बीमा समिति र माल्दिभ्स मौद्रिक प्राधिकरणका बीचमा बीमाका चुनौती मिलेर सामना गर्ने सहमति


बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अलि हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । माल्दिभ्सको राजधानी मालेमा दुई मुलुकका प्रतिनिधिमण्डलका बीचमा भेट भएको हो ।

माल्दिभ्सको बैंक, धितोपत्र बजार सहित बीमा क्षेत्रको समेत नियमन गर्ने निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणको मालेस्थित कार्यालयमा बुधबार द्विपक्षीय भेटवार्ता भएको बीमा समितिले जनाएको छ ।

भेटवार्तामा नेपालका तर्फबाट बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी तथा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरे र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी सहभागी थिए ।

यसैगरी माल्दिभ्सका तर्फबाट माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम, डेपुटी गभर्नर अहमद इमाद र बीमा विभागका कार्यकारी निर्देशक हसन फियाज सहभागी थिए ।

त्यस अवसरमा बीमा समितिका अध्यक्ष सिलवालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरीय बीमा नियमनकारी निकायहरूको सङ्गठन सार्क इन्स्योरेन्स रेगुलेटर्स फोरमलाई पुनः सक्रिय बनाउन राखेको प्रस्तावलाई माल्दिभम्स मौद्रिक प्राधिकरणका अध्यक्ष हासिमले सकारात्मक रूपमा लिँदै सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

भेटवार्ताकै क्रममा अध्यक्ष सिलवालले नेपाली बीमा कम्पनीहरूलाई माल्दिभ्समा शाखा कार्यालय खोल्न के कस्तो व्यवस्था छ भनी राखेको जिज्ञासामा माल्दिभ्सको प्राधिकरणका अध्यक्ष हासिमले विदेशी बीमा कम्पनीहरूले माल्दिभ्समा सजिलै शाखा कार्यालय वा संयुक्त लगानीमा कम्पनी खोल्न सक्ने व्यवस्था रहेको जानकारी दिएका थिए । अध्यक्ष हासिमले आगामी दिनमा दुई देशका नियमनकारी निकायहरूबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

बीमा समिति र माल्दिभ्स मौद्रिक प्राधिकरणबीच आगामी दिनमा नियमनकारी अनुभव, सूचना, विवरण तथा तथ्याङ्क आदि आदान प्रदान गर्ने र बीमा क्षेत्रमा विद्यमान चुनौतीहरूको मिलेर सामना गर्ने सहमति समेत भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।