बीमा कम्पनी मर्ज हुँदा कर्मचारीको पद तथा सेवा नघट्ने


मर्जरमा जाने बीमा कम्पनीहरुको पद तथा सेवा मर्जर पछिको संस्थामा घटाउन नपाइने व्यवस्था भएको छ ।

बीमा समितिले परिपत्र जारी गर्दै गाभ्ने र गाभिने संस्थाका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा उनीहरूको साविकमा रहेको पदअनुसारको तह वा श्रेणीभन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको हो ।

गाभ्ने र गाभिएर बन्ने बीमा कम्पनीका कर्मचारीहरुलाई मर्का नपर्ने गरी र खाईपाई आएको तलब भत्ता तथा सुविधा नघट्ने व्यवस्था गर्न पनि समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । मर्जपछि बन्ने कम्पनीका कर्मचारी काम गर्न इच्छुक नभए उपयुक्त सुविधासहितको स्वेच्छिक अवकाश लिन सक्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

असार ६ गते जारी भएको निर्देशनमा संशोधन गर्दै समितिले गाभ्ने र गाभिने कार्यमा संस्थाका सञ्चालक समिति अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक मर्जर समितिको सदस्य हुने नपाउने भन्ने व्यवस्था खारेज गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।