मुगुको रारा तालमा पुग्यो बिजुली


नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ ।

प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई उपलब्ध गराएको हो ।

हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत प्रयोग हुँदै आएको थियो । अब जलविद्युतगृहबाट उत्पादित विद्युत २४सै घण्टा आपूर्ति हुने छ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटल, कार्यालय र छेउछाउका घरहरुले विद्युत आपूर्ति पाएका छन् ।

रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सम्भू कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको बताए ।

“रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनु पर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो, निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत पुर्याउन सफल भएका छौं,” यादवले भने ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।