साउनदेखि पेट्रोलियम पदार्थमा पुर्वाधार करको सहुलियत नपाइने


आयल निगमले उपभोक्तालाई दिँदै आएको पुर्वाधार कर वापतको सहुलियत साउनदेखि हटाउने भएको छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यमा उक्त कर वापतको रकम १० रुपैयाँले कम गरी बिक्री गर्दै आएकोमा साउनदेखि छुट हटाउने भएको हो । योसँगै पेट्रोलियम पदार्थको मूल्य थप बढ्ने भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सम्बन्धमा सम्बन्धमा वाणिज्य तथा आपुर्ती मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश कुमार थानीले अल्पकालीन रुपमा उपभोक्ताले मात्र कर वापतको रकम सहुलियत पाएको बताएका हुन् ।

सरकारको निर्णय अनुसार जेठ १७ गतेदेखि पेट्रोलियममा पुर्वाधार कर वापत लाग्दै आएको १० रुपैयाँ अल्पकालीन भएको र सोको अर्थमन्त्रालयसँग सोधभर्ना गरिने उनले बताए ।

“हामीले जेठ १७ देखि पुर्वाधार कर वापतको रकम घटाएर इन्धन बिक्री गरिरहेका छौं,” उनले भने, “तर निगमले भन्सार विन्दुमा नै उक्त कर वापतको रकम भुक्तान गर्नु परिरहेको छ । असार मसान्तसम्म ४५ दिन उपभोक्तालाई दिइएको सहुलियतको निगमले अर्थ मन्त्रालयमा सोधभर्ना गर्छ ।”

अहिले समायोजन गरिएको मूल्य पुर्वाधार कर घटाएर नै गरिएको दाबी गरेका उनले आर्थिक ऐनले निर्दिष्ट नगर्दासम्म पुर्वाधार करमा साउनदेखि सहुलियत उपलब्ध नहुने प्रष्ट पारे ।

थानीको भनाईलाई आधार मान्ने हो भने अहिलेकै अवस्थामा पेट्रोलियम पदार्थको मूल्य रहने हो भने साउन पहिलो सातादेखि इन्धनको मूल्य १० रुपैंयाले बढ्नेछ ।

यसका साथै निगमले घाटापूर्ति गर्नका लागि साउनदेखि स्वचालित मूल्य प्रणालीलाई प्रभावकारिताका साथ कार्यान्वायन गरिने बताए । निगमको घाटा बढिरहेको अवस्थामा परल मूल्यमा इन्धनको बिक्री वितरण गर्नुपर्ने उनले बताए ।

पन्ध्र दिनको पेट्रोलियम व्यापारमा अढाई अर्ब घाटा छ : आयल निगम

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।