‘लुकाइएको खराब कर्जा’ सतहमा आउने भएपछि बैंकिङ क्षेत्र तरंगित


बैंक तथा वित्तीय संस्थाले लुकाएका खराब कर्जा बाहिर आउने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोनाका कारण लचिलो नीति अवलम्बन गर्दा बैंकहरुको खराब कर्जा उच्चदरमा बढ्न पुगेको थियो । कोरोना कालमा दिइएका सहुलियतहरु राष्ट्र बैंकले कटौति गर्ने भएपछि बैंकहरुको खराब कर्जाको वास्तविक अवस्था बाहिर आउने भएको हो ।

कोरोनाका कारण ठप्प भएको आर्थिक कृयाकलापलाई गति दिन केन्द्रीय बैंकले बजारमा नगद प्रवाह बढाउने नीति अबलम्बन गरेको थियो । सोहीअनुसार बैंक वित्तीय संस्थाले पनि अत्याधिक कर्जा प्रवाह गरे । त्यसको असर अहिले विदेशी विनिमय सञ्चिती र उच्च व्यापार घाटामा देखिएको छ ।

कोरोना प्रभावितलाई सहुलियत दिन केन्द्रीय बैंकले कर्जा प्रवाहका मापदण्ड खुकुलो मात्र बनाएन, कर्जालाई पुनर्तालिकीकरण र पुनरसंरचना गर्न लगायो । त्यसका साथै कर्जाको साँवा व्याज भुक्तानी अवधिमा समेत लचकता अपनायो । यसले गर्दा पुरानो खराब कर्जालाई नबीकरण गरेर बैंकहरुले असल कर्जामा देखाउने अभ्यासलाई प्रोत्साहन मिल्यो ।

वित्तीय क्षेत्रले पाउँदै आएका नियामकीय सुविधाहरुको अवधि सकिँदै, बल्झिदै समस्याहरु

पछिल्लो समयमा केन्द्रीय बैंकले आन्तरिक तथा बाह्य वित्तीय क्षेत्रमा समस्या देखिन थालेपछि कोरोनाका कारण दिइएका सहुलियतहरु कटौति गर्दै गएको छ भने आयात निरुत्साहनका लागि प्रतितपत्रदेखि अनुत्पादक क्षेत्रको कर्जाको जोखिम भार बढाएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाले लुकाउँदै आएको खराब कर्जाको वास्तविक अवस्था बाहिर आउने स्थिति बनेको हो ।

चालु आर्थिक वर्षको समाप्तिसँगै अधिकांश नियामकीय सहुलियतहरुको अवधि पनि सकिँदैछ । त्यसका साथै आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र जोगाउनका लागि भए पनि कसिलो ल्याउनु पर्ने बाध्यता केन्द्रीय बैंकलाई छ । सहुलियत कटौतीसँगै कसिलो मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा बैंक वित्तीय संस्थालाई थप व्यवसाय बिस्तार गर्न जटिल हुने देखिन्छ । नयाँ व्यवसाय बिस्तार नहुने र पुरानो डिफल्ट दर बढ्दै जाने जोखिम बढेसँगै बैंकरहरु चिन्तामा देखिन थालेका हुन् ।

खराब कर्जाको वास्तविक अवस्था बाहिरिने भएसँगै बैंकिङ क्षेत्रमा तरंग पैदा भएको एक बैंकर बताउँछन् । “अहिले राष्ट्र बैंकले सबैतिरबाट कस्न थालेपछि कसरी व्यवसाय बढाउने चिन्ता त छँदैछ, अर्कातिर ऋण तिर्नलाई दिइने कर्जामा पनि कडाई भएपछि खराब कर्जा बढ्ने अवस्था देखियो” ती बैंकरले भने, “नबीकरणले छोपिएको खराब कर्जा लुकाउन नसक्ने अवस्था बनेपछि हामी पनि यस्तै मुद्धामा बढी छलफल गर्न थालेका छौं, विकल्प त खोज्न पर्यो ।”

सम्पत्तिको मूल्य बढाउने गरी कर्जा तिर्नका लागि कर्जा दिदाँ कर्जा विस्तारको तुलनामा उत्पादन नबढेपछि केन्द्रीय बैकले त्यस्तो चलाखीमा निगरानी सुरु गरेको हो । कर्र्जा तिर्नका लागि कर्जा दिँदा उच्च आयात तथा सम्पत्तिको मूल्यमा मात्र सुधार आएको भन्दै अनुत्पादन क्षेत्रको कर्जालाई नियन्त्रण गर्ने नीति लिए पछि यस्तो अवस्था बनेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवर्षिक समिक्षा मार्फत आगामी असार देखि लागु हुने गरी कर्जाको प्रकृति अनुसार ५० देखि ७५ प्रतिशत विन्दुले जोखिम भार बढाइएको छ । सो अनुसार अनुत्पादक क्षेत्रका कर्जाको जोखिम भार १२० प्रतिशत देखि १५० सम्म कायम गरिएको छ । यसरी जोखिम भार बढ्ने कर्जामा सेयर धितो कर्जा, ओभरड्राफ्ट, रियल स्टेट तथा हाउजिङ तथा ट्रष्ट रिसिप्ट कर्जा रहेका छन् । यसको असर अहिले देखिन थालेको छ । आगामी असार देखि लागु हुने भएपनि बैंकहरुले कर्जाका लागि कर्जा दिने अभ्यासलाई न्यूनिकरण गर्ने क्रममा व्यक्तिगत ओभरड्रफ्ट कर्जालाई टर्म लोनमा परिणत गर्न थालेका छन ।

डिफल्ट हुने र भएको कर्जालाई पनि अर्को शिर्षकमा कर्जा दिएर नविकरण गर्ने वा चुक्तागर्न लगाउने बैंकहरुको चलाखीले लुकेको खराब कर्जाको जोखिमभारको स्थिति पनि बाहिर आउने भएको हो । बैकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा प्रवाह दर धेरै हनु पनि कर्जाका लागि कर्जा लिने अभ्यास नै हो । पछिल्लो समयमा वित्तीय प्रणालीबाट ३० प्रतिशतले कर्जा विस्तार हुँदा पनि कुलग्राहस्थ उत्पादनमा योगदान नदेखिएपछि कर्जाको जोखिमभार वृद्धिले बैंकहरुको असली खराब कर्जाको आकार बाहिर आउने अवस्था बनेको हो ।

अन्तराष्ट्रिय मु्रदा कोषले पनि नेपाली बैंक वित्तीय संस्थाले कर्जाको इभरग्रिनिङको गर्ने विषयलाई उठान गरिसकेको छ । हाल बैंकिङ क्षेत्रको खराब कर्जा कुल कर्जाको १.४४ प्रतिशतमात्र छ । कर्जा भुक्तानी गर्न कर्जा दिने तथा कोरोना कालमा राष्ट्र बैंकले देखाएको लचकता कडाईमा परिणत भएसँगै बैंकहरुको खराब कर्जाको वास्तविक अवस्था बाहिर आउन सक्ने बैंकिङ विज्ञ बीएन घर्ती बताउँछन् । “नेपाली बैंकको खराब कर्जा १.४ को अनुपातमा रहनु कति वास्तविक होला? अनुमानगर्न सकिन्छ,” घर्ती भन्छन्, “समस्या बढ्दै गएका बेला बढेको नियामकीय भूमिकाले असार मसान्तसम्ममा बैंकहरुको खराब कर्जा धेरै बढेर आउने अवस्था देखिएको छ ।”

बैंक वित्तीय संस्थाले कर्जा भुक्तानीका लागि दिएको कर्जा रोकिनासाथ खराब कर्जाको बास्तविक आँकडा बाहिर आउने राष्ट्र बैंकका एक अधिकारी बताउँछन् । “बैंक वित्तीय संस्थाहरुले खराब कर्जा लुकाउनका लागि पनि कर्जा नै दिने गरेका छन्,” उनले भने, “यो विषय समग्र वित्तीय प्रणालीका लागि घातक हो ।” सुपरभिजनको क्रममा त्य्स्तो पाइएको खण्डमा त्यसलाइ प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरिएको र ओभर ड्राफ्टलाई पनि कडार्ड गरिएको जानकारी दिए ।

बैंकहरुले आयातका लागि पनि कर्जा दिने र खपतका लागि पनि कर्जा दिने अभ्यास बढाए पछि प्रोभिजनिङ नगर्न कर्जा तिर्न कर्जा दिने र खराब कर्जा लुकाउने अभ्यास बढेको थियो । बैंकहरुले खराब कर्जा लुकाउने र प्रतिफल खाने अभ्यासलाई बढावा दिएसँगै वित्तिय क्षेत्रको जोखिम बढेपछि केन्द्रीय बैंकले त्यसलाई लगाम लगाउन खोजेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।