बिहीबार सुरु हुने चेम्बर एक्स्पोको प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने, निर्यात प्रवर्द्दनको लक्ष्य


बिहीबारदेखि ५ दिनसम्म चल्ने चेम्बर एक्स्पोको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने भएका छन् । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा बिहीबार बिहान ११ बजे प्रधानमन्त्री शेर बहादुर देउवाले एक्स्पोको उद्घाटन गर्ने नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।

पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” ले नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिने पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजन हुने एक्स्पो पाँच दिन अर्थात असार ६ गतेसम्म चल्नेछ ।

विगतका राजनीतिक उपलब्धीहरुलाई आत्मसात गर्दै नेपाल अब आर्थिक सम्बृद्धितर्फ उन्मूख हुँदै गरि रहेको परिपेक्षमा राष्ट्रको सर्वाङ्गिण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेकाले एक्स्पो आयोजना गरिँदै आइएको चेम्बरले जनाएको छ ।

पछिल्ला चार संस्करणहरूको सफलता पुर्वक आयोजना गरी सकेपछि चेम्बर अफ कमर्शले मेलाको पाँचौ संस्करणमा व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ ।

एक्सपोमा अन्तराष्ट्रिय व्यापारीक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिबृद्धि गर्ने उद्देश्य लिई चेम्बर अफ कमर्शले प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारीक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उद्देश्य राखेको जनाएको छ ।

बंगलादेश पार्टनर कन्ट्री रहेको यस वर्ष वाणिज्य मन्त्रालय र इपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् । एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम एप्लाइन्सेस, फेसन वेयर एण्ड एसेसरिज, गार्मेन्ट एण्ड टेक्सटाइल, मोबाइल एण्ड ग्याजेट्स, एफएमसिजी, हाइड्रो, लजिस्टिक, ह्याण्डिक्राफ्ट एण्ड ह्याण्डलुमस, सुज एण्ड लेदर आइटम, कस्मेटिक्स, फुड एण्ड डेरी प्रडक्ट्स आदि सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको चेम्बरले जनाएको छ ।

“नेपाल चेम्बर एक्स्पो २०२२” को गोल्ड स्पोन्सर हुलास हिप्को सुपरबिल्ड रहेको छ । यस्तै मेलाको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स रहेको छ र लर्निङ पार्टनरको रुपमा ब्रोडवे इफोसिस रहेको छ भने एक्स्पोको सम्पुर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको छ ।

एक्स्पोमा १५० वटा स्टलहरू रहने छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने एक्स्पो नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू पनि रहने आयोजक पक्षले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।