अन्तर्राष्ट्रिय बजारमा डलरको वर्चस्वलाई दक्षिण कोरियाली वोन र स्वीडिस क्रोनाले कम गर्दै: आईएमएफ

0
Shares

विश्वव्यापी रुपमा केन्द्रीय बैंकहरुले गर्नेे विदेशी सञ्चितिमा डलरको वर्चस्व लामो समयदेखि रहँदै आएको छ । यद्यपि डलरको वर्चस्वलाई दक्षिण कोरियाली वोन र स्वीडिस क्रोनाले कम गर्न सक्ने अनुमान अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको छ ।

रुस र चीन लगायतका शक्तिशाली राष्ट्रहरुले अन्तराष्ट्रिय बजारमा डलरको वर्चस्व कम गर्न वैकल्पिक मुद्राको विषयमा छलफल गरिरहेको समयमा आइएमएफले उक्त प्रक्षेपण गरेको हो ।

रुस डलर बाहेकको अन्य नयाँ मुद्रालाई रिजर्भ मुद्राको रुपमा विकास गर्न तयार भएको छ । यसका साथै चीन, भारत लगायतका ब्रीक्स समूहका राष्ट्रहरुले पनि रुसलाई समर्थन गरेका छन् ।

ब्रीक्स राष्ट्रहरु अन्तर्गतका ब्राजिल, चीन, रुस, भारत र दक्षिण अफ्रिकाको मुद्रालाई वैकल्पिक मुद्राको रुपमा विकास गर्ने रुसी राष्ट्रपति भलादिमिर पुटिनले बताएका छन् । उनी भन्छन्, “अन्तराष्ट्रिय सञ्चितिमा कुन मुद्रालाई वैकल्पिक मुद्रा बनाउने छलफल भइरहेको छ । हामीले ब्रीक्स अन्तर्गतका राष्ट्रहरुको मुद्रालाई प्राथमिकतामा राखेका छौँ तर जुन देशहरु हामीलाई लिएर उदार सोच राख्छन्, उनीहरुको मुद्रालाई पनि हामीले सहर्ष स्वीकार्ने छौँ ।”

केन्द्रीय बैंकहरुले गर्ने विदेशी सञ्चितिमा विविधता खोज्न लागेपछि लामो समयसम्म अन्तराष्ट्रिय मुद्रा सञ्चितिमा राज गरेको डलर संकटमा परेको आइएमएफले जनाएको छ । केन्द्रीय बैंकहरुले चालेको यस कदमले अमेरिकाको आइएमएफ माथिको वर्चस्व पनि कम हुने आएन्जीका विश्व सेयरमार्केट विश्लेषक प्रमुख क्रिस टर्नरले बताएका छन् । यस अघि, रुसमाथि लगाइएका प्रतिबन्धहरुका कारण डलरको लोकप्रियतामा कमी आउन सक्ने तथा विश्वव्यापारमा अर्को मुद्रा आउनु अमेरिकाको लागि उचित नभएको आइएमएफकी गीता गोपीनाथले बताएकी थिइन् ।

यसैगरी सन् २०२१ को अन्तिम त्रैमासिकको तथ्यांक अनुसार विश्वव्यापी रुपमा डलरको विदेशी सञ्चिति ५९ प्रतिशतमा कायम रहेको र विगत दुई दशकदेखि डलरको सञ्जितिमा गिरावट आएको आइएमएफले जनाएको छ । यसै सन्दर्भमा डलरको वर्चस्व खस्किँदै गएको र केही वर्ष अघि देखि डलरले आफ्नो लोकप्रियता कायम गर्न नसकेको केही अर्थशास्त्रीहरुको भनाइ रहेको छ ।

डलरको लोकप्रियता घट्दै जानुमा केन्द्रीय बैंकहरुले स्वीडिस क्रोना, दक्षिण कोरियाली वोन, अष्ट्रेलियन तथा क्यानेडियन डलरलाई प्राथमिकतामा राख्नु रहेको खुलासा आइएमएफले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।