., नविल बैंक लि.का संचालक समितिलाई विपक्षी बनाएर दर्ता गरेको मुद्दामा बैंशाख २५ गतेको सुनुवाइमा न्यायाधीस बम कुमार श्रेष्ठको एकल इजलासले कारण देखाउ, अल्पकालिन अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई मंगलबार छलफलमा बोलाएको थियो ।

मंगलबार रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको भए पनि छलफल हुन नसकेको हो । योसँगै एनबी बैंक नबिल बैंकमा गाभिने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको भए पनि सर्वोच्च अदालतको इन्ट्रीसँगै गाभिने प्रक्रिया अघि नबढाउन भनि दिएको आदेशले अब के हुन्छ भन्ने प्रश्न उब्जाएको छ ।

बुधबार हुने छलफले अन्तरिक आदेशलाई निरन्तरता दिएको खण्डमा गाभ्ने गाभिने प्रक्रिया नै रोकिने छ । तर अन्तरिम आदेशलाई निरन्तरता नदिएको खण्डमा पुन प्रक्रिया अघि बढाउने बाटो खुल्नेछ । दुबै संस्था नबिल बैंक र एनबी बैंकले जेठ ७ गते विलय प्रकृयालाई पारित गर्नका लागि विशेष साधारणसभा बोलाएका छन् ।

नबिल बैंकमा गाभ्ने क्रममा बंगलादेश बैंकका कर्मचारीलाई नबिलमा समायोजन गर्ने सन्दर्भमा समान ब्यबहार नभएको भन्दै कर्मचारीहरुले आन्दोलन गरेका थिए । उक्त आन्दोलनले पनि कर्मचारीको माग भने सम्बोधन गरेको थिएन । कर्मचारीको माग सम्बोधन नगरी कर्मचारीलाई दवाव दिएर समायोजन गर्न खोजिएको अवस्थामा गाभ्ने प्रक्रिया तत्कालका लागि रोक्न भन्दै अदालतले अल्पकालीन आदेश दिएसँगै एनबी बैंकका कर्मचारीको मनोबल पनि बलियो बनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।