बैंकहरूले एसएमईलाई कर्जा नदिने समस्या आगामी मौद्रिक नीतिले सम्बोधन गर्नु पर्छ : शेखर गोल्छा


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगी (एसएमइ) ले बैंकहरूबाट कर्जा नपाउने समस्यालाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सम्बोधन गर्नु पर्ने बताएका छन् । उनले  एसएमईलाई ऋण दिन बैंक/वित्तीय संस्थाले ठूला अनि पूरा गर्नै नसकिने सर्तहरू राख्ने गरेको भन्दै त्यो अवस्थामा सुधार आउनु पर्ने बताएका हुन् ।  

बैंकहरूले ठूला व्यवसायीहरूलाई सहजै ऋण दिए पनि साना तथा मझौला उद्योगहरूलाई सकभर दिन नखोज्ने गरेको गोल्छाले बताए । सानो उद्योग व्यवसाय गर्न ऋण लिनका लागि धेरै धितो माग्ने गरेकाले पनि उद्यमीले कुनै व्यवसाय सुरु गर्नै नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । 

“देशमा उद्यमशीलता विकास हुन नसक्नुको कारण पनि बैंकहरूले कर्जा दिन नखोजेकाले हो,” उनले भने, “बजेटमा साना तथा मझौला उद्यमीहरूले बिना धितो नै कर्जा लिन सक्ने व्यवस्था गरिए पनि नियमावली भने बनिसकेको छैन । यथाशीघ्र नियमावली बनाउने र साना तथा मझौला व्यवसायीलाई राहत दिने काम तत्काल सुरु हुनु पर्छ ।” उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई अनिवार्य रुपमा साना तथा मझौला उद्यमीलाई कर्जा प्रवाह गर्ने व्यवस्था गर्न समेत सुझाए । 

आयातमा निर्भर अर्थतन्त्रलाई विविधिकरण गर्न पनि साना तथा मझौला उद्योगलाई प्रवर्द्दन गर्नु पर्ने उनको बुझाइ छ । देशलाई समृद्ध बनाउन, आयातको निर्भरता कम गर्न तथा स्वदेशी उत्पादन बढाउन एसएमईलाई प्रोत्साहन गर्नु आवश्यक रहेको उनले बताए । 

देशमा रहेका १७ हजार भन्दा धेरै साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड रहेको बताउँदै गोल्छाले भने, “साँच्चिकै समृद्धिको सपना देख्ने हो भने साना तथा मझौला व्यवसायीका समस्यालाई केलाएर, समाधान गरी, सुदृढ बनाउनु पर्छ ।”

उनले साना तथा मझौला उद्योगहरूको लागत उच्च भएका कारण आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको बताए । “आयातीत वस्तु जुन गुणस्तरको हुन्छ, त्यो गुणस्तरमा स्वदेशमा वस्तु उत्पादन हुन सकिरहेका छैनन्,” उनले भने, “उत्पादन गरि हाले पनि लागत धेरै हुँदा उपभोक्ताहरूले स्वदेशी उत्पादन उपभोग गरिरहेका छैनन् ।”

नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले पनि उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थको यातायात खर्च, ललजिस्टिक खर्च तुलनात्मक रुपमा अरु देशको भन्दा धेरै रहेको उनले बताए । त्यसैगरी उच्च ब्याजदर, जग्गा प्राप्तिको झमेला लगायतले स्वदेशी उत्पादनको लागत बढाउँदा एसएमई मात्र नभई समग्र उद्योग व्यवसाय सञ्चालन असहज भएको उनले बताए । उत्पादन बढाउने, लागत कम गर्ने तथा गुणस्तरीय सामानको उत्पादन गरी आयातीत सामाग्रीसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने तर्फ ध्यान दिन आवश्यक नीतिगत सुधार गर्न जरुरी रहेको उनले औंल्याए । 

ठूला उद्योगहरूको उत्पादन बजारीकरण गर्न समस्या नभए पनि साना, घरेलु तथा महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको बजारीकरणमा समस्या उत्पन्न भइरहेको उनको बुझाई छ । आयातमा रोक लगाउनुले उपभोक्तालाई ठूलो मार पर्ने भन्दै उनले भने, “उपभोक्तालाई नमारौँ, आफू भित्र रहेका समस्याहरुको समाधान गर्न नीतिगत सुधारको पहल गरौँ ।”

वर्तमान अवस्थामा देश ठूलो आर्थिक संकटबाट गुज्रिरहेको भन्दै गोल्छाले तरलताको समस्याले उद्योग व्यवसाय मन्दीतर्फ लम्किरहेको बताए । देशको अर्थतन्त्रको ऐना मानिने पुँजी बजार हेर्दा पनि अवस्था गम्भिर देखिएको उनी बताउछन् । “मूल्यवृद्धि दिन प्रतिदिन एकदमै बढेर गएको छ । होलसेल मुद्रास्फीति सूचांक १८ प्रतिशत पुगेको छ भने वार्षिक मुद्रास्फीति दर ८ प्रतिशत पुगिसकेको छ,” उनले भने । आगामी समयमा मूल्य वृद्धि अझै उच्च हुने देखिएको भन्दै उनले थपे, “मुद्रास्फीति दर बढ्दै जानुमा आन्तरिक मात्रै नभई बाह्य कारणहरु पनि जोडिएका छन् ।”

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।