बजारमा जोखिम लिन नचाहने लगानीकर्ताका लागि सामुहिक लगानी कोषका इकाई उपयुक्त


नेपालको पूँजी बजार तिब्र रुपमा उकालो लागेका बेला लगानीकर्ताको संख्या पनि लाखौं पुग्यो । तर बजारका सम्बन्धमा जानकार लगानीकर्ताको संख्या ज्यादै कम हुँदा धेरैले अहिले बजार घट्दै गर्दा नोक्सानी व्यहोरिरहेका छन् । बजार बढ्ने मात्र नभई घट्छ पनि भन्ने सिद्धान्त अनुसार त्यसका विविध पक्षलाई केलाउन सक्ने लगानीकर्ताका लागि दोस्रो बजार अवसर हो । तर बजारका विविध पक्षलाई केलाउन नसक्ने तर बजारमा लगानी गर्न चाहने लगानीकर्ताका लागि सुरक्षित माध्यम हो सामुहिक लगानी कोष अर्थात म्युचुअल फण्ड ।

नेपालको पूँजी बजार बिस्तारका क्रममा सामुहिक लगानी कोषको बजार पनि क्रमिक रुपमा बिस्तार भईरहेको छ । यद्यपी लगानीकर्ताहरु छिटो प्रतिफल खाज्ने बानीमा अभ्यस्त भईरहेका बेला बजारमा औषतभन्दा बढी प्रतिफल पाइने सामुहिक लगानी कोषतर्फ खासै आकर्षित हुन नसकिरहेको अवस्था छ । अहिले बजार वियरिस ट्रेण्डमा रहेका बेला पनि लगानीकर्तालाई एक तहको प्रतिफल दिन सक्ने आधार सामुहिक लगानी कोषहरुले बनाईरहेका छन् । तर दोस्रो बजारमा सिधै लगानी गरेका अधिकांश लगानीकर्ताको पोर्टफोलियो नकरात्मक बनिरहेको अवस्थामा नाफा कमाउने सम्भावना ज्यादै न्युन छ ।

नेपालमा सामुहिक लगानी कोषको बजार विस्तार हुँदै गर्दा यसका बहुपक्षीय विषय समेटेर यो सामग्री तयार गरिएको छ, जुन साधारण लगानीकर्ताका लागि उपयोगी हुनेछ ।

सामुहिक लगानी कोष अर्थात म्युचुअल फन्ड भनेको के हो ?

सामूहिक लगानी कोष (म्युचुअल फन्ड) भनेको विभिन्न व्यक्ति वा संस्थाबाट सामूहिक लगानी गरेर जम्मा गरेको रकम हो । सानासाना लगानीबाट संकलित रकमको कोष नै म्युचुअल फन्ड हो । यसको व्यवस्थापन र सञ्चालन कोष व्यवस्थापकले गर्ने गर्दछ । म्युचुअल फन्डको योजना व्यवस्थापकले फन्डमा जम्मा भएको रकम पूँजी बजारका साथै अन्य क्षेत्रमा लगानी गरि प्राप्त भएको प्रतिफल लगानीकर्तालाई समानुपातिक तवरले वितरण गर्छ । यस्ता फन्डलाई इन्भेष्टमेण्ट भेहिकल पनि भनिन्छ । यो कोषमा जम्मा भएको रकम धितोपत्र, ऋणपत्र, ट्रेजरी बिल, मुद्रा बजार उपकरण, बैंक निक्षेप तथा अन्य उपकरणमा लगानी गरिन्छ ।

दुई किसिमका हुन्छन् सामुहिक लगानी कोष

सामुहिक लगानी कोषहरु दुई प्रकारका हुन्छन् । खुलामुखी कोष (ओपन इण्डेड फन्ड) र बन्दमुखी कोष (क्लोज इण्डेड फन्ड) ।

१. खुलामुखी कोष (ओपन इण्डेड फन्ड)

यो योजनाबाट संकलन गरिने रकमको मात्रा तथा समय सीमा नतोकि कुनै पनि समयमा लगानीकर्तालाई इकाईहरू बिक्री गर्न सकिने गरी जारी हुने सामुहिक लगानी योजनालाई खुल्लामुखी योजना भनिन्छ । यसमा इकाईहरूको आकार निश्चिन हुँदैन, घटने बढ्ने हुन्छ र अवधि पनि निश्चित हुँदैन । यो लिक्यूडेट नगरेसम्म चलिरहन्छ । कुनै पनि समयमा इकाई खरिद बिक्री गर्न सकिन्छ । खरिद बिक्री गर्न परेमा सामूहिक लगानी कोष आफैले न्याभ (नेट एसेस्ट भ्यालु) को आधारमा खरिद बिक्री गरी दिन्छ । न्याभ सामूहिक लगानी कोष व्यवस्थापकले दैनिक रुपमा निकाली रहेका हुन्छन् । यो जति बढी हुन्छ, त्यतिनै बढी बजारमा यसको मूल्य बढ्छ ।

यस्ता फण्ड नेपालमा सञ्चालनमा आएको धेरै समय भएको छैन । यस्ता फण्डका ईकाईको कारोबार दोस्रो बजारमा नभई कोष व्यवस्थापकले तोकेका एजेण्ट तथा कोष व्यवस्थापक स्वयंले मात्र गर्ने गर्दछन् । कारोबार गर्ने माध्यमको व्यवस्थापनका आधारमा यस्ता कोषका इकाईको कारोबार सहज हुने गर्दछ ।

२. बन्दमुखी कोष (क्लोज इण्डेड फन्ड)

नेपालको बजारमा सुरुवाती चरणदेखि चल्दै आएको र धेरै प्रचलनमा रहेको यो प्रकृतिका कोष धेरै छन् । केही कोषहरु परिपक्व पनि भइसकेका छन् । यस्ता कोषको निश्चित आकार र अवधि पहिले नै निर्धारण गरी साधारण शेयर निष्काशन भए जसरी नै सर्वसाधारणमा निष्काशन गरिन्छ । नेपालमा सामान्यतया ३ देखि ७ वर्षका लागि फन्ड जम्मा गर्ने गरिएको छ । पछिल्ला दिनहरुमा धेरैजसो ७ वर्षे योजना सञ्चालनमा छन् ।

शेयरमा जस्तै प्राथमिक बजारमा इकाई जारी गरेर कोषमा पुँजी संकलन गरिन्छ । बन्दमुखी कोषलाई धितोपत्र बोर्डमा सूचीकृत गरिएको हुन्छ र बोर्डको मापदण्डमा रहेर दोस्रो बजारमा कारोबार गरिन्छ । कारोबार पोर्टफोलियो म्यानेज्मेन्टले गर्ने हो । कोषमा पैसा जम्मा गर्दा तोकिएको समयसीमा सकिएपछि लगानीकर्ताले लगानी सहितको लाभ फिर्ता पाउँछन् । हरेक वर्ष कोषले गर्ने आम्दानीबाट लगानीकर्ताले नगद लाभांश पनि पाउँछन् ।

प्रतिफलमा विविधता

१. नगद लाभांश

शेयरमा जस्तै म्युचुअल फन्डले पनि लगानीकर्तालाई वार्षिक रुपमा नगदमा प्रतिफल बितरण गर्ने गर्छन् । शेयरमा बोनस र नगद लाभांश दुवै हुन सक्ने भए पनि सामुहिक लगाी कोषमा नगद लाभांश मात्र पाइन्छ । कतिपय म्युचुअल फन्डहरुले भने त्यस्तो लाभांशलाई पुनः फन्डमै लगानी गर्न पाउने सुविधा पनि दिँदै आएका छन् । यसले लगानीकर्ताको लगानीको आकार बढ्न जानुका साथै बोनस पाए सरह हुन्छ ।

२. पुँजीगत लाभ

यदि कुनै लगानीकर्ताले म्युचुअल फन्डको इकाईलाई दोस्रो बजारमा फाइदामा बेच्दछ भने त्यसलाई पुँजीगत लाभ भनिन्छ । बन्दमूखी सामुहिक लगानी कोषका इकाईहरु स्टक एक्सचेन्जमा सूचीकृत हुने व्यवस्था भए अनुसार कोषका इकाईलाई पनि दैनिक रुपमा खरिदबिक्री गर्न सकिन्छ । यसरी गरिने कारोबार सामान्य जानकारी राख्ने र सक्रिय नहुने लगानीकर्ताका लागि उपयुक्त नहुन सक्छ ।

प्रति इकाई १० रुपैयाँमा किनेको फन्डको मूल्य घटेर १० भन्दा कम पनि हुन सक्छ तर त्यही १० रुपैयाँको इकाई बढेर १५ रुपैयाँ पनि हुन सक्छ । कोष व्यवस्थापकले गर्ने कार्यसम्पादनका आधारमा आउने यस्तो नतिजा फण्डका इकाईका कारोबारीहरुका लागि अल्पकालीन रुपमा र लगानीकर्ताका लागि दीर्घकालीन रुपमा आफुले पाउने प्रतिफलका लागि महत्वपुर्ण हुन्छन् ।

३. न्याभ

फन्डको खुद सम्पति मूल्य (न्याभ) बढ्दा लगानीकर्ताको लगानीको आकार बढ्न जान्छ । अर्थात उसको पोर्टफोलियोको आकार, सम्पत्तिको आकार बढ्न जान्छ । यो पनि लगानीकर्ताको पक्षमा फाइदाको विषय हो । सम्पत्तिको मूल्य बढ्दा फन्डका इकाईको मूल्य पनि बढ्न जान्छ । जसका कारण फाइदामा इकाई बिक्री गर्ने अवसर मिल्न सक्छ ।

शेयर बजारको घटबढले म्युचुअल फन्डको खुद सम्पति मूल्यमा घटबढ हुन्छ । लगानी गरेको कम्पनी फाइदामा गयो भने फन्ड पनि नाफामा जान्छ र प्रतिफल आउँछ । फन्डले रकम लगानी गरेको कम्पनीको प्रगति सुस्त हुँदा फन्डको रकम र मूल्य पनि सुस्त हुन पुग्छ । यसका लागि कोष व्यवस्थापकले सुपरिवेक्षण गर्ने, विज्ञहरु राखेर कम्पनी छनौट गर्ने काम गर्दछन् ।

सामुहिक लगानी कोषको प्राथमिक र दोस्रो बजार

पुँजीबजार दुई प्रकारमा वर्गीकरण गरिएको छ, प्राथमिक बजार र दोस्रो बजार ।

१. प्राथमिक बजार

प्राथमिक बजारमा कुनै धितोपत्रलाई पहिलो पटक सर्वसाधारणको लागि जारी गर्नुपूर्व सूचना दिएर वितरण गरिन्छ । यसरी जारी गरिएको सेयर सामान्यतः प्रतिकित्ता सय रुपैयाँमा अंकित हुन्छ भने सामूहिक लगानी कोषको हकमा भने प्रतिएकाई १० रुपैयाँमा अंकित हुन्छ । म्युचुअल फन्डले पहिलो पटक जारी गरेको इकाई खरिद गरेर सर्वसाधारणले फन्डमा लगानी गर्न सकुन् । बन्दमूखी योजनाका इकाईमा मात्र यसरी लगानी गर्न सकिन्छ ।

इकाई निष्काशन भएका बेला फन्डसम्बन्धी जानकारी आवेदन पत्रमा उल्लेख गरिएको हुन्छ । खुला तथा बन्द हुने मिति, आवेदन दिनुपर्ने न्यूनतम तथा अधिकतम एकाई संख्यालगायत विवरण पत्रमा दिइएको हुन्छ । नेपालमा लगानीकर्ताले कम्तीमा सय कित्ताका लागि कम्तीमा एक हजार रुपैंया बराबरको आवेदन दिनुपर्ने हुन्छ ।

२. दोस्रो बजार

प्राथमिक बजारमा वितरण गरिएको धितोपत्रलाई निश्चित समयभित्र नेपाल स्टक एक्सचेन्जमा प्रतिइकाई १० रुपैंयाको दरमा सूचीकृत गरिन्छ । यसरी सूचीकृत भएको धितोपत्रलाई सर्वसाधारणले अनलाइन कारोबार प्रणालीका साथै अफलाइनबाट दोस्रो बजारमा किनबेच गर्न सक्छन् । लगानी कोषको फर्मेसनअनुसार दोस्रो बजारमा यसको इकाई मूल्य उतार चढाव हुन्छ । बजारको भाउ बमोजिम कारोबार हुन्छ । कोषले राम्रो प्रगति गर्दै गएको खण्डमा यसको प्रति इकाई मूल्य बढ्दै जान्छ भने नराम्रो भएको खण्डमा प्रति इकाई मूल्य घट्दै जान्छ ।

थोरै आम्दानी भएका परिवारका लागि आम्दानीको अवसर

थोरै पूँजी भएकाले पनि लगानी गर्न पाउनु नै म्युचुअल फन्डकोे विशेषता हो । न्यूनतम एक हजारबाट लगानी गर्न सकिने भएका कारण न्युन आयस्तर भएका र शेयरमा लगानी गर्न चाहनेहरुले पनि म्युचुअल फन्डमा लगानी गरेर लगानी अनुसारको प्रतिफल लिन सक्छन् । अर्थात आफु काममा व्यस्त हुँदै गर्दा पनि आफ्नो सानो पूँजीलाई समेत काममा लगाएर प्रतिफल पाउन सकिन्छ । विशेष गरी शेयर बजारको बारेमा जानकारी नभएका लगानीकर्ताका लागि यो भरपर्दो लगानीको माध्यम हो । बजारको बारेमा जानकारी नभएकालाई समेत यसमा लगानी गर्दा आफ्नो लगानी डुब्ने सम्भावना अत्यन्तै कम हुन्छ । बजारमा लगानी गर्न चाहने तर जानकारी नभएका र कम पूँजी भएकाले सानो रकमबाटै लगानी सुरु गरी भविष्यमा राम्रो प्रतिफलको भागेदार बन्न सक्छन् ।

न्यून जोखिम

नेप्सेमा सूचीकृत कम्पनीहरुको सूक्ष्म अध्यन गरेर कम्पनी छान्ने हुनाले यस्ता लगानी कोषले राम्रो कम्पनीहरुमा मात्र लगानी गर्ने गर्छन् । लगानी कोषका विज्ञहरुले बजारलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्छन् । कम्पनीका आधारभूत तथा प्राविधिक पाटो साथै देशको समग्र अर्थतन्त्रको विश्लेषण गर्ने हुनाले र जोखिम न्यूनीकरण गर्ने रणनीतिहरु पनि अपनाउने काम कोष व्यवस्थापकले गर्छन् । यसै कारण सामूहिक लगानी कोषको लगानी जोखिम कम भएको क्षेत्र मान्न सकिन्छ । लगानी कोषको रकम विभिन्न क्षेत्रहरुमा लगानी गर्ने हुनाले जोखिम न्यूनीकरण हुँदै जान्छ । कुनै समयमा बैंकिङ समूह जोखिम भएको बेला इन्स्योरेन्स समूहले राम्रो गरेको हुन सक्छ, लगानी कोषले जोखिमको आधारमा विभिन्न क्षेत्रमा कति मात्रामा लगानी गर्ने भनेर तय गर्छ ताकि एउटा समूह घट्दा अर्कोले घाटा कम गराउन मद्धत गरोस् ।

कस्ता लगानीकर्ताहरुले सामुहिक लगानी कोषमा लगानी गर्ने ?

१. जोखिम बहन क्षमता कम हुनले ।
२. कम पूँजीमा लगानी गर्न चाहनेले ।
३. शेयर बजारका सम्बन्धमा कम वा जानकारी नहुनेले ।
४. व्यवसायिक किसिमले लगानीको योजना बनाउनेले ।
५. समय दिन नसक्नेले ।
६. लगानीमा विविधिकरण ल्याउन चाहनेले ।

कोषका लगानीको क्षेत्र

नेपालमा म्युचल फन्डको लगानीको प्रमुख क्षेत्र शेयर बजार नै हो । कोष व्यवस्थापकले फन्डमा संकलित रकमको ठुलो हिस्सा सूचीकृत कम्पनीको शेयरमा लगानी गर्छन् । शेयर बजारका विभिन्न समुह तथा उपसमुहहरु बैंकिङ क्षेत्र, ऊर्जा, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, विकास बैंक, वित्त, लगानी, अन्य लगायतमा अनुपात मिलाएर लगानी विविधिकरण हुन्छ । त्यसैगरी लगानीको केही हिस्सा बैंकमा मुद्धती निक्षेप पनि राखिन्छ ।

सामुहिक लगानी कोषको प्रकृति

लगानीका आधारमा धेरै किसिमका सामुहिक लगानी कोषहरु सञ्चालन हुने गर्छन । यद्यपी नेपालमा भने केही प्रकृतिका सामुहि लगानी कोषहरु मात्र सञ्चालन भईरहेका छन् ।

१. इक्विटी फन्ड
इक्विटी फन्डको अधिकांश लगानी स्टकमा हुने गर्दछ र कम्पनीको आकार तथा बजार पुँजीकरणका आधारमा यसको वर्गीकरण गरिन्छ । इक्विटी फन्डलाई ग्रोथ, भ्याल्यू वा ब्लेन्डेड फन्डको रुपमा विभाजन गर्न सकिन्छ । ग्रोथ फन्डले समग्र बजारको भन्दा राम्रो प्रदर्शन गर्नसक्ने सम्भावना भएका कम्पनीहरुको शेयर होल्ड गर्दछन् ।
यस्तै, भ्याल्यू फन्डमा भने अवमूल्यनमा परेका (अन्डरभ्याल्यूड) कम्पनीहरुको शेयरको बाहुल्यता रहेको हुन्छ । ब्लेन्डेड फन्डले भने ग्रोथ र भ्याल्यू स्टक दुवैको मिश्रण गरेका हुन्छन् ।

२. ब्यालेन्स्ड फन्ड
हाल नेपालमा ब्यालेन्स्ड फन्डहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । यस्ता म्युचुअल फन्डहरुले बन्ड तथा स्टक दुवैमा लगानी गरेका हुन्छन् । यी फन्डहरुले कहाँ कति सम्पति लगानी गर्ने भन्ने विषय सुरुवातमै निर्धारण गरेका हुन्छन् ।

३. टार्गेट डेट फन्ड
परिपक्व हुने मिति लक्षित गरी यस्ता म्युचुअल फन्डहरु सञ्चालन हुने गरेका छन् । उक्त समयावधि भित्र यस्ता म्युचुअल फन्डहरुले आफ्नो पोर्टफोलियोमा विभिन्न सम्पतिहरुको मिश्रण गरेका हुन्छन् । समयसँगै यस्ता फन्डहरुको जोखिम बहन गर्ने क्षमता पनि बढ्दै जान्छ । अवकास पाउने बेला भएका लगानीकर्ताहरुका लागि यस्तो म्युचुअल फन्ड निकै प्रभावकारी मानिन्छ ।

४. सेक्टर वा स्पेसियाल्टी फन्ड
यस्ता म्युचुअल फन्डहरुको लगानी निश्चित इन्डस्ट्री वा मार्केट सेक्टरमा एकत्रित भएको हुन्छ । उदाहरणका लागि, रियल स्टेट, टेक्नोलोजी वा स्वास्थ्य क्षेत्र । कुनै निश्चित क्षेत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुँदा यस्ता फन्डहरुमा विविधीकरण भने हुँदैन । तर यस्ता फन्डलाई अन्य फन्ड वा लगानीसँग मिश्रण गरेमा भने लाभ हुने देखिन्छ । नेपालमा यस्ता फन्डहरु सञ्चालनमा आएका छैनन् ।

५. बन्ड फन्ड
यस्ता फन्डहरुले खास गरी अल्पकालीन वा दीर्घकालीन परिपक्वता (म्याचुरिटी) अवधि भएका बन्डहरु खरिद गर्न लगानीकर्ताबाट रकम संकलन गरेका हुन्छन् । बन्डमा विविधीकरण गर्न चाहने लगानीकर्ताले व्यक्तिगत रुपमा विभिन्न बन्डहरु खरिद गर्नुको साटो यस्ता बन्ड फन्डहरुमा लगानी गर्नु उचित मानिन्छ ।

६. मनि मार्केट फन्ड
यस्ता फन्डहरु निश्चित आम्दानी भएका म्युचुअल फन्डहरु हन्, जसले न्यून कर्जा जोखिम भएका मुद्रा उपकरणमा लगानी गर्छन् । हाल नेपालमा यस्ता विशेष किसिमका फन्डहरु प्रचलनमा छैनन् । यस्ता फन्डले विशेषगरी, अल्पकालीन ट्रेजरी बिल, डिपोजिट सर्टिफिकेट लगायतमा लगानी गर्दछन् । यस्ता फन्डहरुले मुख्यगरी तरलता कायम राख्ने तथा सेयरको मूल्य स्थिर राख्ने र लगानीकर्तालाई निश्चित प्रतिफल पनि दिने उद्देश्य राखेका हुन्छन् ।

७. इन्डेक्स फन्ड
कुनै निश्चित मार्केट इन्डेक्सलाई मध्यनजर गरी यस्ता म्युचुअल फन्डहरु सञ्चालन गरिएको हुन्छ । इन्डेक्स फन्डलाई टार्केट गरिएको इन्डेक्सको प्रदर्शनसँग मेल हुने गरी निर्माण गरिएको हुन्छ । न्यून जोखिम, न्यून व्यवस्थापन तथा न्यून लागतमा सञ्चालन हुने भएकाले इन्डेक्स फन्डलाई धेरै लगानीकर्ताले रुचाउने गरेका छन् ।

सामूहिक लगानी कोषको भविष्य

नेपालको पूँजीबजार विकासोन्मुख छ । यहाँको बजार अन्तर्राष्ट्रिय वित्तीय बजारको स्तरमा पुग्न समय लाग्ने अवस्था छ । वित्तीय बजारमा लगानीयोग्य विभिन्न वित्तीय सामग्री उपलब्ध भएको खण्डमा सामूहिक लगानी कोषलाई फाइदा हुने देखिन्छ । हालको समयमा सामूहिक लगानी कोषको मुख्य लगानी गर्ने क्षेत्र शेयर बजार मात्र भएकाले जोखिम न्यूनीकरण गर्ने रणनीतिहरु त्यति प्रभावकारी हुन सकिरहेका छैनन् । अन्तर्राष्ट्रिय बजारमा अक्सन, डेरिभेटिभ र कोमोडिटिजजस्ता वित्तीय औजारहरु हुन्छन्, जसले राम्रो पोर्टफोलियो बनाउन मद्धत गर्छ । नेपालमा अक्सन मार्केट सञ्चालन भईरहेको भए पनि त्यसको प्रभावकारीता न्युन छ । अन्य बजारहरु सञ्चालन हुन सकिरहेको छैन ।

विभिन्न किसिमका वित्तीय औजारको आगमनका सम्बन्धमा चर्चा भईरहेको सन्दर्भमा आगामी दिनमा सामूहिक लगानी कोषहरुको बजार सबल भएर जाने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ जेठ २०७९, मंगलबार  १७ : ३५ बजे