‘मौद्रिक नीति देश र अर्थतन्त्रलाई शिरमा राखेर निर्माण हुन्छ’ : गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति निमार्ण गर्दा देश र अर्थतन्त्रलाई शिरमा राखेर बनाउने बताएका छन् । देशको अर्थतन्त्रले अहिले आयात घटाउने, उत्पादन बढाउने र विदेशी मुद्राका स्रोत बढाउने नीति लिनुपर्ने अवस्था भएकाले सोही अनुसार मौद्रिक नीति आउने उनले बताएका हुन ।

अघिल्लो वर्षको तुलनामा उद्योगी व्यवसायीहरु अहिले निकै सहज अवस्थामा रहेको गभर्नर अधिकारीले बताए । उनले बैंकिङ, बीमा तथा निजी क्षेत्र जिम्मेबार बनिदिएको खण्डमा आगामी दिन जटिलता उन्मूख भन्दा पनि सुधारोन्मूख गतिमा अर्थतन्त्र लैजान सकिने तर्क गरे ।

बिजमाण्डूले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका बारेमा आयोजना गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले बैंकिङ्ग क्षेत्रबाट कुल ग्राहस्थ उत्पादनको १०७ प्रतिशत लगानी भएको पैसा ‘रिसाइकल’ नभएको बताए । “त्यो कर्जा अरु कसैले चलाएको छैन,” गभर्नर अधिकारीले भने,“अरु कसैले चलाएको त होइन, त्यो हामीले नै चलाएको हो, त्यो सधैलाई चलाएको पक्कै होइन होला । बैंकिङ्ग प्रणालीबाट चलाएको पैसा फर्कन्छ, फर्काउनु पर्छ ।” बैंकिङ क्षेत्रबाट प्रबाह भएको कर्जा स्टकमा वा स्टक रिसिभेबलमा फसेको हुन सक्ने उनले बताए ।

“बैंकिङ्ग क्षेत्रबाट प्रबाह भएको कर्जा कहाँ गएको छ,” उनले भने,“त्यो पैसा फर्कन्छ र फर्काउन पर्छ ।” कर्जा लिएर उद्योगी व्यवसायीहरुले जोखिम लिए भएपनि सबै उच्च नाफा नहुने बताए । अर्थतन्त्रको गति अनुसार नाफा थोरै, धेरै वा नोक्सान नै पनि हुन सक्ने उनको तर्क छ । बैंकिङ क्षेत्रबाट कर्जाको रुपमा गएको पैसा फर्केको दिन अर्थतन्त्रको अहिलेको अवस्थामा सुधार आउने बताउँदै उनले भने,“सबैले आ–आफ्नो कुर्सीको धर्म निर्वाह गरेको खण्डमा अहिलेको अवस्थामा सुधार हुन्छ ।”

कोरोनाको अवधिमा उद्योगी व्यवसायीहरुले ‘ब्रेथिङ स्पेस’ खोजीरहेको अवस्था थियो । त्यो समयमा निकै चुनौतिका साथै नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई न्याय गरेको बताउँदै उनले भने,“त्यो समय पार गर्नमा जसरी सबैको सहयोग रह्यो अहिले पनि सबै जिम्मेबार हुनुपर्ने अवस्था छ ।” कुनै पनि क्षेत्रमा सुधार भनेको निरन्तर प्रक्रिया रहेको बताउँदै उनले सुधारका कामलाई पनि निरन्तर कायम राख्नुपर्ने सुझाए ।

नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका पनि सीमा हुने उनले बताए । मौद्रिक नीति विश्वासको कुनै छडी नभएको बताउँदै उनले भने,“राष्ट्र बैंकले गोल हेरेर मौद्रिक नीति ल्याउने हो, हाम्रा अघि बजेटले टार्गेट दिइसकेको छ ।” त्यसैले केन्द्रीय बैंकले ल्याएको नीति कुनै क्षेत्र, वर्ग वा व्यक्ति विशेष भन्दा पनि अर्थतन्त्रको स्थायित्वका लागि आवश्यकता अनुसार ल्याइने उनले जानकारी दिए । मौद्रिक नीति ल्याउँदा कुनै निश्चित क्षेत्रलाई असर गरेको भए त्यसलाई छलफल गरेर समाधान गर्न तर्फ लागिने समेत उनले बताए ।

पछिल्लो समयमा विश्व भरी नै मूल्य वृद्धि भएको बताउँदै गभर्नर अधिकारीले भने,“केही देशले कल्पना गरे भन्दा पनि निकै पर ७२ प्रतिशतसम्मको मूल्य वृद्धि झेल्नु परेको अवस्था छ,”उनले भने,“ विश्व भरिको मूल्य वृद्धि बढीरहेको हुनाले हामीले पनि त्यसलाई सामना गर्न तयार हुनुपर्ने देखिन्छ ।” मूल्यवृद्धि बढीरहेको अवस्थालाई हामीले स्वीकार गर्नुपर्ने उनले सुझाए ।

रेमिट्यान्सका भरमा आयात गरेर उपभोग मात्र गरेर सुधार नहुने बताउँदै गभर्नर अधिकारीले भने,“उत्पादन बढाउने र आयातलाई धान्ने विदेशी मुद्रा सृजना हुने उपाय अबलम्बन गर्नु पर्छ ।” सर्वसाधारणले पसिना वगाएर कमाएको पैसा बैंकिङ प्रणालीलाई विश्वास गरेर दिएको हुनाले त्यसलाई उत्पादन बढाउनमा परिचालन गर्नुपर्ने समेत उनले सुझाए ।

उत्पादन बढाउने सन्दर्भमा अझै पनि तदारुकता नदेखाउने हो भने अर्थतन्त्र निकै जटिल मोडमा जाने जिकिर गभर्नर अधिकारीको छ । लिट्टे संग गृह युद्ध लड्दा समेत दवावमा नपरेको श्रीलंकाको अर्थतन्त्र अहिले कहाली लाग्दो अवस्थामा पुगेको बताउँदै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रलाई पनि सहि दिशामा अघि बढाउन सबै क्षेत्रलाई जिम्मेबार भएर सहयोग गर्न आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।