त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन जीवन बीमा कम्पनीलाई बीमा समितिको निर्देशन


बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य विवरण समावेश गरेर सञ्चालक समितिबाट स्वीकृत गरी त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन बीमा कम्पनीहरुका परिपालन अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।

निर्देशक लालले बीमा कम्पनीहरुका परिपालन प्रतिवेदनमा एकरुपता नभएको, एउटै समस्या पटक पटक दोहोरिने गरेको, समयमा प्रतिवेदन पेश नभएको जस्ता समस्याहरु देखिएको उल्लेख भन्दै तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारवाही हुने बताए ।

बीमा कम्पनीका काम कारवाही लगायत समग्र पक्षको सत्य तथ्य विवरण समेटेर परिपालन प्रतिवेदन तयार भएमा त्यसबाट कम्पनीकै व्यवसाय विस्तार, सुशासन र देखिएका कमी कमजोरी सुधारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास उनको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।