ज्ञानेन्द्र ढुङ्गानाले शुक्रबारदेखि नबिल बैंकको नेतृत्व सम्हाल्ने


एनबी बैंकलाई गाभ्ने स्वीकृति पाएको नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुङ्गानाले शुक्रबारदेखि जिम्मेवारी सम्हाल्ने भएका छन् । बुधबार राष्ट्र बैंकले दुवै बैंकलाई गाभिनका लागि अन्तिम स्वीकृति दिएसँगै ढुङ्गानाले नबिलको नेतृत्व सम्हाल्ने निश्चित भएको हो ।

नबिल बैंकको विशेष साधारण सभाले ढुङगानालाई असार १७ गतेदेखि प्रमुख कार्यकारीको जिम्मेवारी दिने प्रस्तावलाई पारित गरेको थियो ।

असार मसान्तमा नै एकीकृत कारोबार थाल्ने लक्ष्य लिएको नबिल बैंकमा साधारण सभाको निर्णय अनुसार ढुङ्गानाले नेतृत्व सम्हाल्न लागेका हुन् ।

नबिल बैंक स्रोतका अनुसार राष्ट्र बैंकबाट गाभिनका लागि औपचारिक रुपमा पत्र पाए पछि ढुङ्गानालाई शुक्रबारदेखि कार्यभार सम्हाल्ने गरी पत्र थमाउने तयारी छ । यसका लागि राष्ट्र बैंकको सहमति पत्र भने आईसकेको छैन ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल असार ७ गतेदेखि सकिएको थियो । उनी नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा २०७५ असार ७ गते नियुक्त भएका थिए ।

बैंकिङ क्षेत्रमा ३ दशक बिताइसकेका ढुङ्गानाले १० वर्ष एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । गत पुस अन्तिम देखि एनबी बैंकबाट अवकाश भएका ढुङ्गानाको कुलिङ पिरियड सकिएपछि कार्यभार सम्हाल्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकको निर्देशकबाट निजी क्षेत्रको बैंकिङ करिअर सुरु गरेका ढुङ्गानाले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरिसकेका छन् ।

४३ रुपैंयामा बंगलादेश बैंक किन्न नबिललाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।