ऋण तीर्न कर्जा दिने बैंकहरुको चलाखीमा राष्ट्र बैंकको ‘इन्ट्रि’, खराब कर्जा बढ्ने

0
Shares

नेपाल राष्ट्र बैंकले कर्जाको जोखिम भारित बढाएपछि कर्जा तिर्न कर्जा दिने बैंक तथा वित्तीय संस्थाहरुको चलाखी निरुत्साहित भएको छ । बैंकहरुले सम्पत्तिको मूल्य बढाउने गरी कर्जा तिर्नका लागि पनि कर्जा दिदाँ कर्जा विस्तारको तुलनामा उत्पादन नबढेपछि केन्द्रीय बैकले त्यस्तो चलाखीलाई निगरानी गरेको हो ।

नेपाल राष्ट्र बैंकले उच्च आयात तथा सम्पत्तिको मूल्यमा मात्र सुधार आएपछि बैंक वित्तीय संस्थाको अनुत्पादक क्षेत्रको कर्जालाई नियन्त्रण गर्ने नीति लियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवर्षिक समीक्षा मार्फत आगामी असार देखि लागु हुने गरी कर्जाको प्रकृति अनुसार ५० देखि ७५ प्रतिशत विन्दुले जोखिम भार बढाएको छ । सो अनुसार अनुत्पादक क्षेत्रका कर्जाको जोखिम भार १२० प्रतिशत देखि १५० सम्म कायम गरिएको छ । यसरी जोखिम भार बढ्ने कर्जामा सेयर धितो कर्जा, ओभरड्राफ्ट, रियल स्टेट तथा हाउजिङ एंवम ट्रष्ट रिसिप्ट कर्जामा जोखिम भार बढाएको हो ।

आगामी असारदेखि लागू हुने भएपनि बैंकहरुले कर्जा तिर्नका लागि कर्जा दिने अभ्यासलाई न्यूनिकरण गर्दै लगेको देखिन्छ । त्यतीमात्र नभई यो व्यवस्थाले बैंक तथा वित्तीय संसथाले व्यक्तिगत ओभरड्राफ्ट कर्जालाई टर्म लोनमा परिणत गर्न थालेका छन । पछिल्लो समयमा अधिकासं बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्ट सुविधा लिदै आएका ग्राहकलाई बोलाएर टर्म लोनमा परिवर्तन गर्न दबाब दिदै आएका छन् । कतिपय बैंकले टर्म लोनमा परिवर्तन गरेर ग्राहकलाई जानकारी मात्र दिने गरेको पनि देखिन्छ ।

चालु आर्थिक वर्षको तरलता समस्या तथा नयाँ निक्षेप नआएपछि बैंक वित्तीय संस्थाले कर्जा लगानी नियन्त्रण नै गर्नु परेको अवस्था छ । त्यसले बैंक वित्तीय संस्थाको आम्दानीमा समेत असर गरेको छ । नाफामा परेको असरलाई समेत सम्बोधन हुने भएपछि ओभरड्राफ्टलाई टर्म लोनमा परिवर्तन गर्ने क्रम बढेको हो । नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थालाई कार्यान्वयन गर्ने निउमा बैंक वित्तीय संस्थाले आम्दानी बढाउन खोजेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको यो व्यवस्थाले खराब कर्जा लुकाउन कर्जा तिर्न समेत कर्जा दिने बैंक वित्तीय संस्थालाई आफठ्यारो बनाएको छ । डिफल्ट हुने र भएको कर्जालाई पनि अर्को शिर्षकमा कर्जा दिएर नविकरण गर्ने वा चुक्ता गर्न लगाउने बैंकहरुको चलाखीले लुकेको खराब कर्जाको अंश जोखिम भार बढाएसंगै बाहिर आउने भएको छ । बैकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा प्रबाह दर धेरै हुनु पनि कर्जाका लागि कर्जा लिने अभ्यासले हो । पछिल्लो समयमा वित्तीय प्रणालीबाट ३० प्रतिशतले कर्जा विस्तार हुँदा पनि कुल ग्राहस्थ उत्पादनमा योगदान नदेखिएपछि कर्जाको जोखिमभार वृद्धिले बैंकहरुको वास्तविक खराब कर्जाको आकार बाहिर आउने सम्भावना बढेको छ ।

नेपाल राष्ट्र बैंकको एक मात्र कमजोरी कर्जा तिर्नका लागि कर्जा नै लिने अभ्यासका बारेमा जानकार भएर पनि मौन रहेको एक बैंकरले बताए । अन्तराष्ट्रिय मु्रदा कोषले पनि नेपाली बैंक वित्तीय संस्थाले कर्जाको इभरग्रिनिङको गर्ने विषयलाई उठाएको बताउदै ती बैंकरले भने,“कर्जाका लागि कर्जा लिने अभ्यासले कर्जा डिफल्ट रेट कम देखिएको हो । त्यसले गर्दा खराब कर्जा न्यून देखिएको हो ।”

हाल बैंकिङ क्षेत्रको खराब कर्जा कुल कर्जाको १.४४ प्रतिशत मात्र रहेको छ । बैंक वित्तीय संस्थाले कर्जाका लागि कर्जा दिएका कारणले पनि ऋण विस्तार अत्याधिक भएको उनको बुझाई छ । कर्जा तिर्नका लागि कर्जा रोक्ने हो भने खराब कर्जाको बास्तविक फिगर आउँने उनले बताए । “बैंक वित्तीय संस्थाहरुले खराब कर्जा लुकाउनका लागि पनि कर्जा नै दिने गरेका छन्,”उनले भने,“यो विषय समग्र वित्तीय प्रणालीका लागि घातक हो ।”

राष्ट्र बैंक पनि कर्जा तिर्नका लागि कर्जा दिन नपाउने भन्नेमै देखिन्छ । बैंकहरुको नियमित सुपरिभिजन पनि भैरहेको बताउँदै नेपाल राष्ट्र बैंकका एक अधिकारीले भने,“सुपरभिजनको क्रममा त्य्स्तो पाइएको खण्डमा त्यसलाई प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था छ ।” पछिल्लो समयमा बैंकहरुले ओभर ड्राफ्टलाई कडा गरेको समेत उनले बताए । पछिल्ला दिनहरुमा बैंक/वित्तीय संस्थाले ओभर ड्राफ्टलाई टर्म लोनमा रुपान्तरण गराइरहेको उनले जानकारी दिए । नेपाल राष्ट्र बैंकले कर्जाको जोखिम भारित बढाएपछि ओभरड्राफ्टलाई टर्म लोनमा परिवर्तन गर्न थालेको उनको बुझाइ छ ।

बैंकिङ क्षेत्रमा निक्षेप तथा तरलता अभावको समस्या जटिल बन्दै गएपछि पछिल्लो समयमा कर्जा नै नियन्त्रण गरेको अवस्था छ । “यो अवस्थामा कर्जा तिर्नका लागि कर्जा लिने अभ्यासमा असर गरेको छ,” राष्ट्र बैंकका ती अधिकारीले भने,“कर्जा तिर्न कर्जा नपाएको अवस्थामा कर्जा डिफल्ट बढ्ने जोखिम हुन्छ, त्यसले बैंकिङ क्षेत्रको खराब कर्जा बढ्ने जोखिम छ ।”

कर्जाका लागि कर्जा दिने अभ्यासले इजी मनि मेकिङग बढ्यो । त्यसले आयात अस्वभाविक रुपमा बढायो । उच्च आयात कारण विदेशी सञ्चितिमा समेत दवाव परेको अवस्था छ । त्यसका साथै उत्पादन मूलक भन्दा पनि अनुत्पादक क्षेत्रमा बैंकहरुको लगानी बढ्दा समग्र अर्थतन्त्रनै प्रभावित भयो । बैंकहरुले आयातका लागि पनि कर्जा दिने र खपतका लागि पनि कर्जा दिने अभ्यास बढ्दै गएपछि प्रोभिजनिङ नगर्नका लागि कर्जा तिर्न कर्जा दिने र खराब कर्जा लुकाउने अभ्यास बढ्यो । बैंकहरुले खराब कर्जा लुकाउने र प्रतिफल खाने अभ्यासले वित्तिय क्षेत्रको जोखिम बढाएको देखिन्छ । यस सन्दर्भमा नेपाल राष्ट्र बैंक तथा बैंकरहरु स्वयम संवेदनशिल हुनुपर्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।