सम्पर्कविहीन वायुयानको खोजी कार्य भइरहेको छ : तारा एयर


तारा एयरले सम्पर्कविहीन वायुयानको खोजी कार्य भइरहेको जनाएको छ ।

तारा एयरले विज्ञप्ति जारी गरी आज बिहान ९५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्विनअटर वायुयान सम्पर्कविहीन भएको भन्दै उक्त वायुयानको खोजी कार्य भइरहेको जनाएको हो ।

सम्पर्कविहीन भएको विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् सम्पर्कविहीन भएकाले खोजी कार्य भइरहेको जनाएको छ ।

सम्पर्कविहीन वायुयान खोज्न जोमसोमबाट हेलिकप्टर पठाइए पनि प्रतिकूल मौषमका कारण उक्त हेलिकप्टर पुनः जोमसोम फर्किएको विज्ञप्तिमा उल्लेख छ । उक्त वायुयान खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको र मौषम सुधार हुनासाथ खोजी कार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली स्थलमार्गमार्फत सम्भावित घटनास्थलसम्म गइरहेको बताइएको छ । उक्त वायुयानमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना सवार रहेको सो एयरलाइन्सले जनाएको छ ।

हराइरहेको विमानको खोज उद्धार जारी छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोज तथा उद्धार कार्य युद्धस्तरमा भइरहेको जानकारी गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको रुलिङपछि उनले तारा एयरको पोखराबाट जोमसोमका लागि आज बिहान ९ः५५ बजे उडेको ट्विनअटर विमान १०ः११ मिनेटपछि सम्पर्क बाहिर गएको जानकारी गराए ।

यात्रु र चालक दल गरी २२ जना रहेको विमान हराइरहेको सम्भावित क्षेत्रमा खोजबिन कार्यलाई तीव्रता दिए पनि मौसम प्रतिकूलका कारण कठिनाइ देखिएको बताउँदै मन्त्री आलेले उद्धारका लागि पोखरा र जोमसोममा तीन हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताए ।

हराइरहेको सम्भावित स्थानमा नेपाली सेनाको सहयोगमा समेत खोनबिन कार्य केन्द्रित रहेको जानकारी गराउँदै उनले मौसम खराबीका कारण अहिले हेलिकोप्टर त्यसतर्फ जान नसकेको र भोलि बिहानदेखि खोजतलास पुनः अघि बढ्ने बताए ।

बैठकको प्रारम्भमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद प्रेमप्रसाद तुलाचनले आसनबाट उठेर बोल्न समय माग गर्दै हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोज तथा उद्धार कार्यका बारेमा सरकारको जवाफ माग गरेका थिए । उनले तुरुन्तै खोज उद्धार गर्न र घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि जाँचबुझ आयोग गठन गर्नसमेत माग गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।