एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका १० करोड इकाई बिहीबारदेखि निष्काशन हुने


एनआईसी एशिया बैंकको प्रवद्र्धनमा एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका १० करोड इकाई बिहीबारदेखि निष्काशन हुने भएको छ । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा आउने उक्त फण्डका १० करोड इकाईहरु १० रुपैंया अंकित मूल्यमा निष्काशन गर्न लागिएको क्यापिटलले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

निष्काशन हुने कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणमा निष्काशन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । संस्थागत लगानीकर्तालाई पनि सर्वसाधारणको हिस्साको इकाई बिक्री गरिने क्यापिटलले जनाएको छ ।

७ वर्षे अवधिको बन्दमूखी योजनाका इकाईमा नेपाली नागरिक, गैरआवासीय नेपालीको परिचय पत्र जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेका कोषहरु सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष लगायतले आवेदन दिन सक्ने छन् ।

न्यूनतम एक सयदेखि एक करोड इकाईसम्मका लागि आवेदन दिन सकिने जनाएको क्यापिटलले छिटोमा जेठ २४ गतेसम्म र अपेक्षित आवेदन नआएको खण्डमा असार २ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । निष्काशन भएको इकाईभन्दा धेरै इकाई माग भएको खण्डमा कोषको आकार २५ करोडले बढाएर १ अर्ब २५ करोड कायम गरिने पनि क्यापिटलले जनाएको छ ।

क्यापिटलले सञ्चालनमा ल्याउने कोषमा संकलन हुने रकममध्ये ८० प्रतिशत रकम सूचीकृत कम्पनीको शेयरमा, १५ प्रतिशत रकम मुद्धती निक्षेपमा र ५ प्रतिशत रकम कल तथा करेण्ट खातामा लगानी क्यापिटलका प्रमुख लगानी अधिकृत मनीष घिमिरेले बताए । उनका अनुसार सूचीकृत कम्पनीको शेयरमा लगानी गर्दा बजारको पुँजीकरण अनुसार सूचीकृत कम्पनीहरुलाई तीन समूह स्मल क्याप, मिड क्याप तथा लार्ज क्यापमा वर्गीकरण गरिनेछ ।

सूचीकृत कम्पनीको ग्रोथलाई मात्र नभई क्षमताका आधारमा फाण्डले लगानी गर्ने भएकोले यो फण्ड अरुभन्दा पृथक हुने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले बताए ।

उनका अनुसार फण्डले ७ वर्षको अवधिमा न्याभ तथा नगद गरेर लगानीकर्तालाई १३६ प्रतिशतभन्दा बढी प्रतिफल दिने प्रक्षेपण गरिएको छ । वार्षिक रुपमा भने प्रतिफलको दर १९ प्रतिशतको हाराहारीमा हुने उनले बताए ।

फण्डका इकाईहरुमा मेरोशेयर, बैंक वित्तीय संस्थाको आस्वा प्रणालीबाट साधारण शेयरमा जसरी नै आवेदन दिन सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।