विराटनगरले तताएपछि महासंघ पनि बजेटका सम्बन्धमा बोल्यो, “स्वदेशी उद्योग विपरितका नीतिहरू तत्काल सच्याउ”


स्वदेशी उद्योगलाई अफ्टेरो पार्ने विषय बजेटमा समेटिएको भन्दै औद्योगिक नगरी बिराटनगरबाट चर्किएको विरोधको मुद्धामा नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार मुख खोलेको छ । महासंघले विज्ञप्ति जारी गर्दै बजेटमा स्वदेशी उद्योग विपरितका नीतिहरु सच्याउन माग गरेको हो ।

बजेट संसोधनको माग गर्दै बिराटनगरका उद्योगीले सडक आन्दोलन गर्ने, “सिमित उद्योगी पोस्न खोजियो”

सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भंसार महशुल, अन्तःशुल्क लगायतका राजस्वका दरहरूमा गरिएको प्रावधानबाट स्वदेशी उद्योग व्यवसाय प्रभावित भएकोतर्फ ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

”विना परामर्श र उद्यमी व्यवसायीको राय सुझाव विपरित एकतर्फीरूपमा बजेट र आर्थिक ऐनमा समावेश गरिएका प्रावधानले उद्योगलाई पर्न गएको समस्या तत्काल संवोधन गर्न महासंघ सरकारसंग माग गर्दछ,” महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्टिल रोलिङ मिल तथा एम एस वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगहरू लगायतका उद्यम व्यवसाय बजेटमा गरिएका व्यवस्थाका कारण बन्द हुने अवस्थामा पुगेको पनि महासंघले जनाएको छ । यद्यपी यस विषयमा बिराटनगरका उद्योग व्यवसायमा आबद्धहरुका सबै संघ संगठन तथा ट्रेड युनियनहरुले पहिलेदेखि नै बिरोध जनाउँदै आन्दोलन सुरु गरिसकेका छन् ।

बजेट संशोधनको माग गर्दै विराटनगरका उद्योगीद्धारा विरोध प्रदर्शन (भिडियो)

बजेट वक्तव्यमा एमएसवायर उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ आयातमा भन्सार महसुल ५ बाट १० प्रतिशत र अन्तःशुल्क प्रतिटनमा २ हजार ५ सयबाट ४ हजार ५ सय पु¥याईदा वायर स्टिल उत्पादन गर्ने उद्योगले आयातित वस्तुहरूसंग प्रतिस्पर्धामा समस्या हुने देखिन्छ ।

प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत भंसार महशुल कायम गरी उक्त आयल प्रयोग गर्ने उद्योगहरुलाई सिधै आयात गर्न दिने नीतिले सञ्चालनमा रहेका वनस्पती घिउतेल उद्योगहरू गम्भीर संकटमा जाने महासंघको ठहर छ । “यो, स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी वस्तुुमा कम्तीमा १ तहको फरक भंसार दर कायम गर्ने सरकारको नीतिको विपरित पनि छ,” महासंघले भनेको छ ।

“स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगहरूले तिर्दै आएको भन्सार महसुल, अन्तःशुल्क तथा कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुल यथावत राखी तयारी प्याड आयातमा लाग्ने भंसार शुल्कमा ९० प्रतिशतसम्म छुट दिदा स्वदेशी उद्योगको प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आई उद्योग नै बन्द हुने परिस्थिति सृजना भएको छ, महासंघले भनेको छ । उता बिराटनगरका उद्योगीहरुले यही समस्याका कारण एक महिनामा उद्योग बन्द हुने भन्दै उद्योगमा आश्रित कर्मचारी तथा मजदुरहरुलाई वैकल्पिक रोजगारीको सुझाव दिइसकेका छन् ।

भन्सारमा अन्तःशुल्क लगाउने व्यवस्थाले गर्दा विभिन्न तहमा हुने औद्योगिक उत्पादनलाई प्रत्यक्ष असर पर्ने भएकाले कच्चा पदार्थमा भन्सारमै अन्तःशुल्क लगाउने व्यवस्था अन्त्य गर्न पनि महासंघले माग गरेको छ ।

आगामी आर्थिक वर्ष निर्यात दोव्वर गर्ने, आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने भनि बजेटमा उल्लेख भएकोमा उत्साहित भएका उद्यमी व्यवसायीलाई यी प्रावधानले निराश बनाएको उसको भनाई छ ।

“दर्जनौं स्वदेशी उद्योग व्यवसाय सदाका लागि बन्द भई हजारौ रोजगारी गुम्ने अवस्था देखिएको हुदा यस्ता प्रावधानलाई तत्काल संसोधन गर्न महासंघ सरकारसंग जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।