कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण


कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण गर्ने सहमति भएको छ ।

कुरियर व्यवसायीहरुको छाता संगठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको हो ।

संघका अनुसार अब कुरियर व्यवसायीहरुले प्रतिकेजी ३० रुपैयाँ तथा प्रतिडकुमेन्ट न्यूनतम २५ रुपैयाँ मात्र लिन पाउनेछन् ।

यसभन्दा कम दररेटमा सेवा प्रवाह गर्ने कुरियर कम्पनीहरुलाई संघले कारबाहीको प्रक्रिया अघि बढाउने संघका महासचिव राजकुमार सामरीले जानकारी दिए ।

महासचिव सामरीका अनुसार व्यवसायीहरुबीच वृहत छलफल र कानुन व्यवसायीहरुको सल्लाह लिएर कुरियर सेवा संघ र कुरियर सेवा प्रदायक कम्पनीहरुबीच न्यूनतम शुल्क लागू गर्नेसम्बन्धी सम्झौताको मस्यौदा गरिएको छ ।

कुरियर कम्पनीहरुले संघमा ५० हजार रुपैयाँ धरौटी राख्नुपर्ने र सम्झौता उल्लंघन गरेको पाइएमा २५ हजार रुपैयाँसम्म जरिवान गर्ने सम्झौतामा उल्लेख गरिएको छ । व्यवसायीले न्यूनतम शुल्कको सम्झौता पालना गरे नगरेको अनुगमन संघले गर्ने जनाइएको छ ।

संघले तय गरेको न्युनतम दररेट भन्दा कम दररेटमा बजारमा बुकिङ गरेको प्रमाणित भएमा कुरियरका मेलव्याग बोक्ने लोजिस्टिक कम्पनीहरुलाई अनुरोध गरि मेलव्याग ल्याउने,पु¥याउने सेवा बन्द गरिने सम्झौतामा उल्लेख छ ।

न्यूनतम शुल्क लागू नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने तथा विभिन्न शाखामा हुने डेलिभरीलाई समेत रोक लगाइने जनाइएको छ ।

“आन्तरिक तथा वाह्य कुरियर सेवा प्रदान गर्ने र यस व्यवसायलाई विश्वसनीय तथा व्यवस्थित बनाउने उद्देश्यले हामीले आन्तरिक रुपमा सम्झौता गरेका हौं,” संघका अध्यक्ष देवेन्द्र खड्काले भने, “यसबाट कुरियर व्यवसायमा अस्वस्थ प्रतिस्पर्धाको अन्त्य भइ विकृति नियन्त्रण हुने अपेक्षा छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।