मर्जरका लागि सबै बीमा कम्पनी योग्य, साखलाई सम्पत्तिमा गणना गर्न नपाउने

0
Shares

मर्जर तथा एक्विजिसनका लागि सबै बीमा कम्पनी योग्य भएका छन् । साधारण सेयर निष्कासन गरेका, नगरेका तथा बीमा कोष, अनिवार्य जगेडा कोष पुगेका र नपुगेका बीच पनि मर्जर हुन सक्ने समितिले स्पष्ट पारेको हो।

समितिले सोमबार निर्देशन जारी गर्दै साधारण सेयर जारी गरेका र नगरेका कम्पनी एकआपसमा गाभ्ने/गाभिने भए मर्जरपछि बन्ने संस्थाले जारी पुँजीको ३० प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको कायम रहने गरी आईपीओ निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी समितिले बीमा समितिबाट तोकेको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेका कम्पनीहरु समेत मर्जरका लागि योग्य हुने व्यवस्था गरेको छ । तर, गाभिएर वा प्राप्तिपछि बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए बमोजिम कायम गर्नुपर्ने निर्देशन समितिले दिएको छ ।

त्यसैगरी समितिले मर्जरको सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकहरुले गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियालाई मनासिव कारण सहित बीमा समितिको स्वीकृति नलिई आफूखुशी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न नपाउने व्यवस्था गरेको छ ।

सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकहरु सो प्रक्रियाबाट अलग हुन मनासीव कारण खुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा प्राप्ति समितिको सहमति सहित निवेदन पेश गरेको खण्डमा भने समितिले सैद्धान्तिक सहमति रद्द गरिदिन सक्नेछ । तर सो बीमकहरु मध्ये केही बीमकहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्तिका लागि सहमत भएको अवस्थामा बीमा समितिले औचित्यता हेरी ती बीमकहरुको लागि मात्र सैद्धान्तिक सहमति कायम राख्न सक्नेछ व्यवस्था गरेको छ ।

समितिले मर्जर सम्पन्न गर्ने समयबद्ध कार्यतालिका तयार गरी समितिमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । समय सीमा तोक्नुपर्ने विषयहरुमा मूल्याकंनकर्ताको नियुक्ति मिति र विवरण, मूल्यांकन प्रतिवेदन पेश गर्ने मिति, संयुक्त मर्जर समिति गठन गर्ने मिति र विवरण, मर्जर समितिको प्रतिवेदन पेश गर्ने मिति, प्रतिवेदन उपर संचालक समितिको निर्णय हुने मिति समेत तोक्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी विशेष साधारण सभाको मिति, अन्तिम सम्झौता सम्पन्न हुने मिति, गाभिए पछिको कम्पनीको प्रबन्धपत्र तथा नियमावली दर्ता तथा कम्पनी दर्ता प्रमाणपत्र प्राप्त गर्ने मिति,संयुक्त कारोबार सुरु गर्ने मिति समेत तोक्नु पर्ने व्यवस्था समितिले गरेको छ ।

समितिले निर्देशन मार्फत संयुक्त मर्जर समितिमा संस्थाका सञ्चालकहरु मध्येबाट कम्तिमा एकजना र बढीमा ३ जनासम्म सदस्य तोक्न सक्ने व्यवस्था गरेको छ । तर गाम्ने गाभिने कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक उक्त समितिको सदस्य हुन नपाउने व्यवस्था समितिले गरेको छ । कुनै विज्ञ व्यक्तिलाई आवश्यकता अनुसार राय सुझावको लागि उक्त समितिमा आमन्त्रित गर्न सकिने समितिले जनाएको छ ।

सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन प्राप्त गरेपछि संयुक्त मर्जर समितिले मूल्याङ्कन प्रतिवेदनमा सिफारिश गरिएको सेयर स्वाप अनुपातलाई यथावत स्वीकार गर्न सकिने व्यवस्था समितिले गरेको छ । तर व्यवसायको प्रतिष्ठा, कर्मचारीको योग्यता, बजार उपस्थिति, मुनाफाको इतिहास, पछिल्लो बजार मूल्य लगायतका आधारमा संयुक्त मर्जर समितिले मूल्याङ्कनकर्ताले सिफारिश गरेको गाभ्ने गाभिने संस्थाहरुको स्वाप अनुपात मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित खुद सम्पत्तिको बढीमा १० प्रतिशतले आधार नेटवर्थमा थपघट गरी गणना गरिएको समायोजित आधार नेटवर्थ बमोजिम संशोधित सेयर स्वाप अनुपात गणना गर्न सकिन्छ । संयुक्त मर्जर समितिले सेयर स्वाप अनुपात सम्बन्धमा निर्णय लिंदा साना लगानीकर्ताहरुको हित लाई समेत मध्येनजर गर्नुपर्नेछ ।

त्यसैगरी मर्जर प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याकंन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित मान्यता, आधार, मापदण्ड प्रचलित बजार मुल्यमा गर्नु पर्ने व्यवस्था समितिले गरेको छ । तर सम्पत्ति मूल्याङ्कन गर्दा ख्याति लाई समावेश गर्न नपाइने समितिले जारी गरेको निर्देशनमा उल्लेख छ ।

सम्पत्ति, कारोबार तथा मूल्याकन प्रतिवेदनमा पुंजी पर्याप्तता, नेटवर्थ, बीमालेख सम्बन्धी विवरण, बीमा दाबी भुक्तानी व्यवस्था तथा स्थिति, प्रचलित कानून तथा नियमनको पालना स्थिति, तरलता विवरण, जनशक्ति व्यवस्थापन, सूचना प्रविधि, व्यवसायको बजार अंश, सेयर स्वाप अनुपात, सेयरको बजार मूल्य, शाखा सञ्जाल, गाभ्ने गाभिनेमा संलग्न संस्थाको पछिल्लो पाँच आर्थिक वर्षको प्रमुख वित्तीय परिसूचकहरु र गाभिए पछिको पाँच वर्षको प्रक्षेपित वित्तीय कारोबार स्थिति विस्तृत विश्लेषण समावेश गर्नुपर्ने समितिले तोकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।