धितोपत्र बोर्डले माग सम्बोधन गर्ने भएपछि आठौं दिनमा अनसन तोड्दै कोइराला


सेयर बजार सुधारको माग गर्दै ८ दिनदेखि अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन तोड्ने भएका छन् । लगानीकर्ताले उठाएका माग सम्बोधन गर्न धितोपत्र बोर्ड तयार भएपछि कोइरालाले अनसन तोड्न लागेका हुन् ।

धितोपत्र बोर्ड र आन्दोलनरत लगानीकर्ताबीच माग कार्यान्वायन टोली गठन गर्ने सहमतिसँगै कोइरालाले अनसन तोडेका हुन् । १९ बुँदे माग समेटेर समस्या समाधानका लागि गठन हुने समितिले माग अनुसारका काम गर्दै जाने सहमति जुटे पछि अनसन ताड्ने कोइरालाले बताए ।

धितोपत्र बोर्डका साथै बोर्ड अध्यक्ष रमेश हमालका बिरुद्ध चर्को नाराबाजीमा उत्रिएका लगानीकर्तालाई संयमित हुन आग्रह गर्दै कोइरालाले समस्या समाधानमा बोर्ड अग्रसर हुने विश्वास सहित अनसन तोड्न लागेको बताए ।

माग कार्यान्वयन समितिमा लगानीकर्ताको तर्फबाट तुल्सी ढकाल, उत्तम अर्याल र राधा पोखरेल तथा नेपाल धितोपत्र बोर्डका तर्फबाट निमित्त कार्यकारी निर्देशक मुक्तिराज श्रेष्ठ र विनयदेव आचार्य रहने छन् भने थप २ जनाको नाम कोइरालाले सिफारिस गर्नेछन् ।

केही बेरमा लगानीकर्ता र बोर्डका बिचमा समिति गठन गरी बजार सुधार गर्ने सम्बन्धमा सम्झौता हुँदैछ । उक्त सम्झौता भएपछि कोइरालाले अनसन तोड्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।