शेयर लगानीकर्ताद्धारा नक्सालदेखि बालुवाटारसम्म विरोध प्रदर्शन


पूँजी बजार सुधारको माग सहित आन्दोलनरत शेयर लगानीकर्ताहरुले आइतबार काठमाण्डौंमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल राष्ट्र बैंक घेराउ गर्ने कार्यतालिका अनुसार नक्सालको गहनापोखरीबाट सुरु भएको लगानीकर्ताको प्रर्दशन बालुवाटारतर्फ गएको हो ।

ठूलो संख्यामा रहेका लगानीकर्ताहरुले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कार्यान्वयनमा ल्याइएको मार्जिन कर्जाको ४ करोड र १२ करोडको सीमा हटाउन माग गरेका छन् । शेयर धितो कर्जाको सीमाका साथै नीतिगत रुपमा छिनछिनमा हुने हस्तक्षेप बन्द गर्न उनीहरुले माग गरेका छन् ।

पूँजी बजार सुधार संघर्ष समितिको व्यानर अग्रपंक्तिमा राखेर ठूलो संख्यामा लगानीकर्ताहरु सहभागि भएको र्‍यालीमा चर्को नाराबाजी भएको छ ।

स्वदेशी लगानीको सम्मान गर्न माग गरेका उनीहरुले नीतिगत भ्रष्टाचार बन्द हुनुपर्ने, सिसिडी अनुपात कायम गर्नुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, पूँजी बजारलाई व्यवस्थित गर्नुपर्ने, ब्रोकर कमिशन घटाउनु पर्ने लगायतका माग सहित जुलुस निकालेका हुन् ।

उनीहरुलाई निषेधित क्षेत्रमा पुगेपछि सुरक्षाकर्मीले अघि बढ्नबाट रोकेका छन् ।

गत जेठ २० गतेदेखि आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले विभिन्न किसिमका प्रदर्शन तथा अनसनलाई जारी राखेका हुन् ।

खुमलटारस्थित नेपाल धितोपत्र बोर्ड परिसरमा ५ दिन अघिदेखि लगानीकर्ता तिलक कोइराला अनसरत छन् । बजार सुधारकालागि १९ बुँदे माग सहित अनसनरत कोइरालाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

आइतबार गरिएका स्वास्थ्य परीक्षण कमजोर देखिएको खण्डमा कोइरालालाई अस्पताल भर्ना गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।