बुक बिल्डिङमा सामेल हुन थप ६ संस्थालाई अनुमति, कुल संख्या १०६ पुग्यो


नेपाल धितोपत्र बोर्डले थप ६ संस्थालाई योग्य संस्थागत लगानीकर्ता अर्थात क्वालिफाइड एन्स्चिच्युशनल इन्भेस्टर्स (क्युआइआइ) का रूपमा काम गर्न स्वीकृति दिएको छ । योसँगै योग्य संस्थागत लगानीकर्ताको संख्या १०६ पुगेको छ ।

बोर्डले पछिल्लो पटक असार १४ गते गौरव नेपाल इन्भेष्टमेण्ट प्रालि, नबिल व्यालेन्स्ड फण्ड ३, पशुपति भेन्चर क्यापिटल प्रालि, समृद्धि फाइनान्स, कामना सेवा विकास बैंक र सिद्धार्थ व्यवस्थित लगानी योजनालाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

यस अघि बोर्डले सिभिल बैंकसहित आईएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आरबीबी म्युचुअल फन्ड १ र एनआइबिएल समृद्धि फन्ड २ लाई योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्न स्वीकृति दिएको थियो ।

असार १४ गतेको बोर्डको निर्णय अनुसार योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाउने कम्पनीहरुको संख्या १०६ पुगेको छ । यसअघि विभिन्न मितिमा बोर्डले १०० कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति प्रदान गरिसकेको छ ।

धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ता (क्युआइआइ) को अनुमति पाएका संस्थाहरुले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन र संस्थागत लगानीकर्ताका रूपमा सेयर किनबेच गर्न पाउनेछन्। ।

बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको छ । वास्तविक क्षेत्रका केही कम्पनीहरुले यस विधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न तयारी समेत गरिरहेको सन्दर्भमा योग्य संस्थागत लगानीकर्तालाई बोर्डले स्वीकृति दिने क्रम जारी राखेको हो ।

बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीति लगायतका विवरणको अध्ययन गरी सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक निष्काशनको मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने अपेक्षा बोर्डकोे छ ।

योग्य संस्थागत लगानीकर्ताको सूची यस्तो छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।