नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले सम्हाले कार्यभार


नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले पदभार ग्रहण गरेका छन् ।

ढुङ्गानाले असार १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका हुन् । 

नबिल बैंक लिमिटेडको मिति २०७९ असार १६ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो । 

बैङ्किङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव बटुलेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए ।

यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत काम गरिसकेका छन् । 

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तिय विष्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्धारा म्यानेजर टू वाच र सन् २०१५ मा म्यानेजर अफ दी इयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैङ्कर्स एसोसिएसनको अध्यक्ष समेत बनेका थिए । 

ढुङ्गानाको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा बैंकले गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।