खाना पकाउने ग्याँसमा दोहोरो मूल्य कार्यान्वयन गर्दै आयल निगम


नेपाल आयल निगमले खाना पकाउने ग्याँसमा दोहोरो मूल्य प्रणाली छिट्टै कार्यान्वायनमा ल्याउने बताएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका सम्बन्धमा वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेश कुमार थानीले ग्याँसमा भएको घाटा न्यूनीकरणका लागि यस्तो गर्न लागिएको बताए ।

हाल निगमले व्यहोर्दै आएको घाटाको ठूलो हिस्सा ग्याँसमा भए पनि उपभोक्ताको चुल्होको विषय भएकाले व्यवसायिक प्रयोजन र घरायसी प्रयोजनका आधारमा ग्याँसमा दोहोरो मूल्य कायम गर्न लागिएको थानीको भनाई छ । ग्याँसको गन्ध, सिलिण्डरको रङ र आकार तथा तौलका आधारमा दोहोरो मूल्य निर्धारणको तयारी गरिएको उनले बताए । घरायसी प्रयोजनका ग्याँसमा सहुलियत दर कायम हुने र व्यवसायिक प्रयोजनका ग्याँसमा परल मूल्य निर्धारण गरिने उनले जानकारी दिए ।

दोहोरो मूल्यबारे अध्ययन गर्न गुणस्तर तथा नापतौलको महानिर्देशकको नेतृत्वमा गठित टोलीले काम गरिरहेको उनले जानकारी दिए । टोलीले अध्ययन प्रतिवेदन बुझाउना साथ यो प्रणाली अघि बढ्ने उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।