वर्ल्डलिङकले फाईवर टु होम नेटवर्क १० जीबीपीएस प्रविधिमा अपग्रेड गर्दै, अपलोड स्पिड डाउनलोड जत्तिकै


इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण गरेको छ ।

कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को साता देखी क्रमशः एक्सजीएसमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वल्र्डलिङ्क पहिलो कम्पनी भएको दाबी गरिएको छ ।

अब फाईवर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ ।

यसअघि सेवाप्रदायकहरुले डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै दिने अवस्था थियो । विद्यमान जीपोन नेटवर्क प्रविधिमा २.५ जीबीपीएस डाउनलिङ्क तथा १.२५ जीबीपीएस अपलिङ्क असीमित ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन । तर अब एक्सजीएस पोन प्रविधिबाट सीमित १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समान रुपमा दिन सकिने छ ।

इन्टरनेट नेटवर्कमा पोन एउटा यस्तो विन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाईवर पूर्वाधार (प्यासिभ इन्फ्रास्ट्रक्चर) बाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाईवर तार अलग्याएर लगिएको हुन्छ र घरको फाईवर राउटरमा जोडिएको हुन्छ ।

जीपोनको तुलनामा नयाँ १० जीबीपीएस एक्सजीएस पोनमा अपलिङ्क ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिङ्क ब्याण्डविथको क्षमता चार गुणा बढी हुने वर्ल्ड लिंकको भनाई छ । साथै पोन नेटवर्क लेटेन्सीमा पनि जीपोन को तुलनामा केहि सुधार हुनेछ ।

सैद्धान्तिक रुपमा हरेक जीपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर सङ्ख्या २५६ ग्राहकहरूलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ । साथै विद्यमान जीपोनको तुलनामा एक्सजीएस पोनमा हालको एक्सेस लोकेशनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने छ ।

निकट भबिष्यमा एक्सजीएस पोनलाई सोफ्टवेरबाट अपग्रेड गरी २५ जी पोनको लागि पनि आफ्नो पुर्वाधार कम्पनी नोकियासँग नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।