निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा रमेश घिमिरे नियुक्त


निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा रमेश घिमिरे नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

राजस्व सचिव कृष्णहरी पुस्करको संयोजकत्वमा गठित प्रमुख कार्यकारी छनोट तथा सिफारिस समितिले गरेको सिफारिस पछि मन्त्री परिषदले घिमिरेलाई कोषको प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

सिफरिस समितिले कोषको प्रमुख कार्यकारी अधिकृतका लागि रमेश घिमिरेसहित कविराज अधिकारी र रमेश दाहालको नाम सिफारिस गरेको थियो ।
कोषमा यस अघि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विष्णुबाबु मिश्रको कार्यकाल सकिए पछि रिक्त पदमा घिमिरेलाई ल्याइएको हो । उनको कार्यकाल ४ वर्षको रहनेछ ।

कोषको प्रमुख कार्यकारी अधिकृत पदका लागि परेका आवेदन मध्येबाट समितिले अन्तरवार्ता तथा कार्यपत्र प्रस्तुतीका लागि रमेश घिमिरे, मेघेन्द्रप्रकाश गिरी, रमेश कुमार पोखरेल, रमेश दाहाल र कविराज अधिकारीलाई बोलाएको थियो । उल्लेखित ५ मध्येबाट समितिले घिमिरे, दाहाल र अधिकारीको नाम सिफरिस गरेको थियो ।

कोषको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका घिमिरेसँग बैंकिङ क्षेत्रमा २ दशक काम गरेको अनुभव छ । सन् २००१ मा एनआईसी एशिया बैंक (तत्कालीन एनआईसी बैंक) मा फाउण्डर लिगल अफिसरका रुपमा सेवा सुरु गरेका घिमिरे साढे ३ वर्ष पछि नेपाल एसबिआई बैंक गएका थिए । एसिस्टेन्ट म्यानेजरको रुपमा एसबिआई भित्रिएका घिमिरेले झण्डै १५ वर्ष एसबिआईमा बिताएका थिए ।

एसबिआई बैंकमा विभिन्न भूमिकामा काम गरेका घिमिरे एसबिआई मर्चेण्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहँदै गर्दा एसबिआईबाट बाहिरिएका थिए । बैंकिङ क्षेत्रमा डिपोजिट, क्रेडिट र ग्यारेन्टीमा घिमिरे अब्बल मानिन्छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।