मर्जर र प्रिमियममा कर लाग्ने/नलाग्ने टुङ्गो लेखा उप-समितिले लगाउन सकेन

0
Shares

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको उप-समितिले मर्जर तथा प्राप्ति र सेयर प्रिमियमबाट बोनस सेयर वितरण गर्दा कर छली भएको विषयलाई थाति राखेको छ । उप–समितिले लेखा समितिमा छलफल गरेपछि मात्र टुङगाउने भन्दै महालेखा परीक्षकको ५८ औ प्रतिवेदनको छलफल सकाएको हो ।

महालेखा परीक्षकको कार्यालयले ५८ औ प्रतिवेदनमा गाभ्ने गाभिने क्रममा भएको लाभबाट तिर्नुपर्ने कर नतिरेको भन्दै बेरुजु देखाएको छ । त्यसैगरी प्रिमियम मूल्यमा साधारण सेयर, नयाँ निष्कासन तथा बोलकबोल मार्फत सेयर बिक्री गरेका कम्पनीले सो प्रिमियमबाट लाभांश स्वरुप बोनस सेयर वितरण गर्दा कर तिर्नुपर्ने नतिरेको औंल्याएको थियो ।

सार्वजनिक लेखा समितिको उप–समितिले महालेखाको ५८ औ प्रतिवेदन उपर छलफल सुरु गरेर सकेको भएपनि यी दुई विषयमा छलफल नै नगरी लेखा समितिमा छलफल गर्ने भन्दै थाती राखेको छ । नेपाली काग्रेसका सांसद राजेन्द्र केसीको संयोजकत्वमा बनेको उक्त उप–समितिले महालेखाले देखाएका अन्य विषयका बेरुजुको सन्दर्भमा निर्णय गरे पनि मर्जर/प्राप्ति तथा प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दाको सन्दर्भमा अर्थमन्त्रालय र महालेखासंग लिखित विवरण माग गरेको थियो । सो विषयमा महालेखा कर लाग्ने भन्दै स्पष्ट विवरण सहितको लिखित जवाफ दिएको भएपनि अर्थमन्त्रालयले भने हालसम्म पनि कुनै लिखित जवाफ पठाएको छैन् ।

अर्थमन्त्रालयको तर्फबाट लिखित जवाफ नआएपछि उप–समितिले पटक–पटक छलफलको मिति तोके पनि छलफलको विषय हुन सकेको थिएन । उप–समितिले हाल ५८ औ प्रतिवेदन उपरको छलफल सकाएर ५७ औ र ५६ औ मा लागेको सार्वजनिक लेखा समिति सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले बताए ।

मर्जर तथा प्रिमियमको विषयलाई समितिगत रुपमा महालेखा परीक्षकसंगै छलफल गर्ने पाण्डेले बताए । “यस विषयमा शुक्रबार मात्र सार्वजनिक लेखा समितिका सभापति संग छलफल भएको छ,”उनले भने,“संवेदनशील विषय भएको हुनाले समितिमा नै छलफल भएपनि निर्णयमा पुग्ला ।” त्यस सन्दर्भमा आवश्यक कागजात संकलन भएको समेत उनले बताए । सचिवालयले छलफलको नोट बनाएपछि समितिगत तहमा नै छलफल हुने भएकाले तुलनात्मक रुपमा वृहत विषय बनेको उनको बुझाई छ । हाल ५८ औ प्रतिवेदनका अन्य सबै विषयमा छलफल सकेर उपसमितिले ५७ औ र ५६ औ प्रतिवेदन उपर छलफल गर्न थालेको उनले जानकारी दिए ।

महालेखाको ५८ औ प्रतिवेदनले सेयर प्रिमियमबाट भएको आम्दानीबाट लांभश वितरण गर्दा आयमा देखाउनु पर्ने उल्लेख गरेको छ । कम्पनीहरुले त्यसो नगरी सिधै सेयर प्रिमियम रिभर्जबाट बोनस सेयर वितरण गर्र्दै आएपछि कर छली भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी मर्जरबाट भएको लाभमा पनि आयमा देखाउनु पर्नेमा बैंक वित्तीय संस्थाले कर छुट भएको भन्दै इक्वीटी समायोजन अन्तर्गत राखेपछि प्रचलित लेखामान भन्दा विपरित काम गरेर कर छली गरेको ठहर महालेखाको छ ।

महालेखापरीक्षकको कार्यालयले आर्थिक २०७५/०७६ र २०७६/७७ मा गरेर पछिल्लो ५ आर्थिक वर्षमा ३८ कम्पनीले मर्जरमा भएको लाभ तथा नाफा बाहेकको आम्दानीमा लाभांश वितरण गर्दा सरकारलाई तीर्नुपर्ने करिब ११ अर्ब रुपैयाँ नतिरेको औल्याएको छ । यसमा मर्जर/प्राप्तीबाट भएको लाभमा कर नतिर्ने १८ वाणिज्य बैंक रहेका छन् । सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा २४ बैंक तथा १२ बीमा कम्पनीले कर तीरेका छैनन् । यी मध्ये अधिकासं कम्पनीहरुका लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदन अनुसार उक्त कर तिर्न नपर्ने उल्लेख गरेका छन् । तर, केही कम्पनीका लेखापरीक्षण प्रतिवेदनमा भने विजनेस कम्बीनेशनबाट भएको लाभलाई बार्गेइन पर्चेजमा देखाइएको पनि छ ।

यस आधारमा विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि मर्जरबाट हुने आय र प्रिमियमबाट हुने आयको कर बेरुजु हुन आउछ । धितोपत्र बजारमा सुचिकृत अधिकांस संगठित संस्थाहरुले २ किसिमको आम्दानीको कर मात्र अर्बौ बेरुजु हुन आउछ । यसमा जलविद्युत कम्पनीका साथै हकप्रद शेयर निष्काशन गरेर लिलामीबाट प्रिमियम संकलन गर्ने सबै संगठित संस्थाहरु पर्छन् ।

प्रिमियमबाट लाभासं वितरण गर्दा आयकर ऐन ५६ को उपदफा (३) मा कुनै निकायले कुनै हिताधिकारीलाई लाभांशको रूपमा मुनाफा बाहेकको लाभांश वितरण गरेमा त्यस्तो लाभांशको रकमलाई सो निकायको आय गणना गर्दा समावेश गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी लेखामान प्रतिवेदन अनुसार सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा आयमा देखाई कर तिर्नुपर्ने व्यवस्था छ । त्यसैगरी गाभ्ने/गाभिने प्रक्रियाबाट भएको लाभलाई बार्गेन पर्चेजमा देखाउनुपर्छ ।

लेखापरीक्षकहरुले मर्जरबाट भएको लाभलाई आयकर ऐनको दफा २२ र प्रचलित लेखामान भन्दा विपरित ‘स्टेटमेन्ट अफ चेन्ज इन इक्यूटी’ मा देखाएका हुन् । बैंकहरुले गाभिने संस्थाबाट भएको लाभलाई ‘गेन फ्रम बार्गेन पर्चेज’ को रुपमा नाफा नोक्सान खातामा देखाउनुपर्ने नेपाल लेखामान ३ को बिजनेश कम्बिनेशन व्यवस्थामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।