एनबी बैंकलाई गाभेपछि नबिल बैंकको प्रमुख कार्यकारीमा ज्ञानेन्द्र ढुङ्गाना

0
Shares

नेपाल बंगलादेश (एनबी) बैंकलाई नबिल बैंकमा गाभेपछिको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङगाना हुने भएका छन् । शनिबार भएको नबिल बैंकको विशेष साधारण सभाले ढुङगानालाई प्रमुख कार्यकारीको जिम्मेवारी दिने सम्झौता स्वीकृत गरेपछि निश्चित भएको हो ।

नबिल बैंक र एनबी बैंकले शनिबार गाभ्ने/गाभिने प्रस्ताव पारित गर्नका लागि विषेश साधारण सभा गरेका थिए । सो सभाले दुबै संथालाई गाभ्ने/गाभिने स्वीकृत पनि दिइसकेको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल आगामी असार ७ गतेदेखि सकिँदैछ । उनी नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा २०७५ असार ७ गते नियुक्त भएका थिए ।

बैंकिङ क्षेत्रमा ३ दशक बिताइसकेका ढुङ्गानाले १० वर्ष एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । गत पुस अन्तिम देखि एनबी बैंकबाट अवकाश भएका ढुङ्गानाको कुलिङ पिरियड सकिएपछि कार्यभार सम्हाल्ने छन् ।

नेपाल राष्ट्र बैंकको निर्देशकबाट निजी क्षेत्रको बैंकिङ करिअर सुरु गरेका ढुङ्गानाले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरिसकेका छन् ।

दुबै बैंकको विशेष साधारणसभाले ढुङ्गानालाई प्रमूख कार्यकारी बनाउने निर्णय नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाइसकेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि ढुङ्गानाले आगामी असार १७ गते देखि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिनेछन् ।

नबिल बैंक र एनबी बैंक गाभ्ने/गाभिने सन्दर्भमा राष्ट्र बैंकले अन्तिम स्वीकृति दिन भने बाँकी रहेको छ । त्यसका लागि दुबै बैंकले विशेष साधारणसभा गरेर राष्ट्र बैंकमा निवेदन पनि दिइसकेको अवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।