नीति तथा कार्यक्रमले समस्याको सम्बोधन नगर्ने केपी ओलीको आरोप


प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।

यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि सुरु भएको छलफलमा भाग लिँदै ओलीले यसले मुलुकको कुनै पनि समस्याको सम्बोधन गर्न नसकेको बताएका हुन् ।

आफ्नो सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रसन्नता प्रकट गरेका ओलीले आफूले स्थापित गरेको सुखी नेपाली र समृद्ध नेपालको नारा हटाइएकामा भने आपत्ति प्रकट गरेका थिए ।

आफूहरु सामाजिक सद्भाव, न्याय, समानताको पक्षमा रहेको भन्दै उनले राष्ट्रिय हितमा अगाडि बढ्न आग्रह गरे । उनले नेपाल र भारतका सरकारका प्रतिनिधि सम्मिलित प्रबुद्ध व्यक्तिको समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन नेपाल सरकारले बुझ्न र संसद्लाई जानकारी गराउन आग्रह गरे ।

संवादहिनतामा राखेर आफूहरुलाई सरकारले पेलेको, राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षीसँग संवाद नगरिएकामा समेत ओलीले सरकारको ध्यानाकर्षण गराएका थिए । सरकारको नीति तथा कार्यक्रम स्वादविहीन भएको टिप्पणी गर्दै ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको, राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको आरोप लगाए ।

परराष्ट्र नीतिलाई आवेगपूर्ण र सत्तास्वार्थमा सङ्कुचित बनाइएको आक्षेप लगाउँदै ओलीले यो नीति तथा कार्यक्रमले अघिल्ला सरकारले अगाडि सारेका सकारात्मक कामलाई समावेश नगरेको र राष्ट्रिय आवश्यकतालाई ख्याल नगरेको बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।