बीमा कम्पनी मर्जरको दबाबमा, लुम्बिनी जनरल र प्रभु लाइफले मर्जर प्रस्ताव सहित बोलाए साधारण सभा


बीमा कम्पनीहरूको चुक्ता पूँजी बढाउने निर्णयसँगै मर्जरको बाध्यतामा रहेका बीमा कम्पनीहरूले मर्जरका प्रस्तावलाई प्राथमिकतामा राख्दै साधारण सभा बोलाउन थालेका छन् । 

यस क्रममा प्रभु लाइफ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरका लागि उपयुक्त पार्टनर खोज्दै प्रकृया अघि बढाउने प्रस्ताव सहित साधारण सभा बोलाएका छन् । दुवै संस्थाले मर्जरका लागि आवश्यक सबै प्रकृया सुरु गर्नेदेखिका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारण सभाबाट अनुमोदन गराउनेछन् । 

प्रभु लाइफले असार २३ गते टङ्गालस्थित अम्रपाली ब्याङ्क्वेटमा बोलाएको विशेष साधारण सभामा पूँजी वृद्धिका साथै प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पारित गराउनेछ , विशेष साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले असार १६ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । 

उता लुम्बिनी जनरल इन्स्योरेन्सले असार २९ गते बोलाएको १७ औं वार्षिक साधारण सभाले मर्जरका प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गराउँदैछ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश बितरण गर्ने, १ अर्ब २५ करोडको अधिकृत पुँजी ३ अर्ब पुर्याउने प्रस्ताव पारित गर्दैछ । 

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले असार १५ गते १ दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । असार १४ गतेसम्म इन्स्योरेन्सको शेयर खरिद गर्नेले मात्र लाभांश पाउने छन् । 

इन्स्योरेन्सको साधारण सभाले स्वतन्त्र सञ्चालकमा  निर्मला देवी मानन्धरलाई गरेको नियुक्ति पारित गर्दैछ भने संस्थापकतर्फ ४ जना सञ्चालकहरू निर्वाचन समेत गर्दैछ । 

यस अघि नै निर्जीवन बीमा कम्पनीतर्फ एभरेष्ट र हिमालयन जनरलले मर्जरमा जाने सहमति गरिसकेका छन् । जीवन बीमातर्फ प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले पनि एक आपसमा मर्जरमा जाने सहमति गरिसकेका छन् । 

बीमा समितिले निर्जीवन र जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी बढाउने निर्णय गर्दै हकप्रदलाई निषेध गरेसँगै बीमा कम्पनीहरू मर्जरमा जाने दबाबमा परेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।