२८ दिने ‘ट्रेजरी बिल्स’ को रेट साढे ११ वर्ष यताकै उच्च, सबै सरकारी ऋणपत्रको प्रतिफल दोहोरो अंकमा

0
Shares

सरकारले आन्तरिक ऋण उठाउनका लागि निष्कासन गर्ने अल्पकालीन तथा दीर्घकालीन वित्तीय औजारको प्रतिफल दोहोरो अङ्कमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधाबाट सरकारी ऋणपत्र खरिद गर्नुपर्ने अवस्था आएपछि सरकारी ऋणपत्रको ब्याजदर दोहोरो अङ्कमा पुगेको हो ।

केन्द्रीय बैंकले सरकारलाई स्रोत जुटाउन विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र र ट्रेजरी विल्स मार्फत आन्तरिक ऋण उठाइदिन्छ । सरकारको आन्तरिक ऋणमा करिब ५५ प्रतिशत हिस्सा विकास ऋणपत्र रहेको छ । सरकारले स्रोत जुटाउन प्रयोग हुने सबै खालका वित्तीय औजारमा लगानी गर्ने संस्था तथा व्यक्तिले पाउने प्रतिफल हालसम्मकै उच्च छ भन्दा फरक पर्दैन ।

कोरोनाका कारण ठप्प भएको अर्थतन्त्रलाई गति दिन नेपाल राष्ट्र बैंकले लिएको विस्तारित मौद्रिक नीतिले बैंकिङ क्षेत्रबाट बाहिरिएको पैसा पुनः नफर्केपछि ब्याजदरमा दबाब परेको हो । बैंक वित्तीय संस्थासँग लगानी योग्य रकम अधिक भएपछि सस्तो ब्याजदर उच्च कर्जा लगानी गरेपछि आर्थिक गतिविधि त चलायमान भयो । तर, त्यसले उत्पादन बढाउने भन्दा पनि आयातलाई अस्वभाविक रुपमा विस्तार गर्यो । उच्च आयातका कारण पैसा विदेशिए पछि स्वदेशी लगानीका लागि बैंक वित्तीय संस्थासँग पैसाको कमी आयो ।

चालु आर्थिक वर्षको सुरुवाती दिन देखि तरलता अभावको समस्या झेलेको बैंकिङ प्रणालीले बारम्बार ब्याजदर बढाउँदा पनि सहज हुन सकेको छैन । कर्जा माग उच्च र स्रोतको सीमितताका कारण ब्याजदरमा दबाब झनै बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले पनि ५ प्रतिशत रहेको बैंकदरलाई बढाएर ७ पुर्‍यायो । त्यतिमात्र नभई पुनर्कर्जाको ब्याजदर समेत बढाएपछि त्यसले ब्याजदरमा झनै असर गरेको हो ।

बैंकिङ क्षेत्रमा लगानी योग्य रकम अभावको भएको समयमा सस्तो ब्याजदर कायम गरेर सरकारले आन्तरिक ऋण उठाउन नसक्ने भएपछि बढाएर दोहोरो अङ्क भन्दा माथि कायम गरेको हो । सरकारको लक्ष्य अनुसारको राजस्व संकलन नभएपछि चालु खर्चका लागि समेत आन्तरिक ऋण लिनुपर्ने भएपछि चर्को ब्याजदरमा आन्तरिक ऋण उठाइएको एक बैङ्करले जानकारी दिए । “सरकारलाई पैसा चाहिएको छ,” उनले भने, “सरकारी ऋणपत्रमा लगानी गर्ने आधिकांश बैंक वित्तीय संस्था भएकाले उनीहरूले अहिलेको अवस्थामा लगानी गर्न सक्ने छैनन् ।” त्यसैले बैंक वित्तीय संस्थाले स्थायी तरलता सुविधा लिएको पैसा सरकारी ऋणपत्रमा लगानी गर्न प्रयोग गरेको समेत उनले बताए ।

बैंक वित्तीय संस्थाले पाउने स्थायी तरलता सुविधा अल्पकालीन भएपनि त्यसको ब्याजदर ७ प्रतिशत रहेको छ । तर, सरकारले जारी गरेका सबै वित्तीय औजारहरूको प्रतिफल १० प्रतिशत भन्दा माथि रहेको हुनाले पनि बैंक वित्तीय संस्थाले लगानी गरेका छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

सरकारी ऋणपत्रहरूको ब्याजदर बढ्नुले लगानी योग्य फन्डको अभाव भएको स्पष्ट हुने बैंकिङ विज्ञ बिएन घर्तीले बताए । “तत्काल कतैबाट जुट्ने र शोधनान्तर घाटामा सुधार आउने सम्भावना पनि नदेखिएपछि सरकारी ऋणपत्रहरूको ब्याजदर पनि बढेको हो,” घर्तीले भने, “यसले मूल्यवृद्धि झनै बढाउँछ ।” आयातमा गरिएको नियन्त्रण र अन्तर्राष्ट्रिय परिदृष्यमा बढेको मूल्यले पनि मूल्यवृद्धिमा असर गरिरहेको उनको बुझाई छ । “आयातमा लगाम लगाए पनि कमी आएको छैन,” उनले भने, “अन्तर्राष्ट्रिय रुपमा नै मूल्य बढ्दा नेपाली रुपैयाँ धेरै खर्चनुपर्ने हुन्छ ।” अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा सरकार पनि हुनुपर्ने जती संवेदनशील नभएको उनको भनाई छ ।

शोधनान्तर स्थितिमा सुधार आउनुको साटो झनै घाटा बढ्ने अवस्था रहेको बताउँदै उनले थपे,“सरकारलाई आन्तरिक ऋण उठाउनु पर्ने छ । बजारमा लगानी योग्य रकमको अभाव भएकाले ब्याजदर बढाएर ऋण उठाएको छ ।”

समयमा नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने २८ दिने ट्रेजरी बिल्सको बट्टादर पनि १० प्रतिशत भन्दा माथि पुगेको छ । राष्ट्र बैंकले निष्कासन गर्ने अन्य ९१, १८२ र ३६४ दिने ट्रेजरी बिल्सको ब्याजदर अघिल्लो महिना नै दोहोरो अङ्कमा पुगेको भएपनि २८ दिनेको एकोहोरो अंकमा नै रहेको थियो । तर, यो साताको अन्तिम देखि २८ दिने ट्रेजरी  बिल्सको बट्टादर १०.०६ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २८ दिने ट्रेजरी बिल्सको बट्टादर साढे ११ वर्ष पछि दोहोरो अङ्कमा पुगेको हो । यसभन्दा अघि २०६७ पुस २० गते १०.८८७ प्रतिशतसम्म पुगेको थियो । २८ दिने ट्रेजरीको बाहेक अन्यको बट्टादर सन् १९९० देखि हालसम्म १० प्रतिशत भन्दा माथि पुगेको थिएन ।

सरकारले वैदेशिक रोजगार बचतपत्र र नागरिक बचतपत्रमा ब्याजदर तोक्ने भएपनि ट्रेजरी विल्स र विकास ऋणपत्रमा बोलकबोल मार्फत तय हुन्छ । सरकारका लागि नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा निष्कासन गरेको वैदेशिक रोजगार बचपत्रको ब्याजदर हालसम्मकै उच्च १२.५ प्रतिशत अफर गरेको छ । त्यसैगरी नागरिक बचतपत्रमा ११ प्रतिशत कायम गरेको छ । यसभन्दा अघि नागरिक बचतपत्रमा २०५८ सालदेखि हालसम्म पनि दोहोरो अंकको ब्याजदर कायम भएको छैन ।

विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुँदापनि हालसम्मकै उच्च ९ प्रतिशत भन्दा माथि पुगेको छ । त्यसैगरी ९१ दिने ट्रेजरी बिल्सको बट्टादर १०.७९, १८२ दिनेको १०.८१ र ३६४ दिनेको १०.४६ प्रतिशत कायम भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।