जिल्ला प्रशासनका नायब सुब्बासँग २ करोड ४४ लाख अवैध सम्पत्ती, भ्रष्टाचार मुद्धा दर्ता


जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा गणपति झाले अवैध रुपमा सम्पत्ति आर्जनको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

नायव सुब्बा झाले निजामति सेवामा रहँदा २ करोड ४४ लाख रुपैंया अवैध सम्पत्ति आर्जन गरेको अख्तिायरले जनाएको छ । सोही आधारमा झा बिरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । झाले अवैध रुपमा सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गरि मुद्धा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

२०३९ मंसिर ९ गते गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी)को पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका झा विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साउनमा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत हुँदा अवकास पाएका थिए ।

सेवा प्रवेशदेखि अवकाशमा नजाँदासम्मको अवधिमा उनले वैध स्रोत अन्तरगत पारिश्रमिक बचत, जग्गा बिक्री, विभिन्न बैंक तथा कर्मचारी संचयकोषको ऋण, कृषि आय, सवारी साधनको आय, वीमा म्याचुरीटि र न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स नामको फर्मबाट प्राप्त आयबाट २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ आर्जन गरेको देखिएको अख्तियारको भनाई छ । उक्त अवधिमा उनले विभिन्न शीर्षकमा ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ खर्च गरेको देखिएको अख्तियारले जनाएको छ ।

नायव सुब्बा झाले वैध रुपमा गरेको आम्दानीको तुलनामा २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ बढी पैसा खर्च गरेको देखिएको र उक्त रकम सार्वजनिक पदमा रहँदा अवैध रुपमा आर्जन गरेको अख्तिारको विज्ञप्तिमा उल्लेख छ ।

२ करोड ४४ लाख ७१ हजार १०५ बिगो कायम गरी बिगोअनुसार जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा झा बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार सबै सम्पत्ती झकी श्रमिती तथा छोराहरुको नाममा देखिएको छ । सम्पत्ति जफत प्रयोजनका लागि नायव सुब्बा झासहित सम्पत्तीधारक उनकी पत्नी मीनादेवी झा र छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झालाई पनि प्रतिवादी कायम गरिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।