दक्षिण एसियामा क्षेत्रीय व्यापार सञ्जाल बढाउन विश्व बैंकले १ अर्ब डलर सहयोग गर्दै

0
Shares

दक्षिण एसियाली राष्ट्र नेपाल र बङ्लादेशबीचको व्यापार बढाउन विश्व बैंकले १ अर्ब ३ करोड डलर सहयोग गर्ने भएको छ । विश्व बैंकले पूर्वी दक्षिण एसियामा दु्रत व्यापार तथा यातायात सञ्जाल (एसेस) परियोजना अन्तर्गत उक्त सहयोग गरेको हो ।

एसेस परियोजनाले पूर्वी दक्षिण एसियाली राष्ट्रहरुबीचको व्यापार विस्तारमा आएका समस्याहरुलाई समाधान गर्न र कागजी रुपमा हुँदै आएको व्यापार अभिलेखीकरणलाई डिजिटल बनाउने, यातायात तथा व्यापारका लागि आवश्यक पूर्वाधारको निर्माण गर्ने जस्ता काममा सहयोग गर्ने छ ।

बङ्लादेश र नेपालबीचको व्यापार सम्बन्धलाई थप सुमधुर बनाउन र भन्सारमा कागजी माध्यमबाट हुँदै आएको व्यापार अभिलेख प्रक्रियालाई डिजिटाइज गरी अटोमेटेड रुपमा अगाडि बढाउन यस परियोजनाले सहयोग गर्ने छ । यसैगरी भन्सार विन्दुमा भित्रिने र बाहिरिने मालवाहक गाडीहरुको समय मापन पनि विद्युतीय माध्यमबाट गरिने भएको छ । स्वस्थ व्यापार व्यवस्था निर्माण गर्न स्मार्ट पार्किङ र सीसीटिभी जडान गरिने भएको छ । सुख्खा बन्दरगाहको स्तरोन्नति तथा नाकामा कस्टमलाई कडा बनाउन आवश्यक पर्ने पूर्वाधारको निर्माण पनि यसै योजना मार्फत गरिने छ ।

एसेस परियोजना अन्तर्गत विश्व बैंकले नेपालको यातायात तथा भन्सार सुधारका लागि २ करोड ७५ लाख डलर सहयोग गर्ने भएको छ । यस सहयोगबाट प्राप्त रकम पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिंगे–चनौटा ६९ किमि सडक चार लेनमा विस्तारका लागि खर्च हुने छ । यस सडक विस्तारले भारतका पश्चिमी बन्दरगाह पुग्न लाग्ने समयले ३० प्रतिशत दु्रत बनाउने छ ।

यसका साथै महिला उद्यमीद्धारा उत्पादित वस्तुको बजारीकरण गर्नको लागि तीन वटा बजार जिस्तार गरिने छ । उक्त बजारमा महिलामैत्री शौचालय, निशुल्क वाइफाइ सुविधा र बजार सम्बन्धी सूचनाको लागि डिजिटल बोर्डको व्यवस्था गरिने छ । यसका साथै नेपालका सुख्खा बन्दरगाह, भैरहवा र बीरगञ्जको क्षमता अभिवृद्धिमा पनि उक्त रकम खर्च गरिने भएको विश्व बैंकले जनाएको छ । यसैगरी यस परियोजनाबाट प्राप्त सहयोग नेपालले लागु गरेको मोटर भेइकल सम्झौता (एमभीए)मा नेपाललाई तप तयार बनाउन प्रयोग गरिने भएको छ ।

एसेस परियोजना अन्तर्गत ७ करोड ५३ लाख ४५ हजार डलर बाङ्लादेशलाई सहयोग गरिएको छ । जसअन्तर्गत बङ्लादेशका विभिन्न सडकहरु विस्तार गरिने छ भने नाका तथा बन्दरगाहहरुको क्षमता वृद्धि गरिने छ ।

सन् २०१५ देखि २०१९ को समयमा बङ्लादेश, भुटान, भारत र नेपाल बीचको व्यापार ६ गुणाले बढेको विश्व बैंकका बङ्लादेश तथा भुटानका देशीय निर्देशक मर्सी टेम्बोनले बताएका छन् ।

यातायात सञ्जालमा विकास हुन नसक्दा क्षेत्रीय व्यापारमा पछि परेको नेपाललाई यस परियोजनाले व्यापार क्षमता अभिवृद्धि गर्न र यातयात सञ्जालको विस्तार गर्न सहयोग गर्ने माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फेरिस हडाड जरबोसले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।