ऋण लिएर शेयरमा लगानी गर्दा जोखिम हुन्छ : मुख्यमन्त्री शाही


कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ऋण लिएर शेयरमा लगानी नगर्न आम लगानीकर्तालाई आग्रह गरेका छन् । नाफा कमाउने लोभमा ऋण लिएर लगानी गर्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सानो पूँजीबाट लगानीको शुरुवात गर्न लगानीकर्ताहरुलाई मुख्यमन्त्री शाहीले आग्रह गरे ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना तथा मर्चेन्ट बैकर्स एशेसियसन नेपालको सहयोगमा आयोजित एक दिने सचेतना कार्यक्रममा शाहीले लगानीकर्ता र बैंकहरुलाई संयमित भईदिन आग्रह गरे ।

“शेयर बजार कहिले बढ्छ, कहिले घट्छ, सधैँ एकनाशको हुँदैन”, उनले भने, “शेयर बजारलाई केही व्यक्तिमा सीमित गर्नु भएन, बजारमा पनि नियामक निकाय छ भन्ने आभास नियामकले पनि दिलाउनु पर्यो ।”

कर्णालीमा कम लगानीकर्ता रहेको अवस्थामा विकासको गति, पुँजीबजार सचेतना, बैंकिङ सुविधाको पहुँच बढ्नुपर्नेमा उनले जोड दिएका यसका लागि सबै तह र तप्काले सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वित्तीय अनुशासन कायम गर्ने दाबी गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गरी सात प्रदेशमा सबैभन्दा कम आकारको बजेट ल्याइएको बताए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या अनुसार सचेतनाको कमी रहेको बताए । देशव्यापी रुपमा पूँजीबजार सचेतना बिस्तारमा धितोपत्र बोर्डले सम्वद्ध निकायहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम अघि बढाएको उनले जानकारी दिए ।

अल्पकालीन लगानीभन्दा दीर्घकालीन लगानीलाई प्रथमिकतामा राख्न पनि उनले लगानीकर्तालाई आग्रह गरे ।

नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुरले शाहीले कर्णाली प्रदेशमा रहेका शेयर लगानीकर्ताहरुलाई सचेतनता जरुरी रहेको बताए । बजार विकासका लागि राज्यले नीतिगत व्यवस्थामा प्रभावकारी सुधार आवश्यक रहेको उनको भनाई थियो ।

नेपाल उद्योग परिसंघ कर्णाली प्रदेशका उपाध्यक्ष विष्णु खडकाले उद्योग धन्दा निराशाजनक रहेको बेला पूँजीबजार मार्फत औद्योगिक लगानीका लागि पूँजी संकलन गर्न शेयर बजारलाई प्रभावकारी औजारको रुपमा अघि बढाउन पर्नेमा जोड दिए ।

नेपाल मचेण्ट बैकर्स एसोशियसनका अध्यक्ष मेखबहादुर थापाले देशभर पूँजीबजारका लगानीको सचेतना अभिवृद्धिका लागि नेपाल आर्थिक पत्रकार संघसँगको सहकार्यमा कार्यक्रम संचालन गरेको भन्दै त्यसबाट लाभ लिन लगानीकर्ताहरुलाई आग्रह गरे ।

नाफिज र मर्चेण्ट बैंकर एशोसिएनले यस अघि १ प्रदेशको राजधानी बिराटनगरमा प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्र आयोजना गरेका थिए । आगामी दिनमा अन्य प्रदेशमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने आयोजक संस्थाहरुले जानकारी दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।