स्रोत र साधनको पहुँचमा सहकारीको भूमिका महत्वपुर्ण : गृहमन्त्री खाण


गृहमन्त्री बालकृष्ण खाणले सर्वसाधारणको स्रोत र साधनको पहुँचमा महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । बचतबाट स्रोत र साधनलाई उर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र रहेको मन्त्री खाणको भनाई छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजना र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह–आयोजनामा सुरु भएको चौथो साकोस शिखर गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री खाणले नागरिकको जीवन परिवर्तमानमा सहकारीको भूमिका रहेको बताए ।

नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने काममा सहकारी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको उनको भनाई छ ।

सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सम्पूर्ण सहकारीकर्मीलाई मन्त्री खाणले आग्रह गरे । गृहमन्त्री खाणले नागरिकको जीवनस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उनले विगतका महिलालाई सशक्त बनाउँदै समाज सुधारमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गरे । 

राज्यले गर्न नसकेको काम सहकारीले गरेको भन्दै गृहमन्त्री खाँणले सहकारी अभियानप्रति सरकार सकारात्मक रहेको पनि बताए । उनले नागरिकलाई समूहबद्ध गराउनाका साथै क्षमता विकास, सम्पत्तिको मालिक बनाउने स्रोतसाधनमाथि पहुँच स्थापित गर्नमा सहकारी अभियानले ठूलो सहयोग गरेको बताए ।

कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले पछिल्लो समय सहकारीहरुले गरेको गलत कामको गुनासो बढ्दै गएको बताए । सहकारीहरीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएको लगायतका गुनासो बढ्दै गएको भन्दै त्यसतर्फ सचेत हुन सहकारी संस्थाहरुलाई आग्रह गरे । आफुलाई बैंक नठान्न र बैंकको जस्तो अभ्यासले सहकारीको भलो नहुने उनको भनाई थियो ।

“एउटा सहकारीका कारण सबै सहकारी बदनाम हुने अवस्था नआउनेतर्फ विचार गर्नुपर्यो” पण्डितले भने । हालै सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न उनले आग्रह गरे ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोभिड महामारीले सृजना गरेका वित्तीय सक्षमता, स्थिरता र स्वस्थताका विषयको यथोचित सम्बोधन गर्ने दाबी गरे । साकोस अभियानको शक्ति, सामथ्र्य र सहनशीलताको बलमा चुनौतीहरु सामना गर्न सकिने विश्वास उनको छ । अध्यक्ष पौड्यालले कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरणसँगै छुट्टै साकोस ऐनको आवश्यकता रहेको बताए ।

आइतबार सुरु भएको साकोस शिखर गोष्ठी सोमबारसम्म चल्नेछ । गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ । कोभिड चुनौतीपछि सहकारीमा प्रविधिको आवश्यकता बढेकोले गोष्ठीका सबै कार्यपत्रहरुमा प्रविधिलाई विशेष प्राथमिकता दिइएको नेफ्स्कूनले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।