बीमा कम्पनीहरुको मूल्याङ्कन दाबी भुक्तानीको अवस्था हेरेर हुने, थोरै अंक पाउनेलाई कम सुविधा

0
Shares

बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवं निर्देशक दिनेश कुमार लालले बीमा दाबी भुक्तानीको अवस्थालाई समेत हेरेर बीमा कम्पनीहरूको मूल्याङ्कन गर्ने बताएका छन् ।

जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग आज ललितपुरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले मूल्याङ्कनमा न्यून अङ्क प्राप्त गर्ने कम्पनीहरूले समितिबाट पाउने सुविधाहरूमा समस्या पर्ने अवगत गराए । निर्देशक लालले भने “कम्पनीले बीमा शुल्क लिएर बीमालेख बिक्री गरेपछि बिना झन्झट ढिलाई नगरिकन दाबी भुक्तानी दिनैपर्छ । बीमाको विश्वसनीयता तब बढ्छ, जब बीमा दाबी भुक्तानी समयमै हुन्छ ।”

निर्देशक लालले समितिले बीमा दाबी भुक्तानीमा देखिएका समस्याहरूका सम्बन्धमा कम्पनीहरूसँग निरन्तर रूपमा छलफल गरी दाबी भुक्तानीमा जोड दिए पनि सोचे जस्तो परिणाम दिन नसकेको स्वीकार गरे ।

कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनीहरूका दाबी विभागमा कार्यरत कर्मचारीहरूले आफ्नो काम गर्ने शैलीलाई परिस्कृत गरी दाबी भुक्तानीको प्रक्रियालाई छिटो छरितो रूपमा अगाडि बढाउनुपर्ने र भुक्तानीका लागि पहल पनि गर्नुपर्ने बताए ।

कार्यक्रममा बीमा समितिका उपनिर्देशक (कानून) विरोध भट्टले जीवन बीमा कम्पनीहरूको दाबीसँग सम्बन्धित समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्दै बीमितले बीमा दाबी सम्बन्धी लगायत जुनसुकै किसिमका उजूरीहरू इमेल, फोन वा पत्र मार्फत मौखिक वा लिखित रूपमा समितिमा गर्न सक्ने र त्यसलाई समितिले उजूरीका रूपमा स्वीकार गर्ने बताए ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले छिटो दाबी भुक्तानी गराउन जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । जीवन बीमा कम्पनीहरूबाट बिना झन्झट, छिटोभन्दा छिटो एवं सरल तरिकाले बीमा दाबी भुक्तानी हुन सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक कुन्दन सापकोटा र सहायक निर्देशक रन्जिता के.सी. तथा जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।