बजेटले जगाउन सकेन लगानीकर्तामा आश, बजार २२ सय विन्दुबाट ओर्लियो


आइतबार सरकारले बजेट ल्याउने भन्दै प्रतिक्षमा बसेका लगानीकर्ताहरु सोमबार आशावादी हुन सकेनन् । बजेटमा पूँजी बजारका सम्बन्धमा खासै सम्बोधन नगरे पछि लगानीकर्ताले धमाधम घट्दो मूल्यमा शेयर बिक्री गरेका हुन् ।

सोमबार बिहान प्रि ओपन सेसनमा सकरात्मक बनेको बजार नियमित कारोबार सुरु भएको ९ मिनेटसम्म केही उकालो लागेर २२३३ अंकसम्म उक्लिएको थियो । त्यस पछि क्रमिक रुपमा ओरालो लागेको बजार बन्द हुँदा २१७३.४४ अंकमा अडिएको छ । यस दौरान ५०.३३ अर्थात २.२६ प्रतिशतले घटेको बजारमा ५ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ ।

आइतबार अर्थमन्त्री जनर्दन शर्माले बजेटमार्फत बजारका केही विषयलाई प्रत्यक्ष सम्बोधन गर्ने अपेक्षा लगानीकर्ताले गरे पनि गैरआवासीय नेपालीलाई बजार प्रवेश गराउने, लगानीकर्ताको हक हीत संरक्षण गर्ने, दोस्रो बजारको संरचनालाई थप प्रतिष्पर्धी बनाउने, ठुला कम्पनीहरुलाई बजार प्रवेश गराउने, वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण निष्काशनमा १० प्रतिशत आरक्षण जस्ता विषयलाई बजेटमा सम्बोधन गरिएको थियो ।

बजेटमा पूँजीगत लाभकर घटाउने, राष्ट्र बैंकको चार १२ को व्यवस्था हटाउने, तरलता सामान्य अवस्थामा रहेको जानकारी समेटिने लगायतका अपेक्षा लगानीकर्ताले गरेका थिए । अपेक्षा अनुसारका विषय बजेटमा नअटाइएपछि सोमबार २२७ कम्पनीका शेयर कारोबारमा आउँदा २ वटाको स्थिर रहन पुग्यो भने ५ को बढ्दा बाँकी कम्पनीको शेयर मूल्यमा गिरावट आयो ।
उल्लेखित कम्पनीका ३४ लाख ५६ हजार ५२९ कित्ता शेयरहरु २६ हजार ९४९ पटक किनबेच हुँदा १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैंयामा किनबेच भएका छन् । कारोबार रकम पनि अर्बभन्दा तल झरिसकेको अवस्थामा १ अर्ब ३३ करोड रुपैंयाको शेयर कारोबार भएसँगै लगानीकर्ताहरुले शेयर बिक्रीमा जोड दिएको देखिएको हो ।

साधारण शेयर निष्काशन गरेर भर्खरै कारोबारमा आएका बलेफी हाइड्रो, उपकार लघुवित्तको शेयर मूल्य साढे ८ प्रतिशतदेखि १० प्रतिशतसम्म बढेको छ । गणपति लघुवित्तसँगै केही सामुहिक लगानी कोषका इकाईहरुको मूल्य उकालो लागेको बजारमा सोमबारदेखि कारोबार सुचारु भएको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य १० प्रतिशतले घटेको छ । ज्योती लाइफ इन्स्योरेन्स, लाफ इन्स्योरेन्स कर्पोरेशन, मल्टीपर्पस फाइनान्स, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर लगायत कम्पनीको शेयर मूल्यमा धेरै गिरावट आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।