पाठ्यक्रममा बीमा विषय समावेश गर्न सुझाव


मुलुकका सबै स्थानमा बीमाका सम्बन्धमा चेतना बिस्तार नभएको भन्दै सरोकारवालाहरुले बीमालाई पाठ्यक्रममा समेट्न सुझाव दिएका छन् ।

बीमा समितिको आयोजनामा ललितपुरमा विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश सम्बन्धी अन्तरक्रियामा यस्तो सुझाव दिइएको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. पारसनाथ यादवले देशका ग्रामीण भेगसम्म बीमा सम्बन्धी चेतना नपुगेको अवस्थामा बीमा शिक्षालाई व्यापकता दिनुपर्ने बताए । यसका लागि विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा विस्तृतरुपमा नभए पनि संक्षिप्तरुपमा बीमा विषय समावेश गर्नु आवश्यक भएको उनको भनाई थियो ।

बीमा जोखिम व्यवस्थापन विज्ञान समेत भएको भन्दै उनले विश्वविद्यालयका पाठ्यक्रमको परिमार्जनका क्रममा बीमा विषय समावेश गर्न आफूले पहल गर्ने प्रतिवद्धता पनि उनले जनाए ।

पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि लेखराज खनालले बीमालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न र बीमा पुस्तक विकास गर्नका लागि बीमा समितिसँग सहकार्य गरेर अघि बढ्न केन्द्र तयार रहेको बताए ।

बीमा समितिका निर्देशक कमलप्रसाद रेग्मीले बीमा शिक्षालाई व्यापकता दिनका लागि पाठ्यक्रममा बीमा विषय समावेश गर्न समितिले निरन्तर पहल गर्दै आएको बताए ।

कार्यक्रममा बीमा समितिका उपनिर्देशक केशवप्रसाद दाहालले बीमा क्षेत्रको वर्तमान अवस्था र पाठ्यक्रममा बीमा विषय समावेश सम्बन्धी प्रस्तूती गरेका थिए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय र साझा प्रकाशनका प्रतिनिधि, विभिन्न शैक्षिक प्रतिष्ठानमा बीमा विषयमा अध्ययनरत विद्यार्थीहरु लगायतको उपस्थिति थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।