महालक्ष्मी लाइफ इन्स्योरेन्सले कसरी पुर्‍याउँदैछ ५ अर्ब चुक्ता पूँजी ?


महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिले तोके अनुसार ५ अर्ब चुक्ता पूँजी कायम गर्नका लागि संस्थापकबाट थप पूँजी जुटाउने, बोनस र मर्जरलाई प्राथमिकतामा राखेको छ ।

इन्स्योरेन्सले बीमा समितिमा पेस गरी स्वीकृत भएको पूँजी योजना अनुसार पहिलो चरणमा संस्थापकहरुबाट थप ७० करोड रुपैंया पूँजी थप गर्ने प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए ।

कम्पनीले साधारण शेयर निष्काशन नगरेको हुनाले संस्थापक सेयरधनीहरुले मात्र पूँजी थप गर्नुपर्ने हुन्छ ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । संस्थापकहरुबाट ७० करोड पूँजी विस्तार पछि चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

सो पश्चात कम्पनीले सर्वसाधारणमा ९० करोड रुपैंयाको साधारण शेयर बिक्री गरेर चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुर्‍याउनेछ ।

सो पश्चात हाल २ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कुनै बीमा कम्पनीको १० प्रतिशत बोनस सहित एक बराबर एकको अनुपातमा मर्जर गरी २ अर्ब २० करोड रुपैयाँ पूँजी विस्तार गरी ५ अर्ब २० करोड रुपैयाँ पुर्‍याउने योजना बीमा समितिबाट स्वीकृत भएको प्रमुख कार्यकारी अधिकृत भट्टराईले जानकारी दिए ।

उनका अनुसार उल्लेखित प्रकृयाबाट पूँजी विस्तार गर्ने क्रममा संस्थापकहरुबाट ७० करोड रुपैंया जुटाउनका लागि विशेष साधारण सभा सम्पन्न गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट पूँजी वृद्धिको अभिलेख कायम गरि सकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।