नेप्सेले स्वीकृत गर्‍यो सेयर कारोबार विनियमावली, असार ५ देखि लागू हुने


नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) थप गरी स्वीकृत गरेको सेयर कारोबार विनियमावली २०७५ असार ५ गते आइतबारदेखि लागू हुने भएको छ । बोर्डले पठाएको विनियमावली नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो ।

नेप्सेको गत साता सम्पन्न सञ्चालक समितिको बैठकले स्वीकृत गरेको उक्त विनियमावली लागू भएपछि ब्रोकर आफैँले टीएमएस बनाउन सक्ने भएका छन् ।

विदेशी कम्पनीबाट विकास गरएिको टीएमएस स्थापना गर्ने भएमा एक करोड रुपैयाँ चुक्ता पुँजी भएको स्थानीय प्रतिनिधि हुनुपर्छ । यसरी विदेशी विकासकर्ताले विकास गरेको टीएमएस भएमा कारोबार सदस्य अनुसार डाटा स्टोर हुनेगरी डेडिकेटेड कारोबार व्यवस्थापन प्रणाली जडान भएको हुनुपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।

नेप्सेको विनियमावली लागू गर्ने निर्णय गरेसँगै आइएमई समुह र वाइकोको मिलिभगतमा औपचारीक ‘ब्रेक’ लागेको छ । नेप्सेले धितोपत्र बजारको कारोबार व्यवस्थापन प्राणली, तथ्याङक प्रयोग लगायत विषयलाई समेटेर धितोपत्र कारोबार विनियमावली २०७५ लाई संसोधनको मस्यौदा धितोपत्र बोर्डमा पठाएको थियो । सो मस्यौदामा बोर्डले आवश्यक संशोधन गरेर स्वीकृत गरेपछि नेप्सेले लागू गरेको हो ।

विनियमावलीको परिच्छेद २ पछि २ ‘क’ थप गरेर धितोपत्र बजारमा प्रयोग हुने प्रविधिको सम्बन्धमा व्यवस्था थप गरिएको छ ।

विनियमावली अनुसार कारोबार व्यवस्थापन प्रणाली एक स्टक एक्सचेन्ज र १० वटा कारोबार सदस्यले प्रयोग गरिराखेकोलाई हुनु पर्ने व्यवस्था छ । हाल धितोपत्र दलाल कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली प्रयोग गरीरहेका छन् ।

नेप्सेको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्रालि हो । हाल ब्रोकरले प्रयोग गर्दै आएको कारोबार व्यवस्थापन प्रणाली नेप्सेकै अनलाइन कारोबार प्रणाली कै एक हिस्सा हो । नेप्सेको अनलाइन कारोबार प्रणाली र कारोबार व्यवस्थापन प्रणाली दुबैको मर्मत सम्भार वाइकोले नै गर्दै आएको छ । यो बीचमा वाइकोले आइएमइ समुहसँग मिलेर नयाँ कम्पनी वाइको सोलुसन र इसेयर स्थापना गरेर कारोबार व्यवस्थापन प्रणाली तथा ब्रोकर ब्याक अफिसको सेवा दिँदै आएको छ ।

नेप्सेको कारोबार प्रणाली, कारोबार व्यवस्थापन प्रणाली तथा धितोपत्र दलाल कम्पनीको ब्याक अफिसको मर्मत सम्भार लगायतका सेवा दिने कम्पनी आइएमई समुहसँग मिलेर बजारमा प्रयोग हुने प्रविधिमा एकाधिकार गर्ने प्रयासमा थिए । विनियमावलीले भने अनलाईन कारोबार प्रणाली, कारोबार व्यवस्थापन प्रणालीको विकासकर्ता र मर्मत सम्भार गर्ने कम्पनी एउटै हुन नहुने व्यवस्था गरेको छ । यसले वाइकोले आइएमइ समुहसँग मिलेर सुरु गरेको गलत अभ्यसमा पनि पुर्णविराम लागेको छ ।

विनियमावली अनुसार टीएमएस विकासकर्ता कम्पनीको पछिल्लो तीन वर्षको औसत कारोबार ७ करोड रुपैयाँ भएको हुनु पर्छ । अन्तराष्ट्रिय विकासकर्ता भएको खण्डमा नेपालमा रहेको स्थानिय प्रतिनिधिको हकमा एक करोड रुपैयाँ चुक्ता पुँजी भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी विनियमावलीमा कारोबार व्यवस्थापन प्रणाली प्रयोग गर्दा लाग्ने शुल्क समेत तोकिएको छ । विनियमावलीले नेप्सेको टीएमएस प्रयोग गर्ने ब्रोकरका लागि ५० हजार र अन्य कम्पनीले प्रयोग गर्दा एक लाख शुल्क लाग्ने व्यवस्था गरेको छ । त्यसैगरी मासिक शुल्कमा नेप्सेको टीएमएस प्रयोग गर्दा मासिक २५ हजार अन्य कम्पनीले १० हजारसम्म शुल्क लिन पाउने व्यवस्था विनियमावलीले गरेको छ ।

त्यसैगरी नेप्सेले उक्त विनियमावली कार्यान्वयनका लागि कार्यविधि समेत यार गरेको छ । कार्यविधि अनुसार कारोबार सदस्यले नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) प्रयोग गर्न वा आफ्नै प्रणाली विकास वा खरीद गरी प्रयोग गर्नका लागि नेप्सेको प्रणालीसँग जडान गर्न निवेदन दिनुपर्नेछ । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली प्रयोग गरिरहेका कारोबार सदस्यले यो कार्यविधि लागू भएको ३० दिन भित्र विनियमावलीमा तोकिएको दस्तुर सहित निवेदन दिनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । कारोबार सदस्यले पेश गरेको सूचना प्रविधि सम्बन्धी पूर्वाधार तथा सो सम्बन्धी विवरण नेप्सेले तीस दिन भित्र निरीक्षण तथा चेकजाँच गर्नेछ ।

त्यसैगरी कारोबार सदस्यले आफूसँग भएको प्राविधिक क्षमता, जनशक्तिको व्यवस्था, प्रणाली विकास वा खरीद परियोजनाको विस्तृत विवरण नेप्सेमा पेश गर्नुपर्छ । कारोबार सदस्यले सफ्टवेयरको प्राविधिक तथा सुरक्षा विशेषताका सम्बन्धमा नेप्सेमा प्रस्तुतीकरण गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । यसरी प्रक्रियागत रुपमा आएको टीएमएस नेप्सेले उपयुक्त देखेमा कारोवार सदस्यलाई एक महिनाभित्र प्रणाली खरीद वा विकास गर्न सैद्धान्तिक सहमतिको साथै प्रणाली जडान सम्बन्धी एपिआई डकुमेन्ट प्रदान गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।