नयाँ आर्थिक वर्षदेखि कति कमाउनेले कति तिर्नुपर्छ आयकर ? एकल र दम्पत्तिको गणना यस्तो छ

0
Shares

✍️ तीर्थराज पौड्याल ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको आर्थिक विद्ययेक अनुसार हरेक नेपालीले आफ्नो आम्दानीबाट सरकारलाई आयकर बुझाउनुपर्ने हुन्छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत नयाँ आर्थिक वर्ष सुरु भएपछि एकल प्राकृतिक व्यक्ति र दम्पत्तिलाई आयकरको सीमा बढाएको छ।   आयकरको दर भने सरकारले अघिल्लो वर्ष कै लाई निरन्तरता दिएकाे (यथावत राखेको) छ । कसनै हेरफेर गरेको छैन । यसअनुसार आर्थिक विद्ययेकले तोकेको आयकर प्रत्येक नागरिकले आफ्नो वार्षिक आम्दानीका आधारमा सरकारलाई आयकर बुझाउनुपर्ने हुन्छ ।

बजेट मार्फत आयकरको सीमा आयकर ऐन २०५८ को अनुसूची १ को दफा १ बमोजिम एकल प्राकृतिक व्यक्तिले वार्षिक ५ लाखसम्म रोजगारीको आय भएमा र दम्पत्तिलाई ६ लाख रुपैयाँसम्मको रोजगारीको आय भएमा १ प्रतिशतमात्र आय कर लाग्ने व्यवस्था गरेको छ । यसअघि व्यक्तिगत आयकरमा ४ लाख रुपैयाँसम्म र दम्पत्तिको हकमा ४ लाख ५० हजार रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्र लाग्ने व्यवस्था थियो । आगामी आवको बजेटमा एकल प्राकृतिक व्यक्तिको आयकर सीमा एक लाख र दम्पत्तिको हकमा एक लाख ५० हजार रुपैयाँसम्मको आयकर सीमा छुट दिइएको हो ।

संघीय संसदमा प्रस्तुत विद्ययेकमा व्यक्तिगत आयकरको आयकरको सीमामा हेरफेरि गरेपनि दरमा भने यसअघि सरह नै १०, २० र ३० प्रतिशत यथावत रहेको छ । २० लाखभन्दा बढी आम्दानी गर्नेको हकमा भने ३६ प्रतिशतका दरले कर तिर्नुपर्ने व्यवस्था छ ।

बजेटको व्यवस्था बमोजिमको एकल व्यक्तिको हकमा बुझाउनुपर्ने आयकरको गणना

आर्थिक विद्येयकले एकल प्राकृतिक व्यक्तिको हकमा ५ लाख रुपैयाँसम्म १ प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ । जसअनुसार ५ लाख रुपैयाँसम्म आय गर्नेले व्यक्तिले वार्षिक ५ हजार रुपैयाँ मात्र सरकारलाई आयकर बुझाए पुग्दछ । ५ लाख रुपैयाँभन्दा धेरै ७ लाख रुपैयाँसम्म आय गर्नेले ५ लाख रुपैयाँसम्म ५ हजार रुपैयाँ र सोभन्दा बढी ७ लाख रुपैयाँसम्मको आय रकममा थप १० प्रतिशत कर तिर्नुपर्छ । यस आधारमा ७ लाख रुपैयाँ आय हुनेले २५ हजार (५ हजार + थप २० हजार) रुपैयाँ आयकर तिर्नुपर्छ ।

यसैगरि ७ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्नेले वार्षिक ७ लाख रुपैयाँसम्म २५ हजार रुपैयाँ र सोभन्दा बढी रकममा २० प्रतिशत आयकर लाग्नेछ । यस आधारमा वार्षिक १० लाख आय हुने व्यक्तिले ८५ हजार (२५ हजार + थप ६० हजार) रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ ।

यस्तै १० लाख रुपैयाँदेखि २० लाखसम्म आम्दानी गर्नेले १० लाख रुपैयाँसम्मको आयमा ८५ हजार रुपैयाँ र १० लाखभन्दा बढीको आयमा ३० प्रतिशत कर लाग्नेछ । यस आधारमा कुनै व्यक्तिको आय १५ लाख भएको खण्डमा २ लाख ३५ हजार (८५ हजार +थप १ लाख ५० हजार) रुपैयाँ र २० लाख रुपैयाँ आय हुनेले ३ लाख ८५ हजार ( ८५ हजार + थप ३ लाख ) रुपैयाँ आयकर बुझाउनुपर्ने हुन्छ ।

कुनै एकल व्यक्तिले वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छ भने उसले २० लाख रुपैयाँको आयमा ३ लाख ८५ हजार रुपैयाँ र २० लाख रुपैयाँभन्दा बढी आम्दानी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्छ । २० लाखभन्दा बढी आम्दानी हुनेको हकमा २० लाखसम्म लाग्ने करको दरमा अतिरिक्त २० प्रतिशत कर लाग्दा ३६ प्रतिशतका दरले कर लाग्दछ ।

यस आधारमा हेर्दा कुनै व्यक्तिको २५ लाख रुपैयाँ वार्षिक आम्दानी रहेछ भने उसले वार्षिक ५ लाख ६५ हजार रुपैयाँ आयकर सरकारलाई बुझाउनुपर्ने हुन्छ । जहाँ २० लाख रुपैयाँसम्मम ३ लाख ८५ हजार रुपैयाँ र बाँकी रहेको ५ लाख रकममा ३६ प्रतिशतका दरले १ लाख ८० हजार रुपैयाँ गरी कुल ५ लाख ६५ हजार रुपैयाँ कर लाग्दछ । यस्तै ३० लाख आय हुनेले वार्षिक ७ लाख ४५ हजार (३ लाख ८५ हजार + थप ३ लाख ६० हजार) रुपैयाँ आयकर बुझाउनुपर्ने हुन्छ ।

दम्पत्तिको हकमा बुझाउनुपर्ने आयकरको गणना

यसैगरी आर्थिक वर्ष २०७९।८० बजटे मार्फत आर्थिक विद्ययेकमा गरिएको व्यवस्था बमोजिम दम्पत्तिको हकमा आयकरको सीमा फरक रहेको छ ।

यस आधारमा दम्पत्तिको हकमा ६ लाख रुपैयाँसम्मको आयमा हुनेले न्यूनतम १ प्रतिशत कर लाग्नेछ । यस आधारमा वार्षिक ६ लाख आय गर्ने दम्पत्तिले सरकारलाई वार्षिक रुपमा ६ हजार रुपैयाँ आयकर बुझाउँदा पुग्नेछ ।

यस्तै विद्येयकमा ६ लाख रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म आय गर्नेले ६ लाख रुपैयाँसम्म ६ हजार रुपैयाँ र सोभन्दा बढी ८ लाख रुपैयाँसम्मको आय रकममा थप १० प्रतिशत कर तिर्नुपर्छ । यस आधारमा ८ लाख रुपैयाँ आय हुनेले वार्षिक २६ हजार (६ हजार + थप २० हजार) रुपैयाँ आयकर तिर्नुपर्छ ।

यसैगरि ८ लाख रुपैयाँदेखि ११ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्ने दम्पत्तिले वार्षिक ८ लाख रुपैयाँसम्म २६ हजार रुपैयाँ र सोभन्दा बढी रकममा २० प्रतिशत आयकर लाग्नेछ । यस आधारमा वार्षिक ११ लाख आय हुने व्यक्तिले ८६ हजार (२६ हजार + थप ६० हजार) रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ ।

यस्तै ११ लाख रुपैयाँदेखि २० लाखसम्म आम्दानी गर्नेले ११ लाख रुपैयाँको आयमा ८६ हजार रुपैयाँ र ११ लाखभन्दा बढीको आयमा ३० प्रतिशत कर लाग्नेछ । यस आधारमा कुनै वैवाहिक व्यक्तिको आय १५ लाख भएको खण्डमा उसले २ लाख ६ हजार (८६ हजार + थप १ लाख २० हजार) रुपैयाँ र २० लाख रुपैयाँ आय हुनेले ३ लाख ५६ हजार ( ८६ हजार + थप २ लाख ७० हजार ) रुपैयाँ आयकर बुझाउनुपर्ने हुन्छ ।

कुनै विवाहित व्यक्तिले वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छ भने उसले २० लाख रुपैयाँको रकममा ३ लाख ५६ हजार रुपैयाँ र २० लाख रुपैयाँभन्दा बढी आम्दानी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्छ ।

यस आधारमा हेर्दा कुनै दम्पत्ति भएको व्यक्तिको २५ लाख रुपैयाँ वार्षिक आम्दानी रहेछ भने उसले वार्षिक ५ लाख ३६ हजार रुपैयाँ आयकर सरकारलाई बुझाउनुपर्ने हुन्छ । जहाँ २० लाख रुपैयाँको आयमा ३ लाख ५६ हजार रुपैयाँ र बाँकी बढी रकम पाँच लाखमा ३६ प्रतिशतका दरले १ लाख ८० हजार गरी कुल ५ लाख ३६ हजार रुपैयाँ कर लाग्ने हुन्छ । यस्तै ३० लाख आय हुनेको हकमा वार्षिक ७ लाख १६ हजार (३ लाख ५६ हजार + ३ लाख ६० हजार) रुपैयाँ आयकर बुझाउनुपर्ने हुन्छ ।

आयकरमा थप छुट

आर्थिक विद्ययेक अनुसार नयाँ आर्थिक वर्ष सुरु भएपछि प्रत्येक नेपालीले आफ्नो आम्दानीबाट सरकारलाई बुझाउनुपर्ने आयकरबाट केही शीर्षकहरूमा भने छुट दिएको छ । यी शीर्षकमा परेका व्यक्तिले आफुले तिर्नुपर्ने आयकर रकमबाट उक्त छुट रकम घटाएर सरकारलाइ कर बुझाए हुन्छ ।

विद्ययेकले एकलौटी फर्म दर्ता भएका करदाता, निवृत्तभरण वापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने पाकृतिक व्यक्तिको आायमा भने आयकर ऐन २०५८ बमोजिमको कर लाग्ने छैन भनि उल्लेख गरेकाे छ ।

यसैगरी प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा ४० हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने छ । यसैगरी स्वास्थ्य बीमा गरेको प्राकृतिक व्यक्तिले बीमा कम्पनीसँग बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा २० हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने छ ।

यस्तै आर्थिक विद्येयकले आफ्नो स्वामित्वमा निजी घर वा भवनको बीमा गरेका व्यक्तिले बीमा वापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा ५ हजार रूपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम कर योग्य आयबाट घटाउन पाउने व्यवस्था रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।