हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार थाल्ने

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर भएर बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सले २०७९ साउन १ गतेदेखि एकीकृत काराेबार थाल्ने भएको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले असार ९ गते बिहीबार दुबै कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृती प्रदान गरेसँगै दुइ कम्पनी एक आपसमा मर्जरमा जान मार्ग प्रशस्त भएकाे हाे । दुबै कम्पनीबीच वैशाख २३ गते मर्जरमा जाने सम्झौता भएको थियो ।

बीमा समितिले गत बिहीबार दुबै कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएसँगै साउन १ गतेदेखि एकिकृत कारोबार थाल्ने भएका छन् । मर्जर पश्चात बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड हुनेछ । एकीकृत संस्थाको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा रहने छ ।

असार २ गते सम्पन्न दुबै कम्पनीको विशेष साधारण सभाले १ः०.८५ को स्वाप रेसियो कायम हुने गरी मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) अनुसार एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर मर्जर पश्चाथ बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८५ किता सेयर पाउनेछन् । हिमालयनको १०० कित्ता सेयर हुनेले भने नयाँ कम्पनीको १०० कित्ता नै सेयर पाउने छन् ।

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको छ । मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुग्नेछ ।

मर्जरपश्चात् बन्ने कम्पनीको सञ्चालक समितिमा दुबै संस्थाबाट तीन तीन जनाको प्रतिनिधित्व हुनेछ भने अध्यक्ष हिमालयन जनरलले पाउनेछ । हिमालयन जनरल इन्स्योरेन्सका हालका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले नै नयाँ कम्पनीमा अध्यक्षको जिम्मेवारी पाउनेछन् ।

हिमालयन एभरेष्टको सल्लाहकार समितिमा दुबै संस्थाबाट एक एक जनाको प्रतिनिधित्व हुनेछ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन जनरलका हालका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले नेतृत्व लिनेछन् भने एभरेष्टका प्रमुख कार्यकारी कमल गौतम वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहनेछन् ।

बीमा समितिले तोकेको न्युनतम २ अर्ब ५० करोड पूँजी कायम गर्न कम्पनीले स्वापबाट बचेको प्रिमियमको सदुपयोग गर्नेछ । कम्पनीले प्रिमियमका साथै आम्दानीबाट २६ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेर चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गर्नेछ ।

मर्जरपश्चात् हिमालयन जनरलका २२५ र एभरेष्टका २१९ जना कर्मचारीलाई व्यवस्थापन गरि कुल कर्मचारी संख्या ४४४ कायम गरिनेछ । यस दौरान कर्मचारीहरुको हालको सेवा, सुविधा, भत्ता र पदलाई सम्मानजनक अवस्थामा राखिनेछ ।

मर्जरपछि दुबै संस्थाको गरी कुल शाखा संख्या ७५ पुग्नेछ भने आवश्यकता अनुसार नयाँ स्थानमा व्यवसायको सम्भाव्यता हेरी थप शाखा विस्तार गर्ने तथा शाखा मर्ज र स्थानान्तरण गरि व्यवसाय विस्तारलाई प्राथमिकतामा राखिनेछ । विसं २०७९ बैशाख २३ गते एक आपसमा मर्जमा जाने प्रारम्भिक सम्झौता गरेसँगै दुबै कम्पनीको सेयर कारोबार स्थगित गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।