एघार भन्सार नाकाबाट निर्यात नै नहुँदा एकको आयात शून्य

0
Shares

चालु आर्थिक वर्ष २०७८-७९ को जेठ मसान्तसम्ममा  देशभरका छब्बीस मध्ये एघार भन्सार नाकाबाट निर्यात शून्य रहेको छ । आयातमा आधारित अर्थतन्त्र र राजस्व नीतिका कारण निर्यात बढ्न नसक्दा करिब एक दर्जन भन्सार बिन्दुको निर्यात शून्य भएको हो । देशभर २६ भन्सार नाका छन् ।

भन्सार नाकाबाट भएको आयात-निर्यातले अवस्थाले पनि ब्यापार घाटा करिब १६ खर्ब पुगेको छ । पछिल्लो समय उच्च आयातका कारण चुलिएको ब्यापार घाटाले समग्र अर्थतन्त्र नै प्रभावित भएको छ । आन्तरिक उत्पादन विस्तार तथा निर्यात बढ्न नसक्दा उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा समेत दबाबमा पर्दै आएको छ ।

नेपालसँग निर्यात गर्ने वस्तु नै कम भएको बताउँदै भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले बताए । निर्यात हुने सीमित वस्तुहरू पनि मुख्य-मुख्य भन्सार कार्यालयहरूबाट मात्र पैठारी हुँदा एघार नाकाहरूको निर्यात शून्य भएको उनको भनाइ छ ।

देशभित्र निर्यातका लागि उत्पादन नै नभएको अवस्थामा भन्सार कार्यालयले सहजीकरण गरेर मात्र नहुने बताउँदै उनले भने, “निर्यात बढाउन आन्तरिक उत्पादन वृद्धि गर्नुपर्यो, यसका लागि सबैको उत्तिकै भूमिका हुन्छ । भन्सार कार्यालयबाट निर्यात हुने मालवस्तुमा सहजीकरण भैरहेको छ ।”

तथ्याङ्क अनुसार हालै सञ्चालनमा आएको काठमाडौंको चोभार सुख्खा बन्दरगाह र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्यात सुरु हुनै सकेको छैन ।  भद्रपुर, जनकपुर, महेशपुर (नवलपरासी बर्दघाट सुस्ता पश्चिम) राजविराज (सप्तरी), रसुवा, सर्लाही, सुनसरी, तातोपानी, थाडीबाट पनि चालु आवको एघार महिना अवधिमा कुनै पनि वस्तुहरु निर्यात भएको छैन । त्यसैगरी सती भन्सार (कैलाली), सिराहा, गौर (रौतहट) कञ्चनपुर, सुठौली, कृष्णनगर (कपिलवस्तु), कैलाली, र जलेश्वर भन्सार नाकाबाट कुल निर्यातको एक प्रतिशतभन्दा थोरै छ ।

आन्तरिक उत्पादन नै नभइ भन्सार कार्यालयबाट निर्यात सहजीकरण गरेर मात्र नहुने उनको तर्क छ । निर्यात प्रवर्द्धनका लागि भन्सार कार्यालयभन्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्र सक्रिय हुनुपर्ने भट्टराईले सुझाए । “निर्यात गर्नसक्ने गरी उत्पादन भएको अवस्था भन्सार कार्यालयहरूबाट सहजीकरणमा कुनै समस्या छैन, ”उनले भने,“ निर्यात प्रवर्द्धनका लागि योग्य सामाग्रीहरू भन्सार बिन्दुमा आइसकेपछि सहजीकरण गर्ने काम भन्सार कार्यालयले गर्छन् ।”

वीरगञ्ज नाकाबाट सबैभन्दा धेरै ४१ प्रतिशत निर्यातमा

सञ्चालनमा रहेका २६ नाकामध्ये मुख्य तीन नाकाबाट कुल निर्यातको ८५.२१ प्रतिशत हिस्सा छ । विभागका अनुसार बाँकी २३ नाकाबाट कुल निर्यातको १४.७९ प्रतिशत मात्र रहेको छ ।

एघार महिनामा  वीरगञ्ज, विराटनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट क्रमश सबैभन्दा बढी वैदेशिक व्यापार भएको छ । यसमा वीरगञ्ज नाका पहिलोमा छ । सो नाकाबाट जेठ मसान्तसम्ममा ७६ अर्ब ५५ करोड २९ लाखका सामानहरू निर्यात भएको छ । यो कुल निर्यातको ४१.१९ प्रतिशत हो ।

यसैगरी विराटनगर नाकाबाट ५२ अर्ब ७७ करोड ६९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो कुल निर्यातको २८.४० प्रतिशत हो । तेस्रो ठुलो हिस्सा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २९ अर्ब २ करोड २९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम कुल निर्यातको १५.६२ प्रतिशत हो ।

समीक्षा अवधिमा मेची भन्सार नाकाबाट ११ अर्ब ५४ करोड ८७ लाख(६.२१ प्रतिशत) भैरहवा नाकाबाट ७ अर्ब १२ करोड १८ लाख (३.८३ प्रतिशत), वीरगञ्ज सुख्खा बन्दरगाहबाट ३ अर्ब ८७ करोड १७ लाख (२.०८ प्रतिशत), नेपालगञ्ज नाकाबाट २ अर्ब ३७ कराड २० लाख (१.२८ प्रतिशत) र जलेश्वर नाकाबाट १ अर्ब २२ करोड २३ लाख रुपैयाँ अर्थात कुल निर्यातको ०.६६ प्रतिशत हिस्सा रहेको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि व्यावसायिक उडान सुरु भएको थियो । भर्खरै सुरु भएकाले पनि सो नाकाबाट निर्यात हुन नसकेको हो ।

यस्तै विश्व बैंकको सहयोगमा निर्माण भएको चोभारको सुख्खा बन्दरगाह प्रधानमन्त्री शेरबहादुर देउवाले गत चैत २२ गते उद्घाटन गरेका थिए । उद्घाटन पछि भारत तथा तेस्रो मुलुकबाट आउने सामानहरू काठमाण्डौ सुख्खा बन्दरगाहमा आएर भन्सार प्रक्रिया पूरा गर्छन् ।  

बन्दरगाह सञ्चानमा आउने भएपछि राष्ट्र बैंकले चैत १५ गते सर्कुलर जारी गर्दै चोभार भन्सार विन्दु रहने गरी बैंकहरुलाई एलसी (प्रतीतपत्र) जारी गर्न सक्ने व्यवस्था गरिदिएको थियो । तर सञ्चालनको दुई महिनासम्म पनि सो भन्सार नाकाबाट हुने निर्यात शून्य रहेको छ ।

मेची, विराटनगर, सुख्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीततपत्र जारी भइसकेका मालवस्तुको समेत आयातकर्ताको माग भएमा प्रचलित व्यवस्था बमोजिम चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न सकिने व्यवस्था केद्रिय बैंकले गरेको थियो ।

पाँच भन्सार नाकाबाटै ८५ प्रतिशत आयात

विभागको तथ्याङ्क अनुसार पाँच भन्सार नाकाबाटै कुल आयातको ८५.५८ पैठारी भएको छ । यी नाकाबाट मात्र १५ खर्ब ८ अर्ब ९३ करोड ५४ लाख रुपैयाँ बराबरको आयात भएको छ । सो अवधिको सबै नाकाबाट भएको कुल आयात साढे १७ खर्ब भन्दा धेरै छ ।

जेठसम्ममा सबैभन्दा धेरै वीरगञ्ज नाका रहेको छ । सो नाकाबाट कुल आयातको ३६.३७ प्रतिशत अर्थात ६ खर्ब ४१ अर्ब ३३ करोड ९८ लाख रुपैयाँ बराबरको पैठारी भएको छ ।

यस्तै भैरहवा भन्सार नाकाबाट २ खर्ब ७४ अर्ब ८६ करोड ५२ लाख रुपैयाँ (१५.५९ प्रतिशत), वीरगञ्ज सुख्खा बन्दरगाहबाट २ खर्ब ३ अर्ब ४३ करोड १८ लाख रुपैयाँ (११.५४ प्रतिशत), विराटनगर भन्सार नाकाबाट १ खर्ब ९६ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ (११.१४ प्रतिशत), त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०.९४ प्रतिशत बराबरले हुन आउने १ खर्ब ९२ अर्ब ८४ करोड २२ लाख रुपैयाँ आयात भएको छ । त्यस्तै  कुल आयातमा नेपालगञ्ज नाकाको ४.२२ प्रतिशत, मेची भन्सारको ३.१५ प्रतिशत, कैलाली नाकाको १.५५ प्रतिशत, कृष्णनगर (कपिलवस्तु) र रसुवागढी नाकाको समान १.४० प्रतिशत हिस्सा छ ।

चालु आर्थिक वर्षको जेठमसान्तसम्ममा १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । यस अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको विभागले जनाएको छ । सो अवधिमा मुलुकको कुल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोडको रहेकोमा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ व्यापार घाटा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।