नेपाल बीमक संघले ‘ननट्यारिफ’ दरको सर्वपक्षिय बैठक किन गर्यो बहिष्कार ?

0
Shares

नेपाल बीमक संघले जेठ ३१ गते दिउँसो २ बजे बीमा समितिको कार्यालयमा बसेको ननट्यारिफ व्यवसायको दरको सर्वपक्षिय बैठक बहिष्कार गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्षले तल्लोस्तरका अमर्यादित शब्दहरु प्रयोग गरि आरोप लगाउँदै बीमक संघका पदाधिकारीहरुले मंगलबारको बैठक बहिष्कार गरेका हुन् ।

नियामक निकाय बीमा समितीको पहलमा बसेको पटक पटकको बैठकमा क्यानका प्रतिनिधीले अमर्यादित शब्दहरु प्रयोग गर्ने, बाहुवलको प्रदर्शन गर्ने, सामान्य मर्यादा समेत पालना नगरेको भन्दै बीमक संघले खेद प्रकट समेत गरेको छ । बैठकमा पटक पटल जहाँ अफठ्यारो छ सो विषयमा वार्ता गरि समस्या फुकाउन मर्यादित पहल गर्दा गर्दै पूनः क्यानका अध्यक्षले तल्लोस्तरका अमर्यादित शब्दहरु प्रयोग गरि आरोप लगाएको भन्दै बैठक बहिष्कार गर्न बाध्य भएको संघले जनाएको छ ।

बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमा समितिले जारी गरेको बेसलाईनमा पटक पटक छलफल भैरहेको र एउटा मर्कामा रहेकोमा बेसरेट परिमार्जन समेत भएको अवस्था भएपनि एफक्यानका प्रतिनिधिले छलफलमा भाग लिनै नचाहेको बताए ।

उनले भने, “नेपाल यसैपनि बाढी, पहिरो तथा जलवायु परिवर्तन जस्ता प्राकृतिक जोखिमको बढेकाले दर बढेकाले पुरानो दररेटमा काम गर्नसक्ने अवस्था छैन । अन्तर्राष्ट्रिय अभ्यास र अहिलेको नाफा घाटाको अवस्थाका आधारमा दर समायोजन गर्न हामीहरुतयार नैछौं । तर उहाँहरु इस विषयामा कुरा गर्न तयार नै हुनुहुन्न ।”

कुनै विषयमा कुनै निकायलाई अफ्टयारो वा मार्का पर्न जाँदा सोसँग सम्बन्धित निकायमा छलफल गरि सभ्य र मर्यादित तरिकाले छलफल गरि निकास निकाल्न बीमक संघ सँधै तयार रहेको जनाइएको छ ।  संघले विगत पाँच वर्ष देखि हाइड्रो तथा ईन्जिनियरिङ्ग बीमामा अत्यधिक क्षति भएको कारण राम्रा स्तरका पूनर्बीमा कम्पनीहरुले नेपालको व्यवसाय गर्न छाड्न थालेको अवस्थाले बीमा क्षेत्र नै तहसनहस हुनसक्ने अवस्थालाई मध्यनजर गरि नियामक निकाय बीमा समितिले उपरोक्त व्यवसायहरुमा न्यूनतम दररेट जारी गरेको जनाएको छ ।

संघले कुनै पनि क्षेत्र तहस नहस हुने अवस्था आउँदा नियामक निकायले बीमाको न्यूनतप दर रेट तोकेको प्रशस्त दृष्टान्तहरु रहेको र सोही अनुसार बीमा समितिले पनि दर रेट तोकेको जनाएको छ । छिमेकी मुलुकहरुमा समेत न्यूनतम दर रेट कायम रहेको संघले जनाएको छ । बीमा समितिले वृद्धि गरेको दर रेटमा नेपालका हाइड्रो तथा ईन्जिनियरिङ्ग बीमासँग सम्बन्धित इपान तथा क्यानले विरोध जनाए पश्चात सो विषयलाई समाधान गर्न बीमा समिती तथा बीमक संघले पटक पटक छलफलको लागि आग्रह गरेपनि अझैपनि निष्कर्ष भने निष्काल्न सकेको छैन ।

यता नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नोटबजारसँग कुराकानी गर्दै बीमक संघको प्रभावमा बीमा समितिले जारी गरेको निर्देशिकाले सम्पूर्ण बीमा गर्नेहरुलाई समस्या आउने, बीमाको दररेट साबिकको दररेटभन्दा चार पाँचगुणा बढाएको तर क्षतिप्रर्ति भने दिनु नपर्ने गरी परिमार्जन गरिएको बताए ।

उनले भने, “हामीले यो निर्देशिका खारेज गर्नुपर्छ भनेर हामीले आजभन्दा तीन महिना अगाडि होटल क्राउनमा सहमति पनि गरेका थियौं । तर बीमक संघको प्रभावमा फ्रि ट्यारिफबाट ट्यारिफ लैजान खोजीएकाले यसले निर्माण लागत बढ्न जाने, तथा स्वच्छ प्रतिस्पर्धा हुँदैन ।”

एफक्यानका अध्यक्ष सिंहले हालको दररेटमा बीमा गर्दा राज्यले खर्च गर्ने पुर्वाधारको लागत बढ्ने र प्रवर्दकहरुलाई पनि ठूलो नोक्सानी गर्ने भएकाले बीमा समितिले जारी गरेको निर्देशिका सरासर खुला बजार नीति विपरित रहेको दाबी गरे । “यसले बजारलाई खुला छाड्नभन्दा कार्टेलिङ्ग गर्न मदत्त गर्छ । ” उनले भने, “सबै निर्जीवन बीमा कम्पनीको मिलोमतोमा यो दर लागू गरिएको छ जसमा कुनै प्रतिस्पर्धा छैन र बीमा समितिको निर्देशिका अनुसार बीमा गर्न बाध्य छौं । ”

बीमा समितिले गत असोज ६ गते निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको ननट्यारिफ व्यवसायको न्यूनतम दर निर्देशिका फिर्ता लिन माग गर्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघ (एफक्यान) आन्दोलनरत छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।