बजारमैत्री मौद्रिक नीतिको आशमा उर्लियो सेयर बजार, झण्डै ४ प्रतिशतले बढ्दा अढाई अर्बको कारोबार


बिहीबार सेयर बजारमा तीब्र गतिले सुधार आएको छ । आगामी आर्थिक वर्षका लागि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने समय नजिकिँदै गर्दा लगानीकर्तामा आशा आएको देखिएको हो । बजारमैत्री नीति आउने अपेक्षा आम लगानीकर्तामा परेसँगै तीब्र रुपमा आएको खरिद चापले बजार ७४.९३ अंकले उर्लिएको हो । बिहीबार बजार परिसुचक नेप्से ३.८२ प्रतिशतले सुधारिएको हो ।

बुधबार १९६२.७१ अंकमा बन्द भएको बजार बिहीबार २०३७.६४ अंकमा उक्लिएको छ भने कारोबार रकम २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँमा पुगेको छ । गत बैशाख २९ गते पछि कारोबार रकमका आधारमा बिहीबार अधिक मात्रामा सेयर किनबेच भएको हो । उक्त दिन २ अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । त्यस अघि चैत २२ गते २ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । बिहीबार उक्त कारोबार रकमभन्दा १८ करोड कम रकमको सेयर किनबेच भएको हो । 

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चार बाह्रको नीतिमा संशोधन गर्ने, अन्य वित्तीय औजारहरू बजारमैत्री बनाउने लगायतका अपेक्षा लगानीकर्तामा छ । जसका कारण प्रिओपनिङदेखि नै उकालो लागेको बजार निरन्तर उकालो लागेको थियो । 

कुल २२७ कम्पनीका ७२ लाख ५४ हजार कित्ता सेयरहरूमा ४७ हजार ३९२ पटक किनबेच भएको बजारमा १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । ८ प्रतिशतले मूल्य बढ्ने कम्पनीको संख्या १२ वटा छ भने ७ प्रतिशतले  सेयर मूल्य बढ्ने कम्पनीको संख्या १४ छ । ६ कम्पनीको सेयर मूल्य घटेको बजारमा २२१ कम्पनीको मूल्य बढेको छ ।

नेपाल फाइनान्स, मैलुङखोला हाइड्रो, न्यादी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको बजारमा बरुण हाइड्रो र गुराँस लघुवित्तको सेयर मूल्य घटेको छ । 

शिवम् सिमेन्टको मात्र ९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको बजारमा हिमालयन डिष्टिलरी, अरुण भ्याली हाइड्रो, अरुण काबेली, एलआईसी नेपाल लगायत कम्पनीको धेरै कारोबार भएको छ । 

तीब्र गतिमा बजार उकालो लागेसँगै समग्र बजार पूँजीकरण पनि २९ खर्ब ५ अर्ब १५ करोड ९६ लाख रुपैयाँ कायम भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।