साढे ५ लाख निक्षेपकर्ता थपिँदा निक्षेप २ प्रतिशतले बढ्यो, कर्जा वृद्धिदरमा भने ११ प्रतिशत

0
Shares

चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार ११ प्रतिशले बढेको छ । तर, बैंक वित्तीय संस्थाको निक्षेप वृद्धिदर भने १.८ प्रतिशत मात्र भएको हो ।

चालु आर्थिक वर्षमा कोरोनाका कारण ठप्प रहेको आर्थिक गतिविधिले गति लिएसंगै कर्जाको माग पनि उच्च भएको थियो । यो अवधिमा बैंक तथा वित्तीय संसथाले कर्जा लगानी विस्तार गर्ने क्रममा स्रोत अर्थात निक्षेप बढाउने सन्दर्भमा ध्यान नदिएको देखिन्छ । त्यसैले गर्दा पनि कर्जा निक्षेप अनुपात ९० प्रतिशतको सीमा भन्दा माथि पुगेको हो ।

चालु आर्थिक वर्षको असारसम्ममा ४१ लाख ६५ हजार ८ सय ५८ निक्षेपकर्ता रहेको गण्डकी प्रदेशमा पुसमसान्तसम्ममा ५ लाख ४५ हजार ७ सय २८ नयाँ थपिएका छन् । चालु आवको पहिलो ६ महिनामा थपिएका निक्षेपकर्ताको संख्या गत आसारको तुलनामा १४ प्रतिशतले बढेको हो । पुससम्ममा निक्षेपकर्ता कुल संख्या ४७ लाख ११ हजार ५ सय ८६ पुगेका छन ।

२०७८ पुष मसान्तमा गण्डकी प्रदेशका ११ जिल्लाहरुमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा गत वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी एक हजार ३ सय ९५ पुगेको छ । सर्वसाधारणमा वित्तीय चेतनाको स्तर बढेका कारण निक्षेपकर्ताहरुको संख्यामा निरन्तर वृद्धि भएको हो । बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार कास्की, तनहुँ र नवलपरासी जिल्लाहरुमा अधिक केन्द्रित देखिएको राष्ट्र बैंकले जनाएको छ ।

२०७८ असार मसान्तको तुलनामा २०७८ पुष मसान्तमा गण्डकी प्रदेशका १३९५ शाखाहरुको निक्षेप परिचालन १.८ प्रतिशतले वृद्धि भई ३ खर्ब ७५ अर्ब ०३ करोड पुगेको छ । गत आवको सोही अवधिमा कुल निक्षेप १२ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा कुल कर्जा लगानी ११.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ५० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ११.९ प्रतिशतले वृद्धि भएको थियो ।

कोरोना महामारीको समस्या क्रमशः न्यूनीकरण हुदै गएकोले उद्योग–व्यवसाय विस्तारसंगै यस प्रदेशमा कर्जाको माग बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ । २०७८ पुष मसान्तमा गण्डकी प्रदेशमा इन्टरनेट बैंकिङ्गको दर्ता संख्या १.५ लाख र मोबाइल बैंकिङ दर्ता गर्नेको संख्या १८.६ लाख पुगेको छ । यसमध्ये इन्टरनेट सेवा र मोवाइल बैंकिङको सक्रिय प्रयोगकर्ताको संख्या भने क्रमशः १.१ लाख र १४.४ लाख रहेको राष्ट्र बैंकको अध्ययन रिपोर्टमा उल्लेख छ

केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धि भने राष्ट्रिय औसत भन्दा बढी अर्थात् ६.२ प्रतिशत हुने अनुमान रहेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा गण्डकी प्रदेशको आर्थिक गतिविधिमा सुधार आएको छ । पछिल्लो समय कोरोना महामारीको समस्या क्रमशः न्यूनहुँदै गएको, कृषि उत्पादनमा केही वृद्धि भएको, उद्योगको क्षमता उपयोग बढ्दै गएको, यातायात र पर्यटन लगायतका सेवा क्षेत्र समेत क्रमशः पुनरुत्थान हुँदै गएकोले प्रदेशको समष्टिगत आर्थिक गतिविधिमा सुधार आएको हो ।

आर्थिक वर्ष २०७८/७९ को प्रथम अर्धवार्षिक अवधिमा गण्डकी प्रदेशका ११ जिल्लाहरुमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल ३.८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा धान, मकै, कोदो, र तेलहनले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ भने आलु, उखु, भटमास र दलहन खेती गरिएको क्षेत्रफल घटेको छ ।

चालु आवको पहिलो ६ महिनामा गण्डकी प्रदेशका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोग ४२.७ प्रतिशत रहेको छ । सो अवधिमा तोरीको तेल, विस्कुट, चुरोट, औषधि र सिमेन्टको उत्पादनमा वृद्धि भएको छ भने दुध, चक्लेट, चाउचाउ, वियर र इट्टाको उत्पादनमा ह्रास आएको छ । २०७८ पुष मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको १४.५ प्रतिशत अर्थात् ५० अर्ब ९२ करोड रुपैयाँ बरावरको कर्जा औद्योगिक क्षेत्रमा लगानी गरेका छन्।

यो अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिव ९१ प्रतिशत सम्पन्न भएको छ । मध्य पहाडी लोकमार्गको गोरखा–लमजुङ खण्डको करिब १११ कि.मि. सडक निर्माणमध्ये ५६ प्रतिशत र कास्की–पर्वत–बाग्लुङ खण्डको करिब २४५ कि.मि.मध्ये ८५ प्रतिशत कार्य सम्पन्न भएको छ । यस प्रदेशमा ४६ जलविद्युत् आयोजनाहरुबाट ५९३ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको राष्ट्र बैंकले जनाएको । नेपालको कुल जलविद्युत् उत्पादनमा यस प्रदेशको योगदान २८.२ प्रतिशत रहेको छ । गण्डकी प्रदेशमा हाल ७३७ मेगावाट क्षमताका ३६ जलविद्युत् आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको कन्द्रीय बैकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।