यस्ता छन् वायुसेवा सञ्चालक संघले उठाएका पाँच बुँदे माग

0
Shares

नेपाल वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी विभिन्न पाँच बुँदे माग राख्दै पूरा नगरे भोलिदेखि कुनै पनि उडान नहुने बताएको छ । सरकारले हठात आजको भोलि नै ल्यान्डिङ तथा पार्किङमा नया ब्यवस्था ल्याएको विरोधमा उडान नै नगर्ने निष्कर्षमा उनीहरु पुगेका हुन् ।

नागरिकहरुको दैनिक जीवन र सुरक्षा तथा राष्ट्रको विपद व्यवस्थापनसँग समेत जोडिएको वायुसेवा जस्तो अति संवेदनशिल क्षेत्रमा वायुसेवा संचालक संघलाई वेवास्ता गरी न्यूनतम परामर्श समेत नगरी एकतर्फी प्रावधानहरु बिना सूचना आदेशको रुपमा आउनु लोकतान्त्रिक मूल्यमान्यता र न्यूनतम् व्यावसायीकताको मर्म अनुरुप नभएको यस संघले ठहर गरेको छ ।

क्षेत्रीय विमानस्थलहरुको बढोत्तरी तथा स्तरोन्नती भएतापनि हवाईजहाज तथा हेलिकप्टरको मर्मत सम्भार तथा चेक जाँच गर्ने प्राविधिक पक्षहरु लगायत अन्य विविध भौतिक पूर्वाधारहरुको विकास भई नसकेकोले हालको अवस्थामा त्रि.अ.वि. बाहेकका विमानस्थलहरुमा रात्री विश्राम गरी उडान भर्न असमर्थ रहेको संघका अध्यक्ष रामेश्वर थापाले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणवाट जारी विज्ञप्तिबाट उत्पन्न समस्या निराकरणका लागि यस संघको पहल प्रति नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गरिएको वेवास्ता प्रति संघले खेद प्रकट गरेको छ । वायु सेवा सञ्चालक संघ नेपालले पाँच बुँदामा दिर्घकालिन समस्याहरु औल्याउँदै समस्या समाधानका लागि माग गरेको छ ।

१. विमानस्थल सेवा शुल्क नियमावली, २०७४ मा यात्र् सेवा शुल्क, ल्याडिङ्ग, पार्किङ्ग, नोमिनेशन, लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने ।

२. त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दिर्घकालिन हेलिप्याड, मर्मत संभारका लागि ह्याडर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने ।

३. मिति २०७९ असार ०५ को नेपाल नागरिक उडडयन प्राधिकरणको प्रेस विज्ञप्तिमा उल्लेखित आधार (अपरेटिङ्ग बेस) को प्रावधानहरु हवाई जहाज तथा हेलिकप्टर दुबै विमानसेवा कम्पनीहरुको हकमा खारेज गरी हालसम्म भई रहेकै व्यवस्था अनसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमानसेवा कम्पनीहरुले विना अवरोध सेवा यथावत सञ्चालन गर्न पाउनुपर्ने ।

४. नियामक निकाय र सेवा प्रदायक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरण एकै निकायबाट भई रहेको कारण यूरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहस नहस भई रहेकोले नेपाललाई यूरोपियन युनियनको हवाई सूरक्षाको सूचीबाट हटाउनका लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशिघ्र पहल गरिनु पर्ने ।

५. त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा नियमानुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाईसेवाका लागि प्रयोग गरी रहेका स्थान तथा संरचनाहरुलाई यथावत राखि प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने ।

माथि उल्लेखित मागहरु सम्बोधन नभएसम्म बाध्यात्मक रुपमा यस संघसँग आवद्ध सम्पूर्ण हलिकप्टर तथा हवाईसेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपतकालिन उद्धार लगायत नियमित उडानहरु असार ८ गतेवाट स्थगित गरिएको जनाएको छ ।

संघले नचाहँदा नचाहँदै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सृजित समस्यामा सम्बन्धित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत उदासिन देखिँदा सेवा प्रदान गर्न असमर्थ भएको जनाएको छ । उडान बन्द हुँदा सेवाग्राहीहरुलाई पर्न जाने असुविधाका लागि स्वयं मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण जवाफदेही रहेको संघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।